अति-प्रशोधित खाद्यपदार्थ र मुटु रोगको जोखिम: युरोपियन सोसाइटी अफ कार्डियोलोजीको निष्कर्ष
काठमाडौं – विश्वव्यापी रूपमा खानपानको शैलीमा आएको परिवर्तन सँगै ‘अति-प्रशोधित खाद्यपदार्थ’ (अल्ट्रा-प्रोसेस्ड फुड / युपीएफ) जनस्वास्थ्यका लागि, विशेष गरी मुटुको स्वास्थ्यका लागि गम्भीर चुनौतीका रूपमा देखा परेका छन।
हालै ‘युरोपियन हर्ट जर्नल’ मा प्रकाशित युरोपियन सोसाइटी अफ कार्डियोलोजी अन्तर्गतका विज्ञहरूको क्लिनिकल कन्सेन्सस स्टेटमेन्टले यस्ता खाद्यपदार्थ र मुटु सम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिजेस) बीच प्रत्यक्ष सम्बन्ध रहेको तथ्य सार्वजनिक गरेको छ। युरोपियन हर्ट जर्नल’ मा प्रकाशित युरोपियन कार्डियोलोजी सोसाइटीको रिपोर्ट लाई 👉यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
वैज्ञानिक अध्ययनहरूका अनुसार, औद्योगिक रूपमा तयार पारिने यस्ता खाद्य पदार्थले मुटुको स्वास्थ्यमा नकारात्मक असर पुर्याउनुका साथै मृत्युदरमा समेत वृद्धि गरिरहेका छन।
विज्ञहरूका अनुसार मुटु रोगको रोकथामका लागि परम्परागत पोषक तत्वहरू (चिनी, नुन र चिल्लो) को व्यवस्थापन मात्र पर्याप्त छैन। खाद्य पदार्थको प्रशोधन प्रक्रियाले पनि मुटुको स्वास्थ्यमा उत्तिकै भूमिका खेल्ने भएकाले जनस्तरमा यस सम्बन्धी सचेतना अपरिहार्य देखिएको छ।
के हुन् अति-प्रशोधित खाद्यपदार्थ?
अति- प्रशोधन गरिएका खाद्यपदार्थहरू मुख्यतया सस्तो औद्योगिक सामग्री, विभिन्न रसायनिक मिसावट (एडिटिभ्स) र स्वाद बढाउने तत्वहरू प्रयोग गरी तयार पारिन्छ। यस्ता पदार्थमा पोषणको मात्रा न्यून वा शून्य प्रायः हुन्छ। ‘नोभा’ वर्गीकरण प्रणाली अनुसार यसलाई निम्न बमोजिम बुझ्न सकिन्छ ।
- प्राकृतिक वा न्यूनतम प्रशोधित:ताजा फलफूल, सागसब्जी, अण्डा र दूध।
- प्रशोधित पाक सामग्री: तेल, घिउ, नुन र चिनी।
- प्रशोधित खाना:बट्टामा राखिएका फलफूल वा तरकारी, चीज र ताजा पाउरोटी।
- अति-प्रशोधित :औद्योगिक रूपमा उत्पादित चिप्स, सफ्ट ड्रिंक्स, तयारी चाउचाउ, बिस्कुट, मिठाई, प्रशोधित मासु र लामो समयसम्म भण्डारण गर्न सकिने प्याकेटका तयारी खानाहरू।
स्वास्थ्यमा पर्ने प्रभाव र जोखिमका कारकहरू
विगत एक दशकमा गरिएका अध्ययनहरूले अति-प्रशोधित खाद्य पदार्थको सेवन र मुटु रोगका कारकहरूबीच गहिरो सम्बन्ध रहेको पुष्टि गरेका छन ।
- मोटोपना र मधुमेह: यस्ता खाद्यपदार्थमा उच्च क्यालोरी हुने तर रेसादार पदार्थ (फाइबर) को अभाव हुने भएकाले यसले तीव्र रूपमा तौल बढाउँछ। साथै, यसमा मिसाइने थपिएको चिनी (एडेड सुगर) का कारण ‘टाइप-२’ मधुमेहको जोखिम उच्च रहन्छ।
- उच्च रक्तचाप र कोलेस्ट्रोल: प्रचुर मात्रामा सोडियम र अस्वस्थ ट्रान्स फ्याटको प्रयोगले रक्तचाप र नराम्रो कोलेस्ट्रोल (एलडीएल) वृद्धि गरी धमनीहरूमा अवरोध सिर्जना गर्दछ।
- मिर्गौला र कलेजोको समस्या:अध्ययनले यस्ता खाद्यपदार्थको नियमित सेवनबाट कलेजोमा बोसो जम्ने (एनएएफएलडी) र मिर्गौलाको कार्यक्षमतामा ह्रास आउने देखाएको छ।
मुटु रोगको जोखिम र मृत्युदर
अध्ययनका अनुसार, अति-प्रशोधित खाद्यपदार्थको बढी सेवन गर्ने व्यक्तिहरूमा मुटुको धड्कन असामान्य हुने (एट्रियल फिब्रिलेसन) जोखिम १३ प्रतिशत सम्म बढी हुन्छ। त्यसै गरी, दैनिक आहारमा यस्ता पदार्थको मात्रा १० प्रतिशतले मात्र वृद्धि गर्दा पनि मुटु सम्बन्धी कडा रोगहरूको जोखिम उल्लेख्य रूपमा बढ्ने प्रतिवेदनमा उल्लेख छ। मुटु रोगको इतिहास भएका बिरामीहरूमा युपीएफ को उच्च सेवनले मृत्युको जोखिम ६५ प्रतिशतसम्म बढाउन सक्ने देखिएको छ।
चिकित्सकीय सुझाव र सावधानी
युरोपियन सोसाइटी अफ कार्डियोलोजीले मुटुरोग विशेषज्ञहरूलाई आफ्ना बिरामीहरूलाई खानपान सम्बन्धी परामर्श दिँदा निम्न बुँदाहरूमा जोड दिन आग्रह गरेको ।
- खाद्य सामग्रीको जाँच: कुनै पनि प्याकेटबन्द सामग्री खरिद गर्दा त्यसमा रहेका तत्वहरूको सूची (इन्ग्रेडियेन्ट्स लिस्ट) पढ्ने। यदि पाँचभन्दा बढी सामग्री मिसाइएको छ वा अपरिचित रसायनिक नामहरू छन् भने त्यसलाई प्रयोग नगर्नु बुद्धिमानी हुन्छ।
- प्राकृतिक आहारको प्रवर्द्धन: प्याकेटका खानेकुराको सट्टा प्राकृतिक र न्यूनतम प्रशोधन गरिएका रेसादार खाद्यपदार्थ, फलफूल र सागसब्जीलाई प्राथमिकता दिने।
- व्यवहारगत परिवर्तन: घरमा खाना पकाउने अभ्यासलाई प्रोत्साहन गर्ने, बिस्तारै चपाएर खाने र राति ढिलो खाना खाने बानीलाई निरुत्साहित गर्ने।

प्रतिक्रिया दिनुहोस