पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेजिडेन्ट चिकित्सकमा उच्च ‘बर्नआउट’, सातामा औसत ९८ घण्टा काम
पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा कार्यरत आवासीय चिकित्सकहरू सातामा औसत ९८ घण्टा सम्म काम गर्न बाध्य हुँदा उनीहरूमा चरम मानसिक तथा व्यावसायिक थकान (बर्नआउट) देखिएको छ।
नेपाल मेडिकल एसोसिएसनको स्मारिकामा प्रकाशित डा. राजेन्द्र घिमिरेद्वारा गरिएको एक अध्ययन अनुसार अत्यधिक कार्यबोझ, न्यून सेवा सुविधा र कार्यस्थलमा हुने हिंसाका कारण पोखरा एकेडेमी अफ हेल्थ साइन्स (पिओएएचएस) का झन्डै २९ प्रतिशत चिकित्सकहरूले असुरक्षा र मानसिक तनाव भोगिरहेका छन, जसले स्वास्थ्य क्षेत्रको आन्तरिक व्यवस्थापनमा गम्भीर संकट देखाएको छ। रेजिडेन्ट चिकित्सकहरू सातामा औसत ९८ घण्टा सम्म काम गर्नुपरेकोले उनीहरूको व्यक्तिगत र पेशागत मानसिक स्वास्थ्यमा उल्लेख्य असर पारेको देखिएको छ।
सन २०२५ मा ६ महिनासम्म सञ्चालन गरिएको अध्ययनमा प्रतिष्ठानका ६३ जना रेजिडेन्ट चिकित्सक सहभागी थिए। अध्ययनका लागि अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने ‘कोपेनहेगन बर्नआउट इन्भेन्टोरी (सीबीआई)’ प्रश्नावली प्रयोग गरिएको थियो। तथ्याङ्क गुगल फर्म मार्फत संकलन गरी माइक्रोसफ्ट एक्सेल र एसपीएसएस संस्करण २० बाट विश्लेषण गरिएको थियो। अध्ययनमा सहभागी चिकित्सकहरूको औसत उमेर ३०.२ वर्ष रहेको थियो भने ६७.७ प्रतिशत पुरुष थिए।
कामको चाप अत्यधिक, ४२% सातामा १०० घण्टाभन्दा बढी काम
अध्ययनले रेजिडेन्ट चिकित्सकहरूको कार्यबोझ असामान्य रूपमा उच्च रहेको देखाएको छ। सहभागी चिकित्सकहरूको साप्ताहिक काम गर्ने समय ४८ घण्टा देखि अधिकतम १४५ घण्टा सम्म पुगेको पाइएको छ। कुल सहभागी मध्ये ४१.९ प्रतिशतले सातामा १०० घण्टा भन्दा बढी काम गर्ने गरेका थिए। त्यस्तै, उनीहरूले महिनामा औसत ८.७ पटक रात्रिकालीन ड्युटी गर्नुपर्ने अवस्था रहेको अध्ययनले देखाएको छ।
कामसँग सम्बन्धित बर्नआउट सबैभन्दा बढी
अध्ययनले बर्नआउटलाई तीन विधामा मूल्याङ्कन गरेको थियो। त्यस अनुसार:
- कार्यगत मानसिक थकान (वर्क रिलेटेड बर्नआउट) : ६६.९ प्रतिशत (उच्च)
- व्यक्तिगत मानसिक थकान (पर्सनल बर्नआउट) : ६३.२ प्रतिशत (उच्च)
- बिरामीसँग सम्बन्धित मानसिक थकान (क्लाइन्ट रिलेटेड बर्नआउट) : ४९.४ प्रतिशत (मध्यम)
तीन मध्ये कामसँग सम्बन्धित बर्नआउट सबैभन्दा उच्च देखिएको अध्ययनले जनाएको छ।
न्यून स्टाइपेन्ड सन्तुष्टि, कार्यस्थल हिंसाको असर
अध्ययन अनुसार केवल ४१.९ प्रतिशत रेजिडेन्ट चिकित्सक मात्रै आफूले पाउने स्टाइपेन्ड प्रति सन्तुष्ट थिए। साथै २९ प्रतिशत सहभागीले कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा वा दुर्व्यवहार अनुभव गरेको बताएका थिए।
उपसमूह विश्लेषणमा प्रसूति तथा स्त्रीरोग र शल्यचिकित्सा विभागका रेजिडेन्टहरूमा बर्नआउट अन्य विभागको तुलनामा बढी देखिएको छ। त्यस्तै सातामा १०० घण्टा भन्दा बढी काम गर्ने, स्टाइपेन्ड प्रति असन्तुष्ट र कार्यस्थल हिंसा भोगेका चिकित्सकहरूमा बर्नआउट स्कोर १५ देखि २० प्रतिशत सम्म बढी पाइएको छ।
अर्को तर्फ, परिवार वा जीवनसाथी सँग बस्ने चिकित्सकहरूमा व्यक्तिगत बर्नआउट तुलनात्मक रूपमा कम देखिएको अध्ययनले उल्लेख गरेको छ।
सातामा १४५ घण्टा काम गर्ने चिकित्सकमा चरम बर्नआउट
अध्ययनका क्रममा एक जना रेजिडेन्ट चिकित्सकले सालामा १४५ घण्टा सम्म काम गरेको तथ्य फेला परेको छ। ती चिकित्सकले ‘कोपेनहेगन बर्नआउट इन्भेन्टोरी’ का १९ मध्ये ८ सूचकमा शत प्रतिशत स्कोर प्राप्त गरेका थिए, जसले अत्यधिक मानसिक थकानको अवस्था संकेत गरेको अध्ययनमा उल्लेख छ।
संस्थागत सुधारको माग
अध्ययनले रेजिडेन्ट चिकित्सकहरूमा देखिएको बर्नआउटलाई व्यक्तिगत नभई संस्थागत र कार्य सम्बन्धी संरचनात्मक समस्याको परिणामका रूपमा व्याख्या गरेको छ।
प्रतिवेदनले शिक्षण अस्पतालहरूमा कार्यबोझ व्यवस्थापन, न्यायोचित स्टाइपेन्ड, सुरक्षित कार्य वातावरण तथा चिकित्सकहरूको मानसिक स्वास्थ्य सहयोग प्रणाली सुदृढ बनाउन तत्काल नीतिगत तथा संस्थागत हस्तक्षेप आवश्यक रहेको सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस