स्मार्टफोनबाटै बालबालिकाको उचाइ र पुड्कोपन मापन: नेपालको रौतहटमा गरिएको अध्ययन


काठमाडौँ – रौतहटमा गरिएको एक नयाँ वैज्ञानिक अध्ययनले स्मार्टफोनको एउटा एआई एपमार्फत बालबालिकाको पुड्कोपन ९३ प्रतिशत भन्दा बढी शुद्धताका साथ पहिचान गर्न सकिने पुष्टि गरेको छ। ‘द ल्यान्सेट रिजनल हेल्थ’ मा प्रकाशित यस अध्ययनले नेपाल जस्ता स्रोत साधन सीमित भएका देशमा परम्परागत उपकरण विना नै आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी कुपोषणको प्रारम्भिक पहिचानमा क्रान्ति ल्याउन सक्ने सम्भावना देखाएको छ।

‘द ल्यान्सेट रिजनल हेल्थ , साउथ इस्ट एसिया’ मा प्रकाशित  यो अध्ययन लाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अनुसन्धान अनुसार, स्मार्टफोनमा आधारित ‘चाइल्ड ग्रोथ मोनिटर’ एपले बालबालिकाको उचाइ मापन र पुड्कोपन पहिचान गर्न प्रभावकारी भूमिका खेल्न सक्ने पुष्टि भएको छ।

रौतहट जिल्लाका चारवटा स्वास्थ्य चौकीहरूमा गरिएको यो अध्ययनमा २४ देखि ५९ महिनाका ३१० जना बालबालिकालाई सहभागी गराइएको थियो। अध्ययनले परम्परागत फित्ता वा बोर्डले लिइने नाप र एपले लिने नापबीच तुलना गरेको थियो।

अध्ययनका मुख्य निष्कर्षहरू

अध्ययनले स्मार्टफोन एपको शुद्धता र विश्वसनीयतालाई निकै उच्च देखाएको छ ।

  • उच्च शुद्धता: एपले ९३.१% शुद्धताका साथ पुड्कोपन पहिचान गर्न सफल भएको छ ।
  • संवेदनशीलता: पुड्कोपन भएका बालबालिकाहरू पत्ता लगाउन एप ८४% सफल देखियो भने पुड्कोपन नभएकाहरूलाई सही रूपमा वर्गीकरण गर्न यसको क्षमता ९८.२% पाइयो।
  • समय र जनशक्तिको बचत: परम्परागत विधिमा तालिमप्राप्त जनशक्ति र उपकरणको आवश्यकता पर्छ, तर यो एपले सामान्य तालिमको भरमा काम गर्न सक्छ।
  • न्यूनतम त्रुटी: म्यानुअल विधि र एपको मापनमा औसतमा मात्र ०.३ सेन्टिमिटरको भिन्नता देखिएको छ, जसलाई वैज्ञानिक रूपमा निकै न्यून मानिन्छ।

कसरी काम गर्छ यो प्रविधिले?

यो एपले स्मार्टफोनमा हुने ‘थ्रिडी डेप्थ इमेजिङ’ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्छ।

  • स्वास्थ्यकर्मीले एप मार्फत बच्चाको चारवटा पोजमा फोटो/स्क्यान लिन्छन।
  • एपमा भएको सेन्सर र एआई एल्गोरिदमले बच्चाको शरीरको थ्रिडी मोडेल बनाउँछ।
  • सोही मोडेलको आधारमा बच्चाको वास्तविक उचाइ निकालिन्छ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को मापदण्डसँग तुलना गरेर नतिजा देखाइन्छ ।

चुनौती र आगामी बाटो

अध्ययनले केही प्राविधिक चुनौतीहरू पनि औंल्याएको छ। करिब १५ प्रतिशत स्क्यानहरू फोटोको गुणस्तर नपुग्दा वा उपकरणको समस्याका कारण सफल हुन सकेनन। साथै, यो एप प्रयोग गर्न बच्चा स्थिर उभिनु पर्ने भएकोले २४ महिना भन्दा मुनिका बालबालिकामा यसको परीक्षण गर्न बाँकी छ।

अध्ययन टोलीको भनाइ

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार, यो प्रविधि दुर्गम र स्रोत साधन कम भएका ठाउँहरूका लागि गेम चेन्जर साबित हुन सक्छ। भविष्यमा उचाइ मात्र नभई तौल पनि मापन गर्न सक्ने गरी एप विकास गरिएमा यसले कुपोषण नियन्त्रणमा ठूलो सहयोग पुर्‍याउनेछ।

यो अध्ययन ‘वेल्टहुङ्गरहिल्फे’ को सहयोगमा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृतिमा सम्पन्न भएको थियो। यसले नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमा डिजिटल प्रविधिको एकीकरणका लागि नयाँ ढोका खोलेको छ।

अनुसन्धानमा संलग्न टोली

यो अध्ययन विभिन्न क्षेत्रका विज्ञहरूको सामूहिक प्रयासबाट सम्पन्न भएको हो। अध्ययन प्रतिवेदनका अनुसार यसका मुख्य अनुसन्धानकर्ताहरू रीतिका मुखर्जी, शिवांगी कौशिक र हाम्जा सलाह थिए  । यस्तै अध्ययनमा नेपालका तर्फबाट महेश रिजाल र सम्पूर्ण राई रहेका थिए ।अध्ययनका अन्य सदस्यहरूमा अंकित कुमार गुप्ता, दिविता शर्मा, मिरियम काहराम्यान, अनुपमा वद्यदगया, नसरुल्लाह अली र अर्चिष्मान महापात्रा रहेका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!