खुला दिसा त रोकियो, तर जथाभावी थुक्ने ‘सडक रोग’ कहिले रोकिने?
केही वर्ष अघि नेपालले एउटा महत्वपूर्ण सामाजिक परिवर्तन सम्भव भएको प्रमाणित गरेको थियो। ‘खुला दिसामुक्त अभियान’, केवल शौचालय निर्माणको कार्यक्रम थिएन, त्यो मानिसको बानी, सोच र सामाजिक जिम्मेवारी परिवर्तन गर्ने अभियान पनि थियो। एक समय सार्वजनिक स्थानमा खुला रूपमा दिसा गर्नु सामान्य व्यवहार मानिन्थ्यो। आज त्यस्तो अभ्यास धेरै हदसम्म अस्वीकार्य बनिसकेको छ। खुला रूपमा पिसाब गर्ने प्रवृत्तिमा पनि क्रमशः कमी आएको देखिन्छ। यसले एउटा महत्वपूर्ण सन्देश दिएको थियो, सामूहिक प्रयास र व्यवहार परिवर्तन मार्फत समाज बदल्न सकिन्छ।
तर व्यवहार परिवर्तनको यात्रा त्यहीं रोकिनु हुँदैन। आज हाम्रो सार्वजनिक जीवनमा अर्को एउटा अभ्यास विस्तारै सामान्य बन्दै गएको छ, जसलाई हामी मध्ये धेरैले समस्या नै ठानि रहेका छैनौँ। त्यो हो, जथाभावी थुक्ने बानी।
सडकमा हिँड्दा, सार्वजनिक शौचालय प्रयोग गर्दा, अस्पतालको परिसरमा पुग्दा, सरकारी कार्यालयका सिँढी चढ्दा वा बसपार्क हुँदै यात्रा गर्दा एउटा दृश्य बारम्बार देखिन्छ। कुनै कुनामा राताम्य दाग, भित्तामा छरिएको थुक, बाटोमा फालिएको गुट्खाको अवशेष। सार्वजनिक स्थानका भित्ता, पेट्रोल पम्प, पार्क, विद्यालय र अन्य संरचनाहरूमा देखिने यस्ता दृश्यहरू यति सामान्य हुँदै गएका छन् कि हामीले त्यसलाई प्रश्न गर्न पनि छाड्दै गएका छौँ।
तर वास्तवमा यो सामान्य होइन।
थुक केवल व्यक्तिगत व्यवहारको विषय होइन। जब त्यो सार्वजनिक स्थानमा पुग्छ, त्यो सार्वजनिक स्वास्थ्य, नागरिक अनुशासन, सामाजिक उत्तरदायित्व र सभ्यताको विषय बन्छ। हामीले सार्वजनिक स्थानमा थुकिएको एउटा थोपाले अरूको स्वास्थ्य र सामूहिक वातावरणमा कस्तो असर पार्छ भन्ने विषयलाई गम्भीर रूपमा लिन सकेका छैनौँ।
मानिसको थुकमा विभिन्न प्रकारका सूक्ष्म जीव, संक्रमण फैलाउने तत्व तथा रोगजनक पदार्थ हुन सक्छन । विशेष गरी क्षयरोग (टीबी), फ्लु, कोभिड-१९ लगायत केही संक्रमणजन्य रोगहरूको सन्दर्भमा थुकलाई हल्का रूपमा लिन मिल्दैन। संक्रमित व्यक्तिले सार्वजनिक स्थानमा थुकेको अवस्थामा त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट संक्रमण फैलिने जोखिम रहन सक्छ।
यो जोखिम अस्पताल, स्वास्थ्य संस्था र सार्वजनिक शौचालय जस्ता स्थानमा अझ गम्भीर बन्छ। त्यस्ता ठाउँहरूमा उपचारका लागि आएका बिरामी, वृद्धवृद्धा, बालबालिका तथा कमजोर प्रतिरक्षा भएका व्यक्तिहरूको उपस्थिति बढी हुन्छ। उपचार र स्वास्थ्य सुरक्षाका लागि बनाइएका स्थानहरू आफैँ अस्वस्थ वातावरणमा बदलिनु चिन्ताजनक विषय हो।
तर समस्या स्वास्थ्यमा मात्र सीमित छैन
सार्वजनिक स्थान हाम्रो सामूहिक पहिचान हो। हामीले सडक, पार्क, अस्पताल, विद्यालय वा सरकारी कार्यालयलाई कसरी प्रयोग गर्छौँ भन्ने कुराले हाम्रो सामाजिक संस्कार झल्काउँछ। जब सार्वजनिक संरचनाहरू गुट्खाको दाग र थुकले कुरूप बन्छन, त्यसले एउटा अदृश्य सन्देश दिन थाल्छ, यहाँ नियम भन्दा लापरवाही बलियो छ।
यसको असर प्रत्यक्ष भन्दा धेरै गहिरो र दीर्घकालीन हुन सक्छ
बालबालिकाले समाजबाट व्यवहार सिक्छन्। उनीहरूले देखेको कुरा सामान्य मान्छन् र दोहोर्याउँछन । यदि सार्वजनिक स्थानमा थुक्नु स्वीकार्य जस्तो देखियो भने त्यो भावी पुस्ताको व्यवहारमा पनि रूपान्तरण हुन सक्छ। यसरी नागरिक संस्कार कमजोर हुँदै जान्छ।
अर्को तर्फ, यो देशको छविसँग पनि जोडिएको विषय हो
नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्यका लागि विश्वमा परिचित छ। तर कुनै विदेशी पर्यटकले सार्वजनिक स्थलहरूमा जताततै थुकका दाग, गुट्खाको फोहोर र दुर्गन्ध देख्दा उसले बनाउने धारणा सकारात्मक हुन सक्दैन। पर्यटन केवल पूर्वाधार, होटल र सडकबाट मात्र बलियो हुँदैन, नागरिक व्यवहारले पनि त्यसलाई परिभाषित गर्छ।
त्यसो भए यस्तो व्यवहार किन रोकिएको छैन?
यसको एउटा प्रमुख कारण सामाजिक मौनता र कमजोर कार्यान्वयन हो। हामी कसैले सार्वजनिक स्थानमा थुकेको देख्छौँ, तर त्यसलाई चुनौती दिँदैनौँ। विद्यालय तह देखि सार्वजनिक व्यवहार र नागरिक कर्तव्यबारे पर्याप्त शिक्षा छैन। कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन कमजोर छ। अझ धेरै मानिसले थुकलाई सार्वजनिक स्वास्थ्यसँग जोडिएको विषयका रूपमा बुझ्न सकेका छैनन ।
कतिपय अवस्थामा मोटरसाइकल चलाउँदै बाटो मै गुट्खा, पान वा सुर्ती थुक्ने प्रवृत्ति समेत देखिन्छ। यस्तो व्यवहार केवल सडक फोहोर बनाउने विषय होइन, पछाडि आउने मानिसको स्वास्थ्य, सहजता र सम्मान माथिको बेवास्ता पनि हो।
यो समस्या नियन्त्रण गर्न केवल नियम पर्याप्त हुँदैन। व्यवहार परिवर्तनका लागि चेतना, सामाजिक दबाब, संस्थागत प्रतिबद्धता र नागरिक सहभागिता आवश्यक हुन्छ। खुला दिसामुक्त अभियानले दिएको पाठ पनि यही हो।
अब समय आएको छ सार्वजनिक सरसफाइलाई केवल झाडू लगाउने र फोहोर उठाउने कामका रूपमा नभई सामाजिक व्यवहार सुधारसँग जोडेर हेर्ने। ‘जथाभावी नथुकौँ’, भन्ने सन्देशलाई स्वास्थ्य अभियान, विद्यालय शिक्षा, स्थानीय तहका कार्यक्रम र नागरिक संस्कारको अभिन्न हिस्सा बनाउन आवश्यक छ। सार्वजनिक स्थानमा निगरानी, चेतनामूलक अभियान र आवश्यक कानुनी कार्यान्वयनलाई पनि समान रूपमा अघि बढाउनु पर्छ।
किनकि सभ्य समाजको पहिचान केवल अग्ला भवन, चौडा सडक वा आधुनिक संरचनाले हुँदैन। नागरिकले साझा सार्वजनिक स्थानलाई कति सम्मान गर्छन भन्ने कुराले समाजको वास्तविक स्तर निर्धारण गर्छ।
नेपालले खुला दिसा नियन्त्रण गरेर सामाजिक परिवर्तन सम्भव हुन्छ भन्ने प्रमाणित गरि सकेको छ। अब अर्को चरण सार्वजनिक सरसफाइ र जिम्मेवार नागरिक व्यवहारको हुनुपर्छ।
त्यसैले अब हामी आफैँलाई एउटा प्रश्न सोध्ने समय आएको छ, हामी वास्तवमै सफा देश चाहन्छौँ कि केवल सफा देशको कल्पना मात्र गरिरहन्छौँ?(डा. पार्थ गुरागाईं विराट मेडिकल कलेजमा सामुदायिक चिकित्सा विभागमा कार्यरत छन ।)

प्रतिक्रिया दिनुहोस