नेपालको औषधि उद्योग: सम्भावना छ, तर सरकारको साथ चाहिएको छ
म नेपालको औषधि उद्योग (फर्मा इन्डस्ट्री) सँग जोडिएको ३५ वर्ष भयो। उसो मलाई भारतीय फार्मा इन्डस्ट्रीमा झन्डै ५५ वर्ष भइसकेको छ। छिमेकी मुलुकसँगको सामिप्यता सहितको यो साढे तीन दशकको यात्रामा मैले नेपालको यो क्षेत्रलाई नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएँ। एउटा प्याकेजिङ मेटेरियल सप्लायरको रूपमा काम गर्दा मैले यहाँका उद्योगीहरूबाट जति माया र सहयोग पाएको छु, त्यसका लागि म सधैँ कृतज्ञ छु।
आज नेपालको फर्मा सेक्टर धेरै हदसम्म भारतमा निर्भर छ। उद्योगका लागि चाहिने मेसिनरी होस् वा अन्य प्राविधिक वस्तु, लगभग ७० प्रतिशत भन्दा बढी सामग्री भारतबाटै आउँछन्। कच्चा पदार्थको अवस्था पनि उस्तै छ। भारत र नेपालको संस्कृति मिल्दोजुल्दो भएकाले पनि भारतीय उद्योगीहरूका लागि नेपाल सधैँ एउटा ‘प्रिफर्ड’ देश रहँदै आएको छ।
तर, यति लामो समयदेखि यो क्षेत्रमा रहँदा मलाई एउटा कुराले सधैँ पिरोल्छ, नेपालको औषधि उद्योग किन विश्व बजारमा पुग्न सकिरहेको छैन?
नीतिगत गाँठो र व्यवहारिक कठिनाइ
मैले बुझेअनुसार नेपालको औषधि उद्योग अझै पनि केही पुरानो ढङ्गले चलिरहेको छ। यहाँका उद्यमीहरूमा जोस छ, क्षमता छ, तर उनीहरूलाई राज्यको तर्फबाट जुन ‘लिबरल’ वा उदार नीतिको खाँचो छ, त्यो पाउन सकेका छैनन।
एउटा उदाहरण दिन्छु, केही समय अघि मेरो भेट नेसनल हेल्थ केयरका एक मित्र सँग भएको थियो। मैले उहाँलाई सोधेँ, ‘तपाईँहरू ‘सिपिआइएचआई युरोप’ जस्ता ठुला अन्तर्राष्ट्रिय प्रदर्शनीमा किन सहभागी हुनुहुन्न?’ उहाँको जवाफ थियो, ‘विदेशी कन्सल्टेन्सी वा सर्भिस सेक्टरका लागि पेमेन्ट पठाउन यहाँको प्रक्रिया यति झन्झटिलो छ कि हामी चाहेर पनि अघि बढ्न सक्दैनौँ।’
यदि सरकारले यस्ता प्राविधिक भुक्तानी र प्रशासनिक प्रक्रियामा केही लचकता अपनाउने हो भने नेपालका ठुला कम्पनीहरूले विश्व बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्छन। नेपालबाट उत्पादित औषधि विश्वका विभिन्न कुनामा पुग्न सक्छ।
छिमेकीबाट सिक्ने कि?
हाम्रै छिमेकी मुलुक भारतले आफ्नो औषधि उद्योगलाई कति धेरै सहयोग गर्छ! निर्यातका लागि विशेष प्रोत्साहन छ, लाइफ सेभिङ ड्रग्स (जीवन रक्षक औषधि) बनाउँदा अन्तःशुल्कमा छुट छ। यस्तै, बङ्गलादेशको उदाहरण हेरौँ। आज बङ्गलादेशको फर्मा इन्डस्ट्रीले विश्वभर आफ्नो पहिचान बनाएको छ। कतिपय भारतीय कम्पनीहरूले समेत बङ्गलादेशमा सामान बनाएर बाहिरी देशमा निर्यात गरिरहेका छन। नेपालको अवस्था राम्रो भएको भए उनीहरूले यहीँबाट उत्पादन गरेर विदेश निर्यात गर्थे। हामी सामाजिक धार्मिक सांस्कृतिक धेरै कुरामा अति नजिक छौ । तर किन गर्न सकेका छैनन ? एकपटक मनन गरौँ न ?
तर नेपालमा? यहाँका उद्योगीहरूले न त पर्याप्त सरकारी संरक्षण पाएका छन, न त निर्यातका लागि कुनै विशेष मौका। ३ करोड जनसङ्ख्या भएको सानो बजारमा मात्रै खुम्चिएर बस्ने हो भने भोलि लागत धान्न नसकेर यी उद्योगहरू बन्द हुने अवस्थामा पुग्न सक्छन।
मेरो आग्रह, नेपाल सरकारलाई मेरो विनम्र अनुरोध छ, यो क्षेत्रलाई गम्भीरतापूर्वक हेर्नुहोस। औषधि उद्योगलाई केवल एउटा व्यापारको रूपमा मात्र नहेरी यसलाई देशको प्रतिष्ठा र अर्थतन्त्रको बलियो आधार बनाउन सकिन्छ।
यी उद्योगहरूलाई टिकाइ राख्न सहुलियतपूर्ण ऋण, करमा छुट र कच्चा पदार्थ आयातमा सहज वातावरण बनाइदिनु पर्छ। आज विश्व बजारमा बङ्गलादेश वा पाकिस्तानको जस्तो नाम नेपालको औषधिको छैन, किनकि यहाँ विदेशी लगानी र प्रविधिलाई आकर्षित गर्ने वातावरण अझै बन्न सकेको छैन।
नेपालका औषधि उद्योगहरू ‘सर्भाइभ’ मात्र गर्ने होइन, विश्व बजारमा ‘कम्पिट’ गर्ने क्षमता राख्छन। मात्र खाँचो छ त सरकारको एउटा दुरदर्शी सोच र सहयोगी हातको। (सतीश ऐलावाडी भारतमा औषधि प्याकेजिङ कम्पनी ‘स्वाम टोयल प्याकेजिङ इन्डस्ट्रिज प्राली’ सँग आबद्ध छन ।)

प्रतिक्रिया दिनुहोस