विश्व स्वास्थ्य दिवस २०२६
स्वास्थ्यका लागि एकजुट बनौँ, विज्ञानको पक्षमा उभिऔँ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘स्वास्थ्यका लागि एकजुट बनौँ: विज्ञान को पक्षमा उभिऔँ” (टुगेदर फर हेल्थ: स्ट्यान्ड विथ साइन्स) दिएको छ। यो नारा आजको जटिल र अनिश्चित विश्वमा अत्यन्त सान्दर्भिक छ।
जलवायु परिवर्तन देखि नयाँ महामारीको सम्भावना र नसर्ने रोग को बढ्दो बोझले हामीलाई एउटै सत्य सम्झाउँछ, स्वास्थ्य सुरक्षा विज्ञान, प्रमाण र तथ्यमा आधारित नीतिबाट मात्र सम्भव छ। तर ‘विज्ञानसँग उभिनु’ भन्नुको अर्थ केवल पश्चिमा प्रयोगशालाका उपलब्धि उपभोग गर्नु मात्र होइन, यसको अर्थ नेपालको पारम्परिक ज्ञान, जैविक विविधता र आधुनिक प्रविधि बीच सेतु निर्माण गर्नु पनि हो।
इतिहासबाट सिकाइ: हिप्पोक्रेट्सदेखि आधुनिक चिकित्सा सम्म
मानव सभ्यताको स्वास्थ्य यात्रा विज्ञान सँगै अघि बढेको छ।आधुनिक पश्चिमी चिकित्साका जनक मानिने हिपोक्रेटस (इ.पू. ४६०–३७०) ले रोग दैवी श्राप नभई वातावरण, आहार र जीवन शैलीको परिणाम हो भन्ने अवधारणा प्रस्तुत गरे। त्यसयता सार्वजनिक स्वास्थ्यको अवधारणा निरन्तर विकसित हुँदै आयो।
१८औँ शताब्दीमा एडवर्ड जेनरले खोप विकास गरेपछि मानव इतिहास कै घातक रोगहरू मध्ये एक स्मलपक्स पूर्ण रूपमा उन्मूलन भयो। २० औँ शताब्दीमा अलेक्जेन्डर फ्लेमिङद्वारा पेनिसिलिन को आविष्कारले एन्टिबायोटिक युगको सुरुआत गर्यो, जसले सामान्य संक्रमण देखि निमोनिया जस्ता रोगबाट हुने मृत्युदरमा उल्लेखनीय गिरावट ल्यायो।
हालैको कोभिड १९ महामारीले विज्ञानको महत्त्व प्रत्यक्ष रूपमा देखायो। जीन अनुक्रमण प्रविधिले भाइरसको पहिचान छोटो समयमा सम्भव बनायो र एमआरएनए खोप जस्ता नवप्रवर्तनले रेकर्ड समयमा ज्यान बचाए।
आज कृत्रिम बुद्धिमत्ता (एआई) ले औषधि अनुसन्धान, रोग पूर्वानुमान र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने ‘लास्ट माइल’ समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेलि रहेको छ। विज्ञानको यस निरन्तर यात्राले आयु (लाइफ एक्स्पेक्टेन्सी) बढाएको छ तर मुटुरोग, मधुमेह, क्यान्सर, उच्च रक्तचाप र मानसिक स्वास्थ्य सम्बन्धी समस्या जस्ता दीर्घकालीन नसर्ने रोगहरू नयाँ चुनौतीका रूपमा देखा परेका छन।
आयुर्वेद: ऋषिमुनिहरूको चिकित्सा विज्ञानको धरोहर
पश्चिमा चिकित्साको विकास सँगै नेपाल लगायत दक्षिण एसियामा आयुर्वेदको आफ्नै वैज्ञानिक परम्परा रहि आएको छ। चरक र सुश्रुत जस्ता आचार्यहरूले हजारौँ वर्ष अघि नै शरीर संरचना, रोगका कारण र जडीबुटीमा आधारित उपचार बारे व्यवस्थित दस्तावेजीकरण गरेका थिए। यो केवल विश्वासमा आधारित नभई अवलोकन, प्रयोग र निष्कर्षमा आधारित वैज्ञानिक परम्परा हो।
डब्लूएचओ का अनुसार नेपालको करिब ८० प्रतिशत जनसंख्या अझै पनि प्राथमिक स्वास्थ्य सेवाका लागि परम्परागत औषधि पद्धतिमा निर्भर छ, विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रमा। सरकारले आयुर्वेद, नेचुरोप्याथी, योग र होमियोप्याथीलाई राष्ट्रिय परम्परागत औषधि प्रणालीका रूपमा मान्यता दिइसकेको छ।
नेपालले आयुर्वेद र योगलाई स्वास्थ्य प्रणालीमा प्रभावकारी रूपमा एकीकृत गर्न सकेमा दिगो स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुग्न सक्छ। यसले प्रवर्द्धनात्मक, रोकथामात्मक र पुनःस्थापनात्मक स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्नेछ।
संयुक्त राष्ट्र महासभाले नेपालद्वारा प्रस्तावित ‘अन्तर्राष्ट्रिय समग्र स्वास्थ्य दिवस’ (इन्टरनेशनल वेलनेस डे) सम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल १५ लाई उक्त दिवसका रूपमा मनाउने निर्णय गरेको छ। यसले स्वास्थ्यलाई केवल रोगको अभाव होइन, शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक र वातावरणीय समग्र कल्याणका रूपमा परिभाषित गरेको छ।
एक स्वास्थ्य, एक भविष्य: विज्ञानले जोडेको विश्व
अप्रिल ५ देखि फ्रान्सको ल्योनमा जारी ‘वन हेल्थ समिट’ ले विश्व स्वास्थ्य दिवस २०२६ को सन्दर्भमा स्वास्थ्यबारे सोच्ने दृष्टिकोणलाई नयाँ दिशा दिएको छ। सम्मेलनले मानव, जनावर, वनस्पति र वातावरण बीचको सम्बन्ध एकीकृत प्रणाली भएको स्पष्ट सन्देश दिएको छ।
महामारी, जलवायु परिवर्तनका प्रभाव र एन्टिमाइक्रोबियल प्रतिरोध जस्ता चुनौतीहरू यही अन्तरसम्बन्ध बाट उत्पन्न भएका हुन्। त्यसैले समाधान पनि समन्वित, विज्ञानमा आधारित र बहुक्षेत्रीय सहकार्यबाट मात्र सम्भव हुन्छ भन्ने धारणा यस सम्मेलनले बलियो बनाएको छ ।सम्मेलनले चार प्राथमिकतामा जोड दिएको छ ।
- विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई व्यवहारमा रूपान्तरण
- अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण
- सार्वजनिक निजी साझेदारी मार्फत साझा स्वामित्व सुनिश्चितता
- नागरिक समाज, स्थानीय तह र युवाको समावेशी सहभागिता
कोभिड–१९ ले देखाए झैँ, कुनै पनि स्वास्थ्य संकट सीमामा सीमित रहँदैन। यस्तो अवस्थामा वैज्ञानिक प्रमाण, नीतिगत प्रतिबद्धता र बहुक्षेत्रीय सहकार्य अपरिहार्य हुन्छ।
नेपाललाई स्वास्थ्य अनुसन्धानको हब बनाउने सम्भावना
नेपालसँग स्वास्थ्य तथा वैज्ञानिक अनुसन्धानको ‘हब’ बन्ने उल्लेखनीय सम्भावना छ। भौगोलिक विविधता, समृद्ध औषधीय वनस्पति र वातावरणीय परिवर्तनका प्रभावले यहाँ अनुसन्धानका लागि ‘प्राकृतिक प्रयोगशाला’ उपलब्ध गराएको छ।
- आनुवंशिक रोग अनुसन्धान: थालेसेमिया, डुचेन मस्कुलर डिस्ट्रोफी, क्यान्सर, मृगौला र वंशाणुगत हृदय रोगको अध्ययनका लागि जीनोमिक्स प्रविधि (जीन अनुक्रमण, जीन एडिटिङ, फार्माकोजेनोमिक्स) विकास गर्न सके प्रारम्भिक पहिचान र व्यक्तिगत उपचार सम्भव हुनेछ।
- कृत्रिम बुद्धिमत्ता (एआई): रोग पहिचान, रेडियोलोजी विश्लेषण, महामारी पूर्वानुमान र औषधि अनुसन्धानमा एआई को प्रयोग विशेषगरी दुर्गम क्षेत्रका लागि रूपान्तरणकारी हुन सक्छ।
- परम्परागत ज्ञानको वैज्ञानिक प्रमाणीकरण: जडीबुटीको प्रभावकारिता र सुरक्षित प्रयोगका लागि क्रोमाटोग्राफी, मास स्पेक्ट्रोमेट्री र क्लिनिकल ट्रायल आवश्यक छन। यसले परम्परागत ज्ञानलाई विश्वसनीय बनाउँदै औषधि विकाससँग जोड्छ।
- डायस्पोरा सहभागिता: हार्वर्ड, अक्सफोर्ड, जोन्स हप्किन्स, येल, क्याम्ब्रिज लगायत संस्थामा कार्यरत नेपाली वैज्ञानिकहरूको अनुभवलाई नेपालसँग जोड्न फेलोसिप, ट्विनिङ कार्यक्रम र स्टार्टअप फन्ड आवश्यक छन्।
स्वास्थ्य अनुसन्धानमा सरकारको भूमिका
हाल स्वास्थ्य अनुसन्धानका लागि सरकारी बजेट न्यून छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद र विश्वविद्यालयहरू सीमित स्रोतमा सञ्चालन भइरहेका छन।
प्राथमिकता दिनुपर्ने क्षेत्रहरू
- राष्ट्रिय स्वास्थ्य अनुसन्धान कोष (कम्तीमा २% बजेट)
- जीनोमिक्स तथा प्रिसिजन मेडिसिन केन्द्र स्थापना
- जडीबुटी अनुसन्धान र व्यवसायीकरण
- नियामक सुधार (जीन थेरापी, ड्रग ट्रायल)
- सार्वजनिक–निजी साझेदारी प्रवर्द्धन
नेपालले परम्परागत ज्ञानलाई आधुनिक विज्ञान जैव प्रविधि, जीनोमिक्स, क्लिनिकल अनुसन्धान र डिजिटल स्वास्थ्यसँग एकीकृत गर्न सकेमा स्वास्थ्य क्षेत्रमा दिगो फड्को सम्भव छ।
यसका लागि अनुसन्धान क्षमता सुदृढीकरण, बहुक्षेत्रीय सहकार्य र विश्व भरका नेपाली वैज्ञानिकहरूको अनुभवलाई राष्ट्रिय प्राथमिकता सँग जोड्नु अपरिहार्य छ।
विश्व स्वास्थ्य दिवस र ‘वन हेल्थ’ अवधारणाको सन्देश अनुसार, विज्ञानमा आधारित समन्वित प्रयास मार्फत मानव, पशु र वातावरणीय स्वास्थ्य बीचको सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकता स्पष्ट छ।
अन्ततः प्रमाण, तथ्य र नवप्रवर्तनमा आधारित समावेशी नीति र अभ्यास मार्फत मात्र दिगो, लचिलो र समानतामूलक स्वास्थ्य प्रणाली निर्माण सम्भव छ।(डा. हरिकृष्ण बाँस्कोटा वरिष्ठ बालरोग विशेषज्ञ तथा सार्वजनिक स्वास्थ्य विज्ञ हुनुहुन्छ। उनले युनिसेफमा विभिन्न देशको नेतृत्व गर्दै मातृ-शिशु स्वास्थ्य र पोषणको क्षेत्रमा लामो अनुभव संगालेका छन । हाल उनी स्वास्थ्य नीति र अनुसन्धानमा सक्रिय छन।)

प्रतिक्रिया दिनुहोस