अनुसन्धान

भौगोलिक उचाइ र रक्तचापको सम्बन्ध: होचो भूभागमा बस्ने वृद्धवृद्धा उच्च रक्तचापको बढी जोखिममा


काठमाडौं – समुद्र सतहदेखि कम उचाइ अर्थात होचो भूभागमा बसोबास गर्ने वृद्धवृद्धाहरूमा उच्च रक्तचाप (हाइपरटेन्सन) को जोखिम र प्रचलन उल्लेखनीय रूपमा बढी हुने एक नयाँ अध्ययनले देखाएको छ। प्रतिष्ठित चिकित्सा जर्नल ‘बिएमजे ओपेन’ मा प्रकाशित ५० हजार भन्दा बढी वृद्धवृद्धा समेटिएको चिनियाँ अनुसन्धान अनुसार, भौगोलिक उचाइ घट्दै जाँदा ज्येष्ठ नागरिकमा उच्च रक्तचापको दर र जोखिम दुवै बढ्दै जाने पाइएको हो।

हिमाल, पहाड र तराई जस्तो विविधतायुक्त भूगोल भएको नेपालका लागि समेत यो अध्ययन स्वास्थ्य नीति र चेतनाका हिसाबले महत्त्वपूर्ण मानिएको छ।  बिएमजेमा प्रकाशित यो अध्ययनलाई 👉यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

उत्तरपश्चिम चीनको सिनजियाङ क्षेत्रमा गरिएको अध्ययनमा ६० वर्ष वा सो भन्दा माथिका ५० हजार ७ सय ७८ जना समुदायमा बसोबास गर्ने वृद्धवृद्धालाई समावेश गरिएको थियो। सन २०१९ जनवरी देखि डिसेम्बर सम्म सञ्चालन गरिएको अध्ययनमा फरक फरक उचाइमा रहेका तीन सहरका दीर्घकालीन बासिन्दाको स्वास्थ्य अवस्था विश्लेषण गरिएको थियो।

अनुसन्धानकर्ताहरूले १ हजार २ सय ८९ मिटर उचाइमा रहेको काश्गर, ७ सय ३८ मिटर उचाइमा रहेको हामी र समुद्र सतहबाट केवल ३५ मिटर उचाइमा रहेको तुर्फानका वृद्धवृद्धामा उच्च रक्तचापको अवस्था अध्ययन गरेका थिए।

उचाइ घट्दा बढ्यो उच्च रक्तचाप

अध्ययन अनुसार काश्गरका ४०.५ प्रतिशत वृद्धवृद्धामा उच्च रक्तचाप भेटिएको छ। यो दर हामीमा ४९.५ प्रतिशत र तुर्फानमा ५४.५ प्रतिशत पुगेको पाइएको छ। अर्थात अध्ययनमा समेटिएका क्षेत्रहरू मध्ये सबै भन्दा कम उचाइमा रहेको तुर्फानमा उच्च रक्तचापको समस्या सबै भन्दा बढी देखिएको छ भने सबै भन्दा बढी उचाइमा रहेको काश्गरमा सबैभन्दा कम देखिएको छ।

अनुसन्धानकर्ताहरूले रक्तचापको जोखिम विश्लेषण गर्दा काश्गरको तुलनामा हामीका वृद्धवृद्धामा उच्च रक्तचाप हुने सम्भावना ५५ प्रतिशत बढी तथा तुर्फानका वृद्धवृद्धामा करिब ८० प्रतिशत बढी रहेको पाएका छन।

रक्तचापको स्तरमा पनि देखियो स्पष्ट अन्तर

अध्ययनमा सहभागीहरूको सिस्टोलिक रक्तचाप (एसबीपी) र डायास्टोलिक रक्तचाप (डीबीपी) पनि उचाइ अनुसार फरक पाइएको छ।

काश्गरमा औसत सिस्टोलिक रक्तचाप १३३.१५ एमएमएचजी, हामीमा १३६.६८ एमएमएचजी र तुर्फानमा १३५.४४ एमएमएचजी रहेको थियो। त्यसैगरी डायास्टोलिक रक्तचापमा पनि तीन वटै क्षेत्रबीच सांख्यिकीय रूपमा महत्त्वपूर्ण अन्तर देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन।

यो भिन्नता पुरुष र महिला दुवैमा तथा ९० वर्ष भन्दा कम उमेरका अधिकांश समूहमा समान रूपमा देखिएको थियो।

धूमपान, मदिरा र मधुमेहले मात्र व्याख्या गर्न सकेन

अनुसन्धानकर्ताहरूले धूमपान, मदिरा सेवन, मधुमेह, शिक्षा स्तर, बडी मास इन्डेक्स (बीएमआई), मुटुको धड्कन, मिर्गौलाको कार्यक्षमता तथा रक्तमा बोसोको मात्रा जस्ता विभिन्न कारकलाई समेत विश्लेषणमा समावेश गरेका थिए।

तर यी सबै कारकहरूको प्रभाव समायोजन गरिसके पछि पनि कम उचाइमा बस्ने वृद्धवृद्धामा उच्च रक्तचापको जोखिम उल्लेखनीय रूपमा बढी नै रहेको पाइएको छ। अध्ययनमा धूमपान गर्ने र नगर्ने, मदिरा सेवन गर्ने र नगर्ने, मधुमेह भएका र नभएका, विभिन्न शैक्षिक स्तर तथा तौल समूहका व्यक्तिहरूमा समेत समान प्रवृत्ति देखिएको उल्लेख गरिएको छ।

वातावरणीय कारक हुन सक्छन् मुख्य कारण

अनुसन्धानकर्ताहरूका अनुसार अध्ययनले उचाइ र उच्च रक्तचाप बीच उल्टो सम्बन्ध देखाए पनि यसको कारण प्रत्यक्ष रूपमा अक्सिजनको कमी (हाइपोक्सिया) वा शरीरमा हुने जैविक परिवर्तन मात्र नहुन सक्छ।

उनीहरूका अनुसार सहरीकरणको स्तर, खानपानमा नुनको मात्रा, वायु प्रदूषण, स्वास्थ्य सेवामा पहुँच, सामाजि, आर्थिक अवस्था तथा अन्य वातावरणीय कारकहरूले पनि रक्तचापमा प्रभाव पार्न सक्छन।

अध्ययनले देखाएको सम्बन्ध सम्भवतः उचाइसँग जोडिएका यिनै वातावरणीय प्रभावहरूको परिणाम हुन सक्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

अध्ययनका सीमाहरू

अनुसन्धानकर्ताहरूले अध्ययनका केही सीमाहरू समेत औंल्याएका छन। सहभागीहरूले उच्च रक्तचाप नियन्त्रणका लागि कुन औषधि, कति मात्रा र कति समय देखि प्रयोग गरिरहेका थिए भन्ने विस्तृत विवरण संकलन गरिएको थिएन। यसले रक्तचापको वास्तविक स्तर र प्रचलनको व्याख्यामा प्रभाव पार्न सक्ने उनीहरूको भनाइ छ।

त्यसै गरी अध्ययन ३५ मिटर देखि १ हजार २ सय ८९ मिटर सम्मको उचाइमा मात्र गरिएको भएकाले यसको निष्कर्ष १ हजार ५ सय मिटर भन्दा माथिका हिमाली क्षेत्र वा अत्यधिक उचाइमा बसोबास गर्ने जनसंख्यामा लागू नहुन सक्ने चेतावनी पनि दिइएको छ।

अनुसन्धानकर्ताहरूले यो अध्ययन ‘क्रस-सेक्सनल’ प्रकृतिको भएकाले कम उचाइले नै उच्च रक्तचाप गराउँछ भन्ने कारण परिणाम सम्बन्ध पुष्टि गर्न नसकिने बताएका छन । उनीहरूका अनुसार यस विषयमा थप स्पष्ट निष्कर्ष निकाल्न दीर्घकालीन तथा बहुक्षेत्रीय अध्ययन आवश्यक छ।

नेपालका लागि पनि चासोको विषय

हिमाल, पहाड र तराई जस्ता विविध भौगोलिक उचाइ भएका नेपाल जस्ता देशका लागि यो अध्ययन विशेष चासोको विषय हुन सक्छ। यद्यपि अध्ययनकर्ताहरूले आफ्ना निष्कर्षहरू सीमित उचाइ क्षेत्र र विशेष जनसांख्यिक समूहमा आधारित भएकाले अन्य देश वा समुदायमा सोझै लागू गर्नु अघि थप अनुसन्धान आवश्यक रहेको बताएका छन।

उच्च रक्तचाप मुटुरोग, मस्तिष्कघात र मिर्गौला रोगको प्रमुख जोखिम कारक भएकाले नियमित रक्तचाप परीक्षण, सन्तुलित आहार, नुनको मात्रा नियन्त्रण, नियमित शारीरिक गतिविधि र स्वस्थ जीवनशैली अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!