बुढ्यौली बोझ होइन, जीवनको ‘स्वर्णिम चरण’: कसरी बनाउने वृद्धावस्थालाई सक्रिय र सम्मानित?


वृद्धावस्था मानव जीवनको स्वाभाविक र अपरिहार्य चरण हो। तर हाम्रो समाजमा अझै पनि बुढ्यौलीलाई कमजोर अवस्था, निर्भरता र निष्क्रिय जीवनसँग जोडेर हेर्ने प्रवृत्ति व्यापक छ। वास्तवमा वृद्धावस्था जीवनको अन्त्य होइन, बरु अनुभव, ज्ञान, परिपक्वता र सामाजिक योगदानको महत्वपूर्ण समय हो।

जीवनभर संकलित अनुभव, संघर्ष र सिकाइलाई यही चरणमा परिवार र समाजको मार्गदर्शनका रूपमा प्रयोग गर्न सकिन्छ। त्यसैले वृद्धावस्थालाई बोझका रूपमा होइन, सम्मान, सक्रियता र जीवनदर्शनको ‘स्वर्णिम चरण’ का रूपमा बुझ्न आवश्यक छ।

विश्वभर वृद्ध जनसंख्या तीव्र रूपमा बढिरहेको छ। स्वास्थ्य सेवाको विस्तार, पोषणमा सुधार र औसत आयु बढेसँगै नेपालमा पनि ज्येष्ठ नागरिकको संख्या निरन्तर वृद्धि भइरहेको छ। यसले स्वास्थ्य प्रणाली, सामाजिक सुरक्षा, पारिवारिक संरचना र हेरचाह प्रणालीमा नयाँ चुनौती थपेको छ। तर उचित तयारी र सकारात्मक दृष्टिकोण भए वृद्धावस्था समाजका लागि महत्वपूर्ण अवसरसमेत बन्न सक्छ।

वृद्धावस्था प्राकृतिक प्रक्रिया हो र यसलाई रोक्न सम्भव छैन। तर स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण, मानसिक सक्रियता, सामाजिक सहभागिता र परिवारको सहयोगमार्फत बुढ्यौलीलाई स्वस्थ, सक्रिय र सम्मानित बनाउन सकिन्छ।

राज्यले वृद्धमैत्री नीति निर्माण गर्ने, समाजले सम्मानजनक वातावरण सिर्जना गर्ने र परिवारले आत्मीय साथ दिने हो भने वृद्धावस्था समस्या होइन, प्रेरणा, अनुभव र सामाजिक योगदानको महत्वपूर्ण अवसर बन्न सक्छ।

जीवनको उत्तरार्धलाई निष्क्रियताको समय होइन, अनुभव र ज्ञानले उज्यालिएको गरिमामय चरणका रूपमा स्वीकार गर्न सकियो भने बुढ्यौली साँच्चिकै ‘स्वर्णिम जीवन’ बन्न सक्छ।

वृद्धावस्थामा देखिने प्रमुख परिवर्तन

उमेर बढ्दै जाँदा शरीरका विभिन्न अंगहरूको कार्यक्षमता क्रमशः कमजोर हुँदै जान्छ। मांसपेशीको शक्ति घट्ने, हड्डी कमजोर हुने, दृष्टि र श्रवणशक्ति कम हुने तथा स्मरणशक्ति कमजोर हुँदै जाने प्रक्रिया सामान्य मानिन्छ।

यस सँगै उच्च रक्तचाप, मधुमेह, मुटुरोग, हाडजोर्नी सम्बन्धी समस्या, श्वासप्रश्वासका रोग तथा डिमेन्सिया जस्ता दीर्घरोगको जोखिम पनि बढ्छ। शारीरिक समस्यासँगै एक्लोपन, सामाजिक दूरी र मानसिक तनाव वृद्धावस्थाका महत्वपूर्ण चुनौतीका रूपमा देखिन्छन।

तर यी सबै परिवर्तनलाई पूर्ण रूपमा रोक्न नसकिए पनि स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण र सक्रिय सामाजिक जीवनमार्फत यसको असरलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

वृद्धावस्थाको वर्गीकरण

चिकित्सा विज्ञानले वृद्धावस्थालाई सामान्यतया तीन समूहमा विभाजन गरेको छ।

युवा वृद्ध (६०–७४ वर्ष)- यो समूहका अधिकांश व्यक्ति सक्रिय, आत्मनिर्भर र सामाजिक रूपमा संलग्न रहन सक्षम हुन्छन्। धेरैजसो व्यक्तिले यस उमेरमा पनि पारिवारिक तथा सामाजिक नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका हुन्छन।

मध्यम वृद्ध (७५–८४ वर्ष)- यस चरणमा शारीरिक क्षमता क्रमशः घट्दै जान्छ। दीर्घरोगको जोखिम बढ्ने भएकाले नियमित स्वास्थ्य निगरानी, सुरक्षित वातावरण र पारिवारिक सहयोग आवश्यक पर्न थाल्छ।

अति वृद्ध (८५ वर्षमाथि)- यो समूहका व्यक्तिलाई दैनिक जीवनका सामान्य कामका लागि पनि सहयोग आवश्यक पर्न सक्छ। यस अवस्थामा शारीरिक हेरचाहसँगै भावनात्मक साथ र आत्मीयता अत्यन्त महत्वपूर्ण हुन्छ।

स्वस्थ वृद्ध जीवनका आधारहरू

शारीरिक सक्रियता : स्वस्थ शरीरको आधार

उमेर बढेसँगै शारीरिक गतिविधि कम गर्नु हुँदैन। नियमित हिँडडुल, योग, हल्का व्यायाम, ताई ची, स्ट्रेचिङ तथा बगैंचामा काम गर्नाले शरीर सक्रिय रहन्छ।

यस्ता गतिविधिले मांसपेशी बलियो बनाउने, शरीरको सन्तुलन कायम राख्ने, लड्ने जोखिम कम गर्ने तथा मुटु र फोक्सोको स्वास्थ्य सुधार गर्ने काम गर्छन्। शारीरिक सक्रियताले उमेरसँगै हुने कमजोरीको प्रक्रियालाई पनि ढिलो बनाउन मद्दत गर्छ।

मानसिक सक्रियता : मस्तिष्कलाई पनि अभ्यास आवश्यक

बुढ्यौलीसँगै स्मरणशक्ति कमजोर हुनु सामान्य प्रक्रिया हो। तर मानसिक अभ्यासले मस्तिष्कलाई सक्रिय राख्न महत्वपूर्ण भूमिका खेल्छ।

पुस्तक पढ्ने, समाचार सुन्ने, लेखन गर्ने, चेस वा पजल खेल्ने, गीत गाउने तथा नयाँ प्रविधि प्रयोग गर्न सिक्ने जस्ता गतिविधिले दिमागलाई सक्रिय राख्छन्। यसले आत्मविश्वास बढाउनुका साथै डिमेन्सियाको जोखिम कम गर्न सहयोग पुर्‍याउँछ।

सामाजिक सहभागिता : एक्लोपनको प्रभावकारी समाधान

वृद्धावस्थामा धेरै व्यक्तिले भोग्ने प्रमुख समस्या एक्लोपन हो। परिवार, समुदाय, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिताले मानसिक स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छ।

सामाजिक रूपमा सक्रिय वृद्ध व्यक्तिमा डिप्रेसनको जोखिम कम हुने विभिन्न अध्ययनले देखाएका छन्। त्यसैले वृद्धलाई परिवार र समाजबाट अलग गर्ने होइन, अझ बढी सहभागी गराउने वातावरण निर्माण गर्न आवश्यक छ।

सन्तुलित आहार : स्वस्थ जीवनको मूल आधार

वृद्धावस्थामा पोषणको आवश्यकता अझ महत्वपूर्ण हुन्छ। तरकारी, फलफूल, दाल, दूध, प्रोटिनयुक्त खाना तथा पर्याप्त पानी शरीरका लागि आवश्यक पोषक तत्वका मुख्य स्रोत हुन।

त्यस्तै कम नुन, कम चिल्लो र कम चिनीको प्रयोगले उच्च रक्तचाप, मधुमेह र मुटुरोगजस्ता नसर्ने रोग नियन्त्रणमा राख्न मद्दत गर्छ।

नियमित स्वास्थ्य परीक्षण र तनाव व्यवस्थापन

रोग जटिल भएपछि उपचार गर्नुभन्दा प्रारम्भिक चरणमै पहिचान गर्नु बढी प्रभावकारी हुन्छ। रक्तचाप, रगतमा चिनीको मात्रा, कोलेस्ट्रोल, आँखा तथा कानको नियमित परीक्षणले दीर्घरोग नियन्त्रणमा मद्दत गर्छ।

यस सँगै मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिन आवश्यक हुन्छ। ध्यान, प्राणायाम, संगीत तथा सकारात्मक सोचले तनाव कम गर्न र राम्रो निद्रा कायम राख्न सहयोग पुर्‍याउँछ।

फरक उमेर समूहका फरक आवश्यकता

वृद्धावस्थामा सबै व्यक्तिको आवश्यकता समान हुँदैन। युवा वृद्ध समूहलाई सक्रिय जीवनशैली र रोग रोकथाममा केन्द्रित गर्नु पर्छ। मध्यम वृद्ध समूहलाई सुरक्षित वातावरण, नियमित औषधि सेवन र लड्ने जोखिम कम गर्ने उपाय आवश्यक हुन्छ।

अति वृद्ध समूहलाई भने परिवारको आत्मीय साथ, भावनात्मक सहयोग र दैनिक हेरचाह बढी आवश्यक पर्छ।

वृद्ध : समाजका जीवित अनुभव र मार्गदर्शक

हाम्रो समाजमा अझै पनि धेरै वृद्ध व्यक्ति आफूलाई परिवार र समाजका लागि ‘अनावश्यक’ भएको महसुस गर्छन। यो सोच परिवर्तन गर्न आवश्यक छ।

वृद्धहरू अनुभव, संस्कार, मूल्य र जीवनदर्शनका जीवित स्रोत हुन्। उनीहरूले नयाँ पुस्तालाई धैर्य, अनुशासन, संघर्ष र सामाजिक उत्तरदायित्वबारे मार्गदर्शन गर्न सक्छन।

वृद्धावस्थामा मानिसलाई औषधि भन्दा बढी सम्मान, आत्मीयता र साथ आवश्यक पर्छ। परिवारको सानो समय, सम्मानजनक व्यवहार र सामाजिक सहभागिताले वृद्ध व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। (डा. पार्थ गुरागाईं विराट मेडिकल कलेजमा सामुदायिक चिकित्सा विभागमा कार्यरत छन ।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!