मस्तिष्क अनुसन्धानको विश्वव्यापी ‘खुला प्रयोगशाला’ बन्न सक्ने नेपालको उच्च भूगोल, तर छैन एउटै केन्द्रीय संस्था


नेपालले स्नायुविज्ञान अनुसन्धानका लागि आफ्नो अद्वितीय भौगोलिक अवस्था र विश्वव्यापी वैज्ञानिक सञ्जालको अधिकतम उपयोग गर्न सक्छ। हालका वर्षहरूमा नेपालले मौन तर द्रुत गतिमा बढिरहेको स्नायुप्रणाली र मानसिक स्वास्थ्य सम्बन्धी गम्भीर समस्याहरू भोगिरहेको छ। जसमा मस्तिष्कघात (स्ट्रोक), छारे रोग (मिर्गी), बिर्सने रोग (डिमेन्सिया) र डिप्रेसन प्रमुख छन।

यो बढ्दो चुनौतीका बावजुद देशमा स्नायुविज्ञान अनुसन्धान, नवप्रवर्तन र नीति निर्देशनका लागि समर्पित कुनै केन्द्रीय संस्था छैन। त्यसैले राष्ट्रिय स्नायुविज्ञान प्रतिष्ठान (नेशनल इन्स्टिच्युट अफ न्युरोसाइन्स – नाइन) को स्थापना अब समयको माग र अपरिहार्यता बनेको छ।

नेपालमा स्नायुप्रणाली र मानसिक स्वास्थ्य सम्बन्धी समस्याको व्यापकता चिन्ताजनक अवस्थामा पुगिसकेको छ, जसलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानहरूले पुष्टि गरेका छन । उदाहरणका लागि, मस्तिष्कघात (स्ट्रोक) नेपालमा प्रमुख स्वास्थ्य संकटका रूपमा देखा परेको छ।

‘ग्लोबल बर्डन अफ डिजिज’ को तथ्यांक अनुसार नेपालमा कुल मृत्युको झन्डै ७.६ प्रतिशत र कुल अपाङ्गता समायोजित जीवन वर्ष (डिसएबिलिटी-अजस्टेड लाइफ इयर्स)  डालिज को ३.५ प्रतिशत हिस्सा मस्तिष्कघातका कारण हुने गर्छ। यसले मृत्युदर मात्र नभई दीर्घकालीन अपाङ्गता र उत्पादनशील जीवनको क्षतिलाई समेत उजागर गर्छ।

मिर्गी, टाउकोको चोट र डिमेन्सिया जस्ता अन्य स्नायु सम्बन्धी समस्यालाई रैथाने स्वास्थ्य प्रणाली र अर्थतन्त्रसँग जोडेर हेर्ने हो भने यसको नकारात्मक प्रभाव निकै गहिरो देखिन्छ, यद्यपि यस विषयमा पर्याप्त रिपोर्टिङ र अभिलेखीकरण हुन सकेको छैन।

यो समस्या नेपालको मात्र होइन, तर यस विषयको अध्ययन अनुसन्धानमा नेपाल धेरै पछाडि छ। दक्षिण एसिया भरि नै स्नायु सम्बन्धी समस्या र रोगहरू तीव्र रूपमा बढि रहेका छन ।

भारतमा स्नायु सम्बन्धी रोगहरूले कुल डालिज मा ८ प्रतिशत भन्दा बढी योगदान पुर्‍याउँछन, जुन पछिल्ला तीन दशकमा झन्डै दोब्बर हो। त्यहाँ मस्तिष्कघातले मात्र स्नायु सम्बन्धी डालिज को करिब ३८ प्रतिशत भाग ओगटेको छ।

यसै गरी बंगलादेशमा यस क्षेत्रकै सबै भन्दा उच्च मस्तिष्कघात र स्नायु सम्बन्धी रोगहरू प्रमुख समस्याका रूपमा प्रतिवेदनहरूमा उल्लेख छ, जुन अन्य छिमेकी देशहरू भन्दा बढी हो।

यी तुलनाहरूले एउटा गम्भीर वास्तविकतालाई देखाउँछन, यो स्वास्थ्य समस्या क्षेत्रीय प्रकृतिको भए पनि छिमेकी देशहरूले यसको गम्भीरता बुझेर राष्ट्रिय संरचनाहरू तयार गरिसकेका छन, तर नेपालमा अझै पनि समर्पित संस्थागत संरचना बन्न सकेको छैन।

पछिल्लो दशकमा ‘नाइन’ को अवधारणालाई सन् २०१६, २०१८, २०२१ र २०२४ मा नेपालमा आयोजित अन्तर्राष्ट्रिय स्नायुविज्ञान कार्यशाला तथा गोष्ठीहरू (इन्टरनेशनल न्युरोसाइन्स स्कुल्स) मा निरन्तर उठाइँदै आएको छ।

यी कार्यक्रमहरू अन्तर्राष्ट्रिय मस्तिष्क अनुसन्धान संगठन (आईबीआरओ) द्वारा सञ्चालित र नेपाल न्यूरोसाइन्स सोसाइटीद्वारा संयोजन गरिएका थिए। लामो समयदेखि यस्ता मञ्चहरूले विश्वभरका अग्रणी वैज्ञानिकहरूलाई नेपालमा जोडिरहेका छन। यी कार्यक्रमहरूमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), विश्वविद्यालय अनुदान आयोग (युजीसी) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नेतृत्व लगायत प्रमुख सरोकारवालाहरू सामु राष्ट्रिय स्नायुविज्ञान प्रतिष्ठानको आवश्यकतामा लगातार जोड दिइयो। यसको सन्देश स्पष्ट थियो, नेपालले अब ढिला नगरी कदम चाल्नै पर्छ।

नेपाललाई किन चाहियो ‘नाइन’?

  • खण्डित अनुसन्धानलाई एकीकृत गर्न: नेपालमा स्नायुविज्ञान अनुसन्धान हाल छरिएको अवस्थामा छ। व्यक्तिगत अनुसन्धानकर्ता र साना समूहहरू साझा मञ्च बिना छुट्टाछुट्टै काम गरिरहेका छन। नाइन जस्तो राष्ट्रिय संस्थाले चिकित्सक, अनुसन्धानकर्ता र जनस्वास्थ्य विज्ञहरूलाई एउटै छाता मुनि ल्याएर सहकार्य र यसको प्रभावकारितालाई अधिकतम बनाउनेछ।
  • राष्ट्रिय डाटाबेस निर्माण गर्न: नेपाललाई स्नायु सम्बन्धी समस्याहरूको भरपर्दो राष्ट्रिय तथ्यांक आवश्यक छ। जनसंख्यामा आधारित यस्ता डाटाबेस बिना प्रभावकारी नीति निर्माण सम्भव हुँदैन। नाइन ले नेपाली जनसंख्या सुहाउँदो प्रमाण आधारित उपचार मापदण्डका लागि तथ्यांक संकलन, विश्लेषण र कार्यान्वयनको नेतृत्व गर्न सक्छ। यसले रोगको प्रवृत्ति अनुगमन, हस्तक्षेपको मूल्यांकन र स्रोतको सही विनियोजनमा सहयोग पुर्‍याउनेछ।
  • रणनीतिक सल्लाहकार निकायका रूपमा: स्नायुसम्बन्धी समस्याहरू बढ्दै जाँदा नीति निर्माताहरूलाई प्रभावकारी स्वास्थ्य रणनीति बनाउन वैज्ञानिक मार्गदर्शन आवश्यक पर्छ। एउटा समर्पित संस्थाले अनुसन्धान र नीति बीचको दूरी कम गर्दै सरकारी निर्णयहरूलाई तथ्य परक, समय सान्दर्भिक र प्रभावकारी बनाउन मद्दत गर्नेछ।

हाई अल्टिच्युड अनुसन्धानको प्राकृतिक प्रयोगशाला

नेपालसँग एउटा अद्वितीय भौगोलिक फाइदा छ,  यहाँको उच्च उचाइको वातावरण। हाम्रो भूगोलले मस्तिष्कको कार्यप्रणालीमा हाइपोक्सिया (अक्सिजनको कमी) को प्रभाव र प्रणालीगत रोगहरू सँगको अन्तरक्रिया अध्ययनका लागि प्राकृतिक ‘खुला प्रयोगशाला’ को रूपमा काम गर्दछ।

यस क्षेत्रमा गरिने अनुसन्धानले हिमालयन आरोहीहरूका लागि मात्र नभई मस्तिष्कघात, हृदयघात, अल्जाइमर र पार्किन्सन जस्ता स्नायु सम्बन्धी जटिल रोगहरू बुझ्न विश्वव्यापी रूपमै महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ। थप रूपमा, न्यून तापक्रम र कम अक्सिजनको संयुक्त प्रभावले न्यूरोप्रोटेक्टिभ (स्नायु सुरक्षा) का नयाँ संयन्त्रहरू पत्ता लाग्न सक्छन्, जुन विश्व भरकै चिकित्सा विज्ञानको चासोको विषय हो।

यो प्रचुर सम्भावना भए पनि नेपालमा यसको उपयोग गर्ने संस्थागत संरचनाको अभाव छ। राष्ट्रिय नियामक निकायहरू भित्र यस्तो अनुसन्धानलाई सही दिशा दिन समर्पित स्नायुविज्ञान विज्ञता उपलब्ध छैन। फलस्वरूप, स्थानीय र अन्तर्राष्ट्रिय वैज्ञानिक चासोहरू प्रयोग विहीन बनिरहेका छन।

अन्तर्राष्ट्रिय सञ्जाल र जनशक्ति

हाल नेपाली स्नायुवैज्ञानिक र विशेषज्ञहरूको एउटा बलियो सञ्जाल अमेरिका, जापान, भारत, अष्ट्रेलिया र जर्मनी जस्ता देशहरूमा कार्यरत छ। यी मध्ये धेरै विज्ञहरू नेपालसँग सहकार्य गर्न र देशका लागि योगदान दिन उत्सुक छन।

साथै, अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले पनि यहाँ अध्ययन सञ्चालन गर्ने इच्छा देखाएका छन। तर, नाइन जस्तो संरचित संस्था नहुँदा नेपालले यो बौद्धिक र सहकार्यात्मक अवसर गुमाइरहेको छ।

नाइन को स्थापनाले यो खाडललाई पुर्नेछ। यसले विश्वव्यापी सहकार्यको मञ्च खडा गर्नेछ, अन्तर्राष्ट्रिय कोष आकर्षित गर्नेछ र कम लागतमा उच्च गुणस्तरीय अनुसन्धान सम्भव तुल्याउनेछ।

अन्तर्राष्ट्रिय शुभचिन्तक र संस्थाहरूको प्रारम्भिक सहयोगमा यो लक्ष्य हासिल गर्न सकिन्छ र समयक्रममा नाइन ले अनुसन्धान अनुदान, वैज्ञानिक साझेदारी र नवप्रवर्तन मार्फत आफूलाई आत्मनिर्भर बनाउन सक्छ ।

अनुसन्धान बाहेक, यस प्रतिष्ठानले युवा वैज्ञानिकहरूलाई तालिम दिन, वैज्ञानिक क्षमता सुदृढ गर्न र मस्तिष्क स्वास्थ्य बारे जनचेतना जगाउन नेतृत्वदायी भूमिका खेल्नेछ।

यसले नेपालको भविष्यको स्वास्थ्य आवश्यकता धान्न सक्ने विशिष्ट स्नायुवैज्ञानिक, स्नायु शल्यचिकित्सक (न्यूरोसर्जन), स्नायु मनोवैज्ञानिक र अनुसन्धानकर्ताहरूको दक्ष जनशक्ति उत्पादन गर्नेछ।

स्नायु र मानसिक समस्याहरू अब केवल व्यक्तिगत चिकित्साका विषय मात्र रहेनन, यिनीहरू नेपाल र दक्षिण एसिया भरि नै अपाङ्गता र उत्पादनशीलता क्षतिको प्रमुख कारक बनिरहेका छन्।

त्यसैले राष्ट्रिय स्नायुविज्ञान प्रतिष्ठान (नाइन) को स्थापना केवल प्राज्ञिक महत्त्वाकांक्षा होइन, बरु राष्ट्रिय अनिवार्यता हो। प्रश्न अब यो होइन कि नेपाललाई नाइन चाहिन्छ कि चाहिँदैन; प्रश्न यो हो: हामी यसलाई कति चाँडो वास्तविकतामा परिणत गर्न सक्छौं? (लेखक प्रा. डा. सुनील ढुङ्गेल  हाल मेडिकल युनिभर्सिटी अफ अमेरिकाज, वेस्ट इन्डिज  मा कार्यरत छन  । उनी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडौँ  मा पूर्व एशोसिएट प्रोफेसर (२०११–२०२४) को रूपमा काम गरिसकेका छन।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!