एम्सको नयाँ अध्ययन: भिटामिन र आइरनको कमी हटाउन ‘कोदो’ र पूरक चक्कीको मिश्रण बढी प्रभावकारी


नयाँ दिल्ली (ब्युरो) – दक्षिण एसियाली मुलुकहरूमा जनस्वास्थ्यको ठुलो चुनौतीका रूपमा रहेको भिटामिन र आइरनको कमी (सुक्ष्म पोषक तत्त्वको कमी/ हिडन हंगर) लाई रैथाने खाद्यान्न ‘कोदो फापर’ (मिलेट्स) को प्रयोगबाट समाधान गर्न सकिने एक नयाँ अध्ययनले देखाएको छ ।

भारतको प्रतिष्ठित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) सहितका शोधकर्ताहरूले गरेको अनुसन्धान अनुसार, भिटामिनका पूरक चक्कीहरू मात्र खानुको सट्टा त्यस सँगै नियमित रूपमा बाजराजन्य परिकार समावेश गर्दा शरीरमा भिटामिन बी-१२, भिटामिन डी र हेमोग्लोबिनको स्तरमा उल्लेख्य र द्रुत सुधार आउँछ ।अध्ययनले शरीरमा आवश्यक सूक्ष्म पोषक तत्व (माइक्रोन्युट्रिएन्ट) को कमीलाई कम गर्न कोदो, फापर (मिलेट्स) जस्ता रैथाने खाद्यान्न निकै प्रभावकारी हुने देखाएको छ ।

युरोपियन जर्नल अफ न्युट्रिसन एन्ड फुड सेफ्टी मा यो अध्ययन प्रतिवेदन प्रकाशित भएको हो। जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययन प्रतिवेदन अनुसार सन्तुलित आहारमा रैथाने बाली समावेश गर्दा शरीरमा भिटामिन र आइरनको मात्रामा उल्लेख्य सुधार आउँछ ।

विशेष गरी दक्षिण एसियाली देशहरूमा खानपानको बानीमा आएको परिवर्तन र रैथाने खाद्यान्नको प्रयोग घट्दै जाँदा भिटामिन बी-१२, भिटामिन डी र आइरनको कमी एउटा ठुलो स्वास्थ्य समस्याका रूपमा देखिँदै आएको छ । यसै समस्यालाई सम्बोधन गर्न दिल्ली स्थित ‘नेसनल एसोसिएसन अफ द ब्लाइन्ड’ (एनएबी) मा बस्ने १८ देखि ४५ वर्षका ५४ जना वयस्कहरूमा ६० दिन सम्म यो परीक्षण (र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल) गरिएको थियो ।​ यो अनुसन्धान एम्स, सीलिएक सोसाइटी अफ इन्डिया र डा. डेंग्स ल्याबका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा गरेका हुन् ।

अध्ययनका क्रममा सहभागीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । पहिलो समूहलाई भिटामिन बी-१२, भिटामिन डी र मल्टिभिटामिनका चक्कीहरू मात्र दिइयो भने दोस्रो समूहलाई ती चक्कीहरूसँगै कोदो तथा फापरजन्य परिकारहरू नियमित खुवाइएको थियो ।

अनुसन्धानको उद्देश्य भिटामिनका चक्कीहरू मात्र खाँदा र ती चक्कीहरू सँगै कोदो फापरको भोजन पनि समावेश गर्दा स्वास्थ्यमा कस्तो फरक पर्छ भन्ने पत्ता लगाउनु थियो । ६० दिनको परीक्षण पछि रगत जाँच गर्दा चक्की मात्र खानेहरूको तुलनामा कोदो फापर सहितको खाना खानेहरू, विशेष गरी महिलाहरूमा भिटामिन र हेमोग्लोबिनको मात्रा निकै बढेको पाइयो ।

महिला स्वास्थ्यमा राम्रो सुधार

  • भिटामिन बी-१२: कोदो फापर खाने समूहमा भिटामिन बी-१२ को स्तर प्रतिमिलिलिटर ३०२ पिकोग्राम ले बढ्यो, जबकि केवल चक्की मात्र खाने समूहमा यो वृद्धि ७८ पिकोग्राम मात्र देखियो।
  • भिटामिन डी र रक्तअल्पता :  कोदो फापर खाने महिलाहरूमा भिटामिन डी को मात्रा ४९.९ ng/mL ले वृद्धि भयो, जुन अर्को समूहको (३१.७ ng/mL) भन्दा धेरै बढी हो । साथै, बाजरा खाने महिलाहरूको शरीरमा हेमोग्लोबिनको स्तरमा पनि राम्रो सुधार आयो।

अनुसन्धानकर्ता कपिल यादवका अनुसार भिटामिन डी र बी-१२ को स्तर सुधार्नुको मुख्य कारण सप्लीमेन्ट्स नै भए तापनि बाजराको सेवनले त्यसको प्रभावकारितामा अतिरिक्त लाभ थपेको हो । पुरुषहरूको तुलनामा महिलाहरूमा बढी सकारात्मक नतिजा देखिनुको एउटा मुख्य कारण अध्ययनमा पुरुष सहभागीहरूको सङ्ख्या कम हुनु पनि हुनसक्ने उनले बताए ।

पोषक तत्व सोस्ने क्षमतामा वृद्धि 

अध्ययनले भिटामिनका चक्कीहरू शरीरका लागि मुख्य स्रोत भए तापनि कोदो र फापर जस्ता परिकारले ती पोषक तत्वहरूलाई शरीरमा राम्रोसँग सोस्न (अब्जर्भ गर्न) मद्दत पुर्‍याउने निष्कर्ष निकालेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार हस्पिटल, होस्टेल जस्ता संस्थाहरूको दैनिक मेनुमा रैथाने बालीलाई समावेश गर्नु पोषक तत्वको कमी विरुद्ध लड्ने एउटा सजिलो र प्रभावकारी उपाय हुन सक्छ । यद्यपि, यसको विस्तृत जैविक प्रक्रिया बुझ्न अझै लामो समय र ठुलो समूहमा अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

किन फाइदाजनक छ कोदो फापर?

अध्ययनमा संलग्न शोधकर्ता चन्द्रकान्त एस. पाण्डवका अनुसार बाजरामा फाइबर, खनिज (मिनरल्स) र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ । यसले शरीरमा आवश्यक पोषक तत्वहरू सोस्ने (अवशोषण गर्ने) क्षमतालाई बढाउँछ, जसले गर्दा सप्लीमेन्ट्सले राम्रोसँग काम गर्न पाउँछन ।

त्यस्तै, पोषणविद् इशी खोसलाले बाजरालाई नियमित आहारमा सामेल गर्दा मोटोपन र पुराना खालका दीर्घकालीन रोगहरूको जोखिम समेत कम हुने जानकारी दिइन । तर, यसको प्रयोग गर्दा भोजनको मात्रा र खाने समयको ख्याल राख्नु भने उत्तिकै जरुरी हुने उनको भनाइ छ ।

हस्पिटल, होस्टेल जस्ता संस्थाहरूको दैनिक मेनुमा बाजरा जस्ता रैथाने बालीलाई समावेश गर्नु कुपोषण विरुद्ध लड्ने एउटा सहज र व्यावहारिक उपाय हुनसक्ने अनुसन्धानले निष्कर्ष निकालेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!