‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ (पीसीओएस) को नाम परिवर्तन: अब ‘पीएमओएस’ नामबाट चिनिने


काठमाडौँ – ​’महिला स्वास्थ्यको क्षेत्रमा दशकौँदेखि प्रयोग हुँदै आएको ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ (पीसीओएस) को नाम अब इतिहास बनेको छ। चिकित्सा विज्ञानको प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित विश्वव्यापी सहमति अनुसार, यसलाई अब ‘पोलिएन्डोक्राइन मेटाबोलिक ओभरियन सिन्ड्रोम’ (पीएमओएस) नामाकरण गरिएको छ, जसले यो केवल अण्डासयको समस्या मात्र नभई हर्मोन र मेटाबोलिजमसँग जोडिएको जटिल अवस्था हो भन्ने तथ्यलाई स्पष्ट पारेको छ।’

विश्वभरका लाखौँ महिलाहरूलाई प्रभावित पार्ने स्वास्थ्य अवस्थाको नयाँ नामाकरण बारे एक विस्तृत शोध र विश्वव्यापी सहमतिका बारे द ल्यान्सेट मा सन् २०२६ को मे १२ तारिख (मङ्गलबार) प्रकाशित यो अनुसन्धानलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

विगत लामो समयदेखि प्रयोगमा रहेको पीसीओएस नामले यस अवस्थाको वास्तविक जटिलता र गम्भीरतालाई प्रतिनिधित्व गर्न नसकेको भन्दै विज्ञहरूले यसलाई सुधार गरेका हुन।

किन आवश्यक थियो नाम परिवर्तन?

विज्ञहरूका अनुसार पुरानो नाम ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ प्राविधिक रूपमा त्रुटिपूर्ण र भ्रामक थियो। यसका मुख्य कारणहरू निम्न छन ।

  • भ्रामक शब्दावली: ‘पोलिसिस्टिक’ शब्दले अण्डासयमा धेरै सङ्ख्यामा हानिकारक ‘सिस्ट’ (गाँठा) हरू रहेको बुझाउँथ्यो, तर वास्तविकतामा ती तरल पदार्थ भरिएका साना थैली (फोलिकल्स) मात्र हुन।
  • मेटाबोलिक पक्षको उपेक्षा: पुरानो नामले यसलाई केवल प्रजनन स्वास्थ्य वा स्त्रीरोग सम्बन्धी समस्याका रूपमा मात्र चित्रण गर्दथ्यो। तर, यो समस्या हर्मोनल असन्तुलन र मेटाबोलिजम (पाचन प्रणाली) सँग गहिरो रूपमा जोडिएको छ।
  • सामाजिक लाञ्छना र निदानमा ढिलाइ: अस्पष्ट नामका कारण करिब ७० प्रतिशत बिरामीहरू रोगको पहिचान हुनबाट वञ्चित हुने गरेका थिए भने धेरै महिलाहरूले यसका कारण सामाजिक र मानसिक तनाव भोग्नुपरेको थियो।

नयाँ नाम ‘पीएमओएस’ ले के जनाउँछ?

नयाँ नाम ‘पोलिएन्डोक्राइन मेटाबोलिक ओभरियन सिन्ड्रोम’ (पीएमओएस) ले यस स्वास्थ्य अवस्थाका तीन मुख्य आयामहरूलाई समेटेको छ ।

  • पोलिएन्डोक्राइन : यसले शरीरका विभिन्न ग्रन्थीहरूबाट उत्पादन हुने हर्मोनहरू (जस्तै: इन्सुलिन र एन्ड्रोजेन) को असन्तुलनलाई बुझाउँछ।
  • मेटाबोलिक: यसले मोटोपन, मधुमेह (टाइप-२), उच्च रक्तचाप र कलेजो सम्बन्धी जोखिमहरूलाई उजागर गर्दछ।
  • ओभरियन : यसले अण्डासयको कार्यक्षमतामा आउने गडबडी, महिनावारीको अनियमितता र प्रजनन स्वास्थ्यमा पर्ने असरलाई जनाउँछ।

विश्वव्यापी सहमति र प्रक्रिया

यो नयाँ नाम हचुवाका भरमा नभई एक बृहत् र पारदर्शी प्रक्रियाबाट तय गरिएको हो। यस प्रक्रियामा:

  • विश्वभरका ५६ वटा अग्रणी शैक्षिक, क्लिनिकल र बिरामी अधिकारका संस्थाहरूको सहभागिता थियो।
  • १४ हजार ३ सय ६० जना बिरामी र स्वास्थ्यकर्मीहरू बीच शृङ्खलाबद्ध सर्वेक्षण र कार्यशालाहरू आयोजना गरिएको थियो।
  • अनुसन्धानमा संलग्न विज्ञहरूले वैज्ञानिक शुद्धता, सांस्कृतिक उपयुक्तता र सर्वसाधारणले बुझ्न सक्ने सरल भाषालाई मुख्य आधार बनाएका थिए।

आगामी ३ वर्षको संक्रमणकालीन योजना

नयाँ नाम पीएमओएस लाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन ३ वर्षको ‘ट्रान्जिसन पिरियड’ तय गरिएको छ। यस अवधिमा विश्व भरका स्वास्थ्य प्रणाली, बीमा कम्पनीहरू र रोगहरूको अन्तर्राष्ट्रिय वर्गीकरण (आईसीडी) मा यसलाई अद्यावधिक गरिनेछ।

यस ऐतिहासिक परिवर्तनले स्वास्थ्य नीति निर्माण, क्लिनिकल अनुसन्धान र बिरामीको उपचार गुणस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास गरिएको छ। अबका दिनमा यसलाई केवल ‘स्त्रीरोग’ को रूपमा मात्र नहेरिएर बहु-प्रणालीगत स्वास्थ्य समस्याको रूपमा उपचार गरिनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!