गाईगोठको साङ्लोदेखि पार्किन्सन रोग सम्म: किन आवश्यक छ राष्ट्रिय स्नायुविज्ञान प्रतिष्ठान?
नेपालको ग्रामीण भेगमा आज पनि मानसिक र स्नायु सम्बन्धी बिरामीहरूलाई उपचारको अभावमा गोठ वा रूखमा साङ्लोले बाँधेर राख्नुपर्ने मध्ययुगीन लज्जा कायम छ। एकातिर कुल स्वास्थ्य बजेटको १ प्रतिशत भन्दा कम हिस्सा पाउनु र अर्कोतिर ८५ देखि ९५ प्रतिशत बिरामी उपचारको दायरा भन्दा बाहिर रहनुले देशको मानसिक स्वास्थ्यको भयावह चित्र देखाउँछ।
बालबालिकाको संज्ञानात्मक विकास, मेरुदण्डको चोट (स्पाइनल इन्जुरी), निद्राको गडबडी र पार्किन्सनको अन्तर सम्बन्ध जस्ता जटिल स्नायु रोगहरूको स्वदेशी तथ्याङ्क संकलन र प्रमाणमा आधारित उपचार (एभिडेन्स-बेस्ड मेडिसिन) का लागि अब ‘राष्ट्रिय स्नायुविज्ञान प्रतिष्ठान’ (नाइन) को स्थापना अपरिहार्य भइसकेको छ।
पीडा लुकाएर मात्र हुँदैन
नेपालको ग्रामीण भेगमा आज पनि मानसिक रोगी, स्नायु विकास सम्बन्धी जन्मजात समस्या भएका वा अन्य स्नायु सम्बन्धी बिरामीहरूलाई ‘पागल’ भनिन्छ। उनीहरूलाई अझै पनि घरको कोठामा, गोठको छेउमा वा कहिलेकाहीँ रूखमा साङ्लोले बाँधेर राखेको देखिन्छ। यो दृश्य हाम्रो समाजको ठूलो लज्जा र मानव अधिकारको गम्भीर उल्लङ्घन हो।
तर, के हामीले कहिल्यै सोचेका छौँ? यी मध्ये धेरै जसो बिरामीहरू निको हुन सक्छन् वा उनीहरूको जीवन सहज बन्न सक्छ। सही उपचार, थोरै सहानुभूति र नियमित औषधिले यस्ता रोगहरू पूर्ण रूपमा निको हुन पनि सक्छन ।
त्यस्तै, नेपालमा स्नायु सम्बन्धी अरू पनि धेरै समस्याहरू छन ।उदाहरणका लागि, बालबालिकाको सिकाइ क्षमतामा देखिने समस्या, पहाडी क्षेत्रमा घाँस काट्दा लडेर मेरुदण्ड (ढाड) मा लाग्ने चोट, निद्रा सम्बन्धी समस्या (जुन भविष्यमा पार्किन्सन रोगको प्रारम्भिक सङ्केत हुन सक्छ), उच्च रक्तचापको औषधिले दीर्घकालीन रूपमा पार्ने असर र मल्टिपल सिस्टम एट्रोफी (एमएसए) जस्तो घातक रोगको पहिचान। यी सबै समस्याहरूको सूक्ष्म अध्ययन र उपचारमा सहयोग पुर्याउन एउटै छातामुनि काम गर्न सकिन्छ, जसका लागि ‘राष्ट्रिय स्नायुविज्ञान प्रतिष्ठान’ (नाइन) को स्थापना अपरिहार्य छ।
मेरो पहिलो लेखको सम्बन्ध: त्यसैको निरन्तरतामा आज म यी सबै विषयहरू समेटेर यो लेख प्रस्तुत गर्दै छु। ‘मस्तिष्क अनुसन्धानको विश्वव्यापी ‘खुला प्रयोगशाला’ बन्न सक्ने नेपालको उच्च भूगोल, तर छैन एउटै केन्द्रीय संस्था’ शीर्षकको मेरो पहिलो लेख पढ्न 👉 यहाँ क्लिक गर्नुस
नेपालमा मानसिक रोगको भयावह अवस्था
नेपाल प्रहरीको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७,००० भन्दा बढी मानिसले आत्महत्या गरे। यस हिसाबले दैनिक लगभग २० जनाले आफ्नो ज्यान गुमाइरहेका छन। प्रजनन उमेर समूहका नेपाली महिलाहरूको मृत्युको प्रमुख कारण मध्ये आत्महत्या पनि एक हो। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणको ‘पायलट अध्ययन’ ले देखाए अनुसार, आत्महत्या गर्नेहरू मध्ये १८ वर्षमुनिका बालबालिका तथा किशोर किशोरीको हिस्सा २१ प्रतिशत छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदन अनुसार, नेपालमा प्रति १,००,००० जनसङ्ख्यामा मात्र ०.१७ मनोचिकित्सक, ०.०३ मनोवैज्ञानिक र ०.२१ मानसिक स्वास्थ्य सम्बन्धी नर्सहरू उपलब्ध छन। यो उक्त सङ्गठनले सिफारिस गरेको प्रति १०,००० जनसङ्ख्यामा एक मानसिक स्वास्थ्यकर्मी हुनुपर्ने मापदण्ड भन्दा निकै कम हो। स्वास्थ्य तथा खाद्य स्वक्षता मन्त्रालयको सन २०२० को तथ्याङ्क अनुसार, ३ करोड भन्दा बढी जनसङ्ख्याका लागि करिब २०० मनोचिकित्सक मात्र छन र तीमध्ये पनि अधिकांश काठमाडौँ केन्द्रित छन।
यस्तो अवस्थामा, नेपालको सन्दर्भमा ‘मानसिक रोग’ सँग मात्र सम्बन्धित छुट्टै राष्ट्रिय प्रतिष्ठान स्थापना गर्नु व्यावहारिक र तार्किक देखिँदैन। त्यसैले समग्र स्नायु प्रणाली र मानसिक स्वास्थ्यलाई जोड्ने प्रतिष्ठान आवश्यक छ।
शान्ति दुलालको पीडादायी कथा – एक यथार्थ उदाहरण
‘नेपाली टाइम्स’ को रिपोर्ट अनुसार, ३५ वर्षीया शान्ति दुलाल ‘सिजोफ्रेनिया’ जस्तो गम्भीर मानसिक रोगबाट पीडित थिइन। उनकै श्रीमान्ले उनलाई लगनखेल स्थित मानसिक अस्पतालमा छाडेर गए। अस्पतालका डाक्टरहरू उनको पर्खाइमा बसिरहे, तर उनी कहिल्यै फर्किएनन। अन्त्यमा, चलचित्रको कथा जस्तै गरी उनकी ११ वर्षीया छोरी आफ्नी आमालाई लिन अस्पताल आइन।
यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो। नेपाली टाइम्स कै रिपोर्टमा भनिएको छ: ‘मानसिक रोगीहरूलाई सडकमा फालिन्छ, साङ्लोले बाँधिन्छ वा आफन्तहरूले नै त्याग्छन। वास्तवमा, बिरामीको उपचार गर्नु भन्दा पनि ठूलो चुनौती उनीहरू माथि हुने विभेद, मानसिक एवं सामाजिक हेय र घृणासँग लड्नु हो।’ हाम्रो देशमा नलेखिएका र नदेखिएका यस्ता धेरै ‘शान्ति दुलालहरूका कथाहरू’ छन।
हेय र घृणा – मुख्य बाधक
नेपाली समाजमा मन र शरीरलाई छुट्टाछुट्टै रूपमा हेर्ने गरिन्छ। मानसिक रोगलाई प्रायः आध्यात्मिक विकार वा कमजोर मनको उपजका रूपमा लिइन्छ। ‘द राइजिङ नेपाल’ को एक लेख एवं डा. सबिन जुवाको विद्यावारिधि अनुसन्धानअनुसार, ‘हाम्रो समाजमा अझै पनि गाउँघर र दूरदराजमा मानसिक रोगीको पहिलो सम्पर्क बिन्दु प्रायः धामी, झाँक्री, वैद्य, लामा वा बिजुवा नै हुन।’ सामाजिक बहिष्कार र विभेदको डरले चिकित्सकीय परामर्शका ढोकाहरू प्रायः बन्द रहने गरेका छन।
‘काठमाडौँ पोस्ट’ मा प्रकाशित एक विश्लेषण अनुसार, यस्ता मानसिक र सामाजिक हेय घृणा नेपाली परिवारका महत्त्वपूर्ण मूल्यहरूसँग जोडिएका छन, जस्तै सामुदायिक स्वीकार्यता, पारिवारिक इज्जत, विवाहको सम्भावना र उत्पादनशीलताको धारणा इत्यादि। जब यी मूल्य मान्यताहरू खतरामा पर्छन, परिवारहरू मद्दत माग्न हिचकिचाउँछन र फलतः बिरामीहरू एक्ला र असहाय बन्छन।
पढेलेखेका विद्यार्थीमा पनि मानसिक हीनता
‘धौलागिरी जर्नल अफ सोशियोलोजी एन्ड एन्थ्रोपोलोजी’ मा प्रकाशित एक अध्ययनले नेपाली विश्वविद्यालयका विद्यार्थीहरूमा समेत मानसिक रोग प्रति उल्लेखनीय मात्रामा सामाजिक हीनता (स्टिग्मा) रहेको पुष्टि गरेको छ। यसले के देखाउँछ भने, यो समस्या गाउँ र अशिक्षामा मात्र सीमित छैन; यो हाम्रो समाजको हरेक तहमा छ। अहिलेको आधुनिक युगमा तनाव, मानसिक रोग र मोबाइल फोनको अत्यधिक प्रयोगले यो समस्यालाई झन् विकराल बनाउँदै लगेको छ।
उपचारको खाडल, ८५ देखि ९५% सम्मले उपचार पाउँदैनन
नेपाली समाजमा उपचारको खाडल यति ठूलो छ कि मानसिक स्वास्थ्य समस्या भएका ८५ देखि ९५ प्रतिशत व्यक्तिहरूले कुनै पनि उपचार पाउँदैनन। ग्रामीण जिल्ला अस्पतालहरूमा गरिएको एक अध्ययन अनुसार, अधिकांश प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरूले आफ्नो सेवा अवधिमा शून्यदेखि बढीमा १५ दिनसम्म मात्र मानसिक स्वास्थ्यसम्बन्धी तालिम पाएका थिए। (स्रोत: द राइजिङ नेपाल, २०२५)
‘नाइन’ को स्थापना पछि के सम्भव छ?
राष्ट्रिय स्नायुविज्ञान प्रतिष्ठान (नाइन) को स्थापनाले मानसिक रोगीहरू माथि हुने सामाजिक हेय घृणा मात्र हटाउने छैन, बरु नेपाली समाजलाई पिरोलिरहेका अन्य गम्भीर स्नायु समस्याहरूको समाधानका लागि एउटा राष्ट्रिय केन्द्रको रूपमा काम गर्नेछ। यसका केही ठोस उदाहरणहरू यसप्रकार छन:
- न्यूरोकोग्निटिभ (स्नायु–संज्ञानात्मक) बालबालिकाका लागि विशेष विद्यालय
नेपालमा जन्मजात वा प्रारम्भिक बाल्यकालमा मस्तिष्कमा चोट लागेर सिक्ने क्षमता कमजोर भएका (लर्निङ डिसेबिलिटी), ध्यान केन्द्रित गर्न नसक्ने (एडिएचडी) र अटिजम स्पेक्ट्रम जस्ता समस्या भएका बालबालिकाको सङ्ख्या उल्लेखनीय छ। तर, उनीहरूको आवश्यकता अनुसारका ‘न्यूरोकोग्निटिभ स्कुल’ हरू नगण्य छन र भएकाहरूको पनि स्थापना र स्वीकृतिको आधार स्पष्ट छैन।
नाइनले के गर्न सक्छ?
नाइनअन्तर्गत ‘बाल स्नायु विकास केन्द्र’ (चाइल्ड न्युरोडेभलपमेन्ट सेन्टर) स्थापना गर्न सकिन्छ।
यस केन्द्रले संज्ञानात्मक कमजोरी भएका बालबालिकाहरूको पहिचान, मूल्याङ्कन र पुनःस्थापनाको विधि विकास गर्नेछ।
प्रशिक्षित स्नायुवैज्ञानिक, बाल मनोवैज्ञानिक र अकुपेसनल थेरापिस्टहरू मिलेर विशेष पाठ्यक्रम तयार गर्नेछन।
एक पटक नाइन स्थापना भएपछि ‘ब्रेन डेभलपमेन्ट स्कुल’ को अवधारणा यथार्थमा परिणत हुनेछ।
- स्पाइनल कर्ड इन्जुरी (मेरुदण्डको चोट) – गाउँको अर्को मौन समस्या
नेपालको ग्रामीण पहाडी क्षेत्रमा हरेक वर्ष सयौँ किसान, यात्री र मजदुरहरू मेरुदण्डमा चोट लागेर पूर्ण वा आंशिक रूपमा अङ्गभङ्ग वा पक्षघातको अवस्थामा पुग्छन। वरिष्ठ स्नायुशल्य चिकित्सक (न्यूरोसर्जन) डा. वसन्त पन्तका अनुसार, थोरै सावधानी अपनाउने हो भने मेरुदण्डको चोटका कारण असक्षम हुने व्यक्तिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सकिन्छ।
जोखिममा को छन?
- ग्रामीण किसानहरू: घाँसपात वा स्याउला काट्न जाँदा रूखबाट लडेर खस्नेहरू।
- साँघुरो पहाडी बाटो: हिँड्दा चिप्लिएर वा सन्तुलन गुमाएर खस्दा मेरुदण्डमा चोट लाग्नेहरू।
- सडक दुर्घटना: सवारी दुर्घटनाहरू स्पाइनल इन्जुरीको प्रमुख कारण हुन।
नाइनले के गर्न सक्छ?
राष्ट्रिय स्पाइनल कर्ड इन्जुरी डाटाबेस (तथ्याङ्क) तयार गर्ने।
अग्ला रूखहरूमा चढेर घाँस काट्ने जोखिमपूर्ण कार्यलाई निरुत्साहित गरी भुइँमै उत्पादन हुने डाले घाँसको प्रयोगमा सहयोग पुर्याउने।
चोट पछिको पुनःस्थापना (रिह्याबिलिटेसन) को राष्ट्रिय प्रोटोकल बनाउने।
आज एउटा साधारण किसान घाँस काट्ने क्रममा लड्दा, भोलि सिङ्गो परिवारको कमाउने मानिस सधैँका लागि ओछ्यान पर्छ र परिवारमा आर्थिक बोझ थपिन्छ।
ट्राफिक दुर्घटनाका पीडितहरूको लागि राष्ट्रिय रणनीति –
नेपालमा प्रत्येक वर्ष हजारौँ मानिस सडक दुर्घटनामा परेर स्नायु प्रणालीको चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी) बाट पीडित हुन्छन। नाइनले यी पीडितहरूको तथ्याङ्क र उपचारको वैज्ञानिक विश्लेषण गरी सरकारलाई नीतिगत सुझाव दिन सक्छ ।
निन्द्रा सम्बन्धी समस्या र पार्किन्सन रोग, गहिरो अन्तरसम्बन्ध-
लामो समय देखि निद्रामा समस्या हुँदा, विशेष गरी ‘रेम’ ( रेम- र्यापिड आई मुभमेन्ट) निद्रा (जुन अवधिमा हामी सपना देख्छौँ र आँखाको नानी छिटो छिटो घुम्छ) मा गडबडी हुँदा भविष्यमा पार्किन्सन रोग लाग्ने जोखिम निकै बढी हुन्छ। हालैका धेरै अनुसन्धानहरूले पत्ता लगाएका छन् कि रेम निद्राको गडबडी तीव्र पार्किन्सन रोगको आनुवंशिक जोखिम सँग प्रत्यक्ष रूपमा जोडिएको छ।
नेपालको सन्दर्भ: नेपाली समाजमा निद्राको समस्यालाई सामान्य रूपमा हेरिन्छ। ‘रातभरि निद्रा लाग्दैन’ वा ‘सपनामा कराउँछ, हातखुट्टा हल्लाउँछ’ जस्ता समस्यालाई बेवास्ता गरिन्छ, तर यी पार्किन्सनका प्रारम्भिक सङ्केत हुन सक्छन।
नाइनले के गर्न सक्छ? (न्यूरो विशेषज्ञहरूको सहयोग र सहकार्यमा)
राष्ट्रिय निद्रा र पार्किन्सन तथ्याङ्क (डाटाबेस) बनाउने।
रोगको प्रारम्भिक पहिचानका लागि वैज्ञानिक मापदण्ड विकास गर्ने।
यसबारे जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने।
उच्च रक्तचापको औषधि र मल्टिपल सिस्टम एट्रोफी (एमएसए) – खतरनाक सम्बन्ध?
पछिल्ला अनुसन्धानहरूले देखाएका छन् कि लामो समयसम्म उच्च रक्तचापको औषधि सेवन गर्दा केही दुर्लभ तर घातक स्नायु रोगहरूको जोखिम बढ्न सक्छ। मल्टिपल सिस्टम एट्रोफी (एमएसए) यस्तै एउटा रोग हो, जुन अत्यन्त द्रुत रूपमा बढ्छ। हाल सम्म यसको पूर्ण उपचार फेला परेको छैन र यसले बिरामीलाई केही वर्ष भित्रै पूर्ण रूपमा अशक्त बनाउँछ।
नेपालको सन्दर्भ: नेपालमा उच्च रक्तचापको औषधि सेवन गर्ने बिरामीहरूको सङ्ख्या लाखौँमा छ। हाम्रो देशमा यो समस्या अझ विकराल हुन सक्छ; किन भने यहाँ एक पटक औषधि सुरु गरे पछि डाक्टरको सल्लाह बिना नै जीवन भर औषधि खाइ रहने र कुनै ठूलो समस्या न आएसम्म जाँच नगराउने प्रवृत्ति छ। यी औषधिहरूले नेपालीहरूको स्नायु प्रणालीमा कस्तो असर गरिरहेका छन भन्ने हामीसँग आफ्नै कुनै तथ्याङ्क छैन।
नाइनले के गर्न सक्छ?
राष्ट्रिय फार्माकोभिजिलेन्स (फार्माकोभिजिलेन्स) कार्यक्रम लागू गरी औषधि सेवन गर्ने बिरामीहरूको दीर्घकालीन अनुगमन गर्ने।
एमएसए र अन्य दुर्लभ स्नायु रोगहरूको राष्ट्रिय दर्ता प्रणाली (रजिस्ट्री) सुरु गर्ने। स्थानीय तथ्याङ्कको आधारमा उपयुक्त उपचार नीति निर्माण गर्ने।
संक्षेपमा: नाइनको व्यावहारिक उपयोगिता
नाइनको स्थापना पछि निम्न समस्याहरूको समाधान सम्भव हुनेछ:
पहिलो (बालबालिकाको स्नायु संज्ञानात्मक समस्या): हाल यसका लागि कुनै विशेष विद्यालय छैन, शिक्षकहरूलाई तालिम छैन। नाइनले न्यूरोकोग्निटिभ स्कुल सञ्चालन गर्न र राष्ट्रिय मापदण्ड बनाउन मद्दत गर्नेछ।
दोस्रो (स्पाइनल कर्ड इन्जुरी): हाल यसको व्यवस्थित तथ्याङ्क छैन र डा. वसन्त पन्तको प्रतिरोधात्मक सुझाव प्रयोग विहीन जस्तै छ। नाइनले राष्ट्रिय डाटाबेस बनाउन, प्रतिरोधात्मक रणनीति लागू गर्न र पुनःस्थापनाको व्यवस्था गर्न सहयोग गर्नेछ।
तेस्रो (सडक दुर्घटनापछिको स्नायु चोट): हाल यसको उपचार अव्यवस्थित छ। अब तथ्याङ्कमा आधारित उपचार प्रोटोकल तयार गर्न सकिनेछ।
चौथो ( रेम निद्रामा गडबडी र पार्किन्सन रोग): हाल नेपालमा यसबारे कुनै तथ्याङ्क छैन। नाइनले प्रारम्भिक पहिचानको राष्ट्रिय मापदण्ड र जोखिम कम गर्ने रणनीति बनाउनेछ।
पाँचौँ (दीर्घकालीन उच्च रक्तचापको औषधि र एमएसए): हाल सम्भावित जोखिमको कुनै अनुगमन छैन। अब फार्माकोभिजिलेन्स र राष्ट्रिय दुर्लभ रोग दर्ता प्रणाली स्थापना गर्न सकिनेछ।
उल्लेखित समस्या समाधानका लागि किन ‘प्रमाणमा आधारित चिकित्सा’ (एभिडेन्स बेस्ड मेडिसिन) आवश्यक छ?
यी त थुप्रै समस्याहरू मध्येका केही उदाहरण मात्र हुन। यसले के देखाउँछ भने, प्रमाणमा आधारित चिकित्सा (एभिडेन्स बेस्ड मेडिसिन) मा नेपाल अहिले पूर्ण रूपमा पर निर्भर छ। हामी अन्तर्राष्ट्रिय अध्ययनको नतिजालाई आफ्नो जनसङ्ख्यामा सीधै लागू गर्छौँ। तर जातीय, आनुवंशिक र वातावरणीय भिन्नताका कारण अन्य देशको तथ्याङ्क नेपालका लागि सधैँ सही नहुन सक्छ। नाइनले नेपाली जनसङ्ख्या अनुकूल तथ्याङ्कको अध्ययन गरी नेपालको आफ्नै प्रमाण आधारित उपचार नीति बनाउन मद्दत गर्नेछ।
हामी के गर्न सक्छौं? (समाधानका बाटाहरू)
भ्रम तोड्नु छ: हामीले आफ्नो सोच बदल्नुपर्छ। मानसिक एवं स्नायुसम्बन्धी रोगहरू पनि मुटु वा मिर्गौलाको रोग जस्तै हुन भन्ने बुझ्नुपर्छ।
प्राथमिक स्वास्थ्य सेवामा समायोजन: मानसिक स्वास्थ्य सेवाहरूलाई प्राथमिक स्वास्थ्य सेवाको तहदेखि नै समायोजन गरिनुपर्छ।
जनशक्ति विस्तार: नेपाललाई थप प्रशिक्षित विशेषज्ञहरूका साथै मनोसामाजिक कार्यकर्ता र परामर्शदाताहरूको बलियो सञ्जाल आवश्यक छ।
बाँध्ने ठाउँमा उपचार केन्द्र: अहिले साङ्लोले बाँधिएर राखिएका बिरामीहरूलाई तत्काल उद्धार गर्न द्रुत उद्धार टोली र सेवाको व्यवस्था हुनुपर्छ।
बजेट वृद्धि: मानसिक एवं स्नायु स्वास्थ्यले कुल राष्ट्रिय स्वास्थ्य बजेटको १ प्रतिशतभन्दा कम हिस्सा पाउँछ। यो रकम प्रत्येक वर्ष नियमित रूपमा बढाउनुपर्छ।
अन्त्यमा,
खम्बा र रूखमा साङ्लोले बाँधेर मानसिक रोग निको हुँदैन, यसका लागि माया, औषधि र सही उपचार नै चाहिन्छ। तर यो सँगै, हामीले न्यूरोकोग्निटिभ बालबालिका, स्पाइनल कर्ड इन्जुरीका पीडित किसान, सडक दुर्घटनाका घाइते, निद्राको समस्या भएका र पार्किन्सनको जोखिममा रहेका व्यक्तिहरू, तथा उच्च रक्तचापको औषधिको दीर्घकालीन असर झेल्न सक्ने बिरामीहरूलाई पनि बिर्सनु हुँदैन।
हामी हरेक गाउँ र वडामा बाँधिएर रहेका ती असहाय मानिसहरूको मुक्तिको आवाज बनौँ। हरेक पहाडी बाटोमा खस्ने किसानको सुरक्षाको आवाज बनौँ। विशेष शिक्षा र उपचारको प्रतीक्षा गरिरहेका ती बालबालिकाहरूको आवाज बनौँ। निद्राको समस्या भएर पनि त्यो पार्किन्सनको सङ्केत हुन सक्छ भन्ने थाहा नपाएका व्यक्तिहरूको आवाज बनौँ। यी सबै समस्याको समाधानको सुरुवात ‘नाइन’ को स्थापनाबाट सम्भव छ। (लेखक प्रा. डा. सुनील ढुङ्गेल हाल मेडिकल युनिभर्सिटी अफ अमेरिकाज, वेस्ट इन्डिज मा कार्यरत छन । उनी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडौँ मा पूर्व एशोसिएट प्रोफेसर (२०११–२०२४) को रूपमा काम गरिसकेका छन।)
सन्दर्भहरू (तथ्याङ्क र समाचारका स्रोतहरू)
१. सुनिल ढुङ्गेल, (२०२६, मे २३). मस्तिष्क अनुसन्धानको विश्वव्यापी ‘खुला प्रयोगशाला’ बन्न सक्ने नेपालको उच्च भूगोल, तर छैन एउटै केन्द्रीय संस्था. नेपाल हेल्थ प्रेस, https://www.nepalhealthpress.com/article-interview/13696/
२. The Rising Nepal. (२०२५, जुलाई २७). Depression Is Not A Choice. https://risingnepaldaily.com/news/56716
३. Aryal, M. (२००७, नोभेम्बर २). Stigma Therapy. Nepali Times. https://archive.nepalitimes.com/news.php?id=14138
४. Khanal, K. (२०२५, फेब्रुअरी ६). Break Mental Health Stigma. The Rising Nepal. https://risingnepaldaily.com/news/56716
५. Karki, R., Raut, S., & Dahal, B.B. (२०२५). Social Stigma Towards People With Mental Illness. Dhaulagiri Journal of Sociology and Anthropology, 19(1), 53–64. https://www.nepjol.info/index.php/DSAJ/article/view/80829
६. Pokharel, D. (२०२६, जनवरी २). Breaking the silence. The Kathmandu Post. https://kathmandupost.com/columns/2026/01/02/breaking-the-silence-1767365037
७. सुनिल ढुङ्गेल, कतै छुटेको अनुसन्धान. कान्तिपुर।
८. World Health Organization. (२०२५). From stigma to care: Transforming mental health services in rural Nepal. https://www.who.int/nepal/news/detail/31-12-2025-from-stigma-to-care–transforming-mental-health-services-in-rural-nepal
९. Talwar, P., Mortazavi, N., Koshmanova, E., et al. (2025). Age-related differences in the association between REM sleep and the polygenic risk for Parkinson’s disease. bioRxiv. https://www.biorxiv.org/content/10.1101/2025.02.05.636657v1
१०. Li, C.H., et al. (2025). Blood pressure targets, medication considerations and special concerns in elderly hypertension III. Journal of the Formosan Medical Association, 124 Suppl 1:S55-S62. https://pubmed.ncbi.nlm.nih.gov/39818464/
११. Orphanet. (2014). Multiple system atrophy, cerebellar type (MSA-c). https://orphanet-preprod.atolcd.com/en/disease/detail/227510

प्रतिक्रिया दिनुहोस