चिल्ला सडक, फोहोर भान्सा: कसका लागि बन्दैछन आधुनिक राजमार्ग?


नेपालका राजमार्गहरू फराकिला र आधुनिक बन्दै गए पनि किनारका होटलहरूको दयनीय सरसफाइ र दूषित भान्साका कारण दैनिक लाखौँ यात्रुको स्वास्थ्य गम्भीर जोखिममा परेको छ। सवारी चालकहरूको सिन्डिकेट र अनुगमनकारी निकायको उदासीनताका कारण यात्रुहरू महँगो मूल्य तिरेर अस्वच्छ खाना खान र दुर्गन्धित शौचालय प्रयोग गर्न विवश छन।

मुलुकमा नयाँ सडक बनिरहेका छन, सुरुङमार्ग निर्माण भइरहेका छन र यात्रा समय छोटिँदै गएको छ। तर यात्रुहरूका लागि एउटा पुरानो समस्या भने अझै जस्ताको तस्तै छ, राजमार्ग किनारका होटलहरूको दयनीय सरसफाइ अवस्था।

हालैको बस यात्रामा भएको एउटा अनुभवले फेरि यही प्रश्न उठायो। बस एउटा राजमार्ग किनारको होटलमा रोकियो। वरपर अर्को कुनै विकल्प थिएन। यात्रुहरू बाध्य भएर त्यहीँ खाना खान पुगे। तर त्यहाँको दृश्यले भोक भन्दा बढी चिन्ता पैदा गर्‍यो।

खाना राखिएको टेबल फोहोर थियो। पकाइएका परिकार खुला रूपमा राखिएका थिए। भान्साघर यात्रुहरूले देख्न सकिने स्थानमै थियो र त्यहाँको सरसफाइ अवस्था अत्यन्त कमजोर देखिन्थ्यो। भाँडा माझ्ने स्थान वरिपरि हिलो, फोहोर र दुर्गन्ध थियो। हात धुने ठाउँ पनि सफा थिएन। शौचालयको अवस्था त झन् कहालीलाग्दो थियो। यस्तो वातावरणमा तयार भएको खाना यात्रुले कसरी ढुक्क भएर खान सक्छन?

समस्या केवल एउटा होटलको मात्र होइन। नेपालको अधिकांश राजमार्गमा यात्रा गर्ने जो कोहीले यस्तै अनुभव गरेको हुन सक्छ। धेरै ठाउँमा बस चालक वा सहचालकले निश्चित होटलमा मात्र बस रोक्ने चलन छ। यात्रुसँग विकल्प हुँदैन। उनीहरू बाध्यतावश त्यहीँको खाना खान र त्यहीँको शौचालय प्रयोग गर्न विवश हुन्छन।

विडम्बना के छ भने हामी खाद्यजन्य रोग, झाडापखाला, टाइफाइड, हेपाटाइटिस लगायतका रोग नियन्त्रणको कुरा गर्छौं, तर हजारौं यात्रुले दैनिक रूपमा प्रयोग गर्ने राजमार्ग होटलहरूको अवस्था प्रति पर्याप्त चासो देखाउँदैनौं। एकातिर स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन भइरहेका छन भने अर्को तिर खुला रूपमा राखिएको खाना, फोहोर पानी, अस्वच्छ भाँडा र सरसफाइ विहीन शौचालयले यात्रुको स्वास्थ्यलाई जोखिममा पारिरहेका छन।

अझ दुःखको कुरा, कतिपय होटलले गुणस्तरअनुसारको सेवा नदिई बढी मूल्य लिने गरेका छन। सेवा नम्र हुँदैन, वातावरण सफा हुँदैन, तर यात्रुसँग विकल्प पनि हुँदैन। प्रतिस्पर्धा नभएको स्थानमा गुणस्तर सुधार गर्ने दबाब पनि कम हुन्छ।

अब प्रश्न उठ्छ, राजमार्गलाई केवल सडकको रूपमा मात्र हेर्ने कि यात्रुको समग्र अनुभवको रूपमा पनि हेर्ने? आधुनिक सडक निर्माण गर्नु आवश्यक छ, तर यात्रुले बाटोमा खाने खाना सुरक्षित छ कि छैन भन्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण हो। सफा शौचालय, स्वच्छ भान्सा, सुरक्षित खानेपानी र स्वस्थकर खाना कुनै विलासिता होइनन; ती यात्रुको आधारभूत अधिकार हुन।

स्थानीय सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण निकाय, स्वास्थ्य कार्यालय र यातायात व्यवसायी सबैले यस विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ। राजमार्ग होटलहरूको नियमित अनुगमन, सरसफाइ मापदण्डको कडाइका साथ कार्यान्वयन तथा त्यसको परिणाम सार्वजनिक गर्ने व्यवस्था हुनुपर्छ। राम्रो सेवा प्रदान गर्ने होटललाई प्रोत्साहन र नियम उल्लंघन गर्नेलाई कारबाही आवश्यक छ।

नेपालले आधुनिक राजमार्ग निर्माण गर्दै गर्दा एउटा कुरा बिर्सनु हुँदैन, यात्रु केवल गन्तव्यमा पुग्न मात्र यात्रा गर्दैनन, उनीहरू बाटोमा पनि जीवन बिताइरहेका हुन्छन। यदि यात्राको बीचमा खाने खाना नै असुरक्षित भयो भने सुन्दर सडकको अर्थ आधा मात्र बाँकी रहन्छ।

राजमार्गको विकास सडकको चौडाइले मात्र होइन, यात्रुले निर्धक्कसँग खान, पानी पिउन र शौचालय प्रयोग गर्न सक्ने वातावरणले पनि मापन गरिनुपर्छ। (डा. पार्थ गुरागाईं विराट मेडिकल कलेजमा सामुदायिक चिकित्सा विभागमा कार्यरत छन ।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!