‘फिट’ परीक्षणले आन्द्राको क्यान्सर सही पहिचान गर्छ? अन्तर्राष्ट्रिय जर्नलको समीक्षा भन्छ, प्रमाण अझै अपूर्ण
काठमाडौँ – आन्द्राको क्यान्सर (कोलोरेक्टल क्यान्सर) को पारिवारिक इतिहास भएका वा पहिले नै आन्द्रामा मासु पलाएका (पोलिप्स) उच्च जोखिमयुक्त व्यक्तिहरूमा गरिने प्रारम्भिक दिसा परीक्षण (फिट) को विश्वसनीयता र सटिकता माथि चिकित्सा वैज्ञानिकहरूले प्रश्न उठाएका छन।
प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नल क्लिनिकल ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी मा प्रकाशित हालैको एक वृहत् समीक्षा प्रतिवेदनले यो परीक्षणको निदान क्षमता ढुक्क सँग पुष्टि गर्ने ठोस प्रमाणहरू अझै अपर्याप्त रहेको देखाएको हो।
‘फिकल इम्युनोकेमिकल टेस्ट’ (फिट) को संवेदनशीलता र सटिकताका विषयमा एक विस्तारित समीक्षा (सिस्टेमेटिक रिभ्यु एन्ड मेटा एनालिसिस) सहितको नयाँ तथ्य क्लिनिकल ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी को मे २०२६ को अंकमा प्रकाशित छ 👉जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ । यसले आन्द्राको क्यान्सरको उच्च जोखिममा रहेका व्यक्तिहरूमा यो परीक्षणको प्रभावकारिता मूल्याङ्कन गर्न हाल सम्म उपलब्ध प्रमाणहरू अपूर्ण रहेको देखाएको हो।
विशेष गरी आन्द्रामा पहिले नै मासु पलाएका (पोलिप्स) वा परिवारमा कोलोरेक्टल क्यान्सरको इतिहास भएका व्यक्तिहरूमा एक पटक मात्र गरिने ‘फिट’ परीक्षणको निदान क्षमता (डाइग्नोस्टिक पर्फर्मेन्स) कस्तो रहन्छ भन्ने विषयमा यो अनुसन्धान केन्द्रित थियो।
फरक पृष्ठभूमि र उतार चढावपूर्ण नतिजा
अनुसन्धानकर्ताहरूले विभिन्न डाटाबेसमा उपलब्ध पूर्व अध्ययनहरू को विस्तृत विश्लेषण गरी निष्कर्ष तयार पारेका हुन्। अध्ययनलाई मुख्य गरी दुई वटा उच्च जोखिमयुक्त समूहमा वर्गीकरण गरिएको थियो ।
- आन्द्राको पोलिप्सको इतिहास भएका व्यक्तिहरू: आन्द्राको मासु निकालिसकेका (पलिपेक्टोमी) ८ हजार ८ सय १७ व्यक्तिहरू समावेश भएका ३ वटा अध्ययनको समीक्षा गरिएको थियो। यस समूहमा क्यान्सर पहिचानका लागि ‘फिट’ परीक्षणको संवेदनशीलता (सेन्सिटिभिटी) २७.६ प्रतिशत देखि १०० प्रतिशतसम्म र विशिष्टता (स्पेसिफिसिटी) ५५.९ प्रतिशत देखि ९४.१ प्रतिशत सम्म पाइयो। परीक्षणको मापदण्ड (थ्रेसहोल्ड) र पोलिप्सको हिस्टोलोजी (तन्तुको प्रकृति) मा रहेको भिन्नताका कारण नतिजामा व्यापक उतार चढाव देखिएको अध्ययनमा उल्लेख छ।
- पारिवारिक इतिहास भएका व्यक्तिहरू: परिवारका सदस्यमा कोलोरेक्टल क्यान्सरको इतिहास भएका ५ हजार ५ सय २५ व्यक्तिहरू समेटिएका १२ वटा अध्ययनको विश्लेषण गरिएको थियो। यस समूहमा परीक्षणको संवेदनशीलता २५ प्रतिशतदेखि १०० प्रतिशत र विशिष्टता ८३.१ प्रतिशत देखि ९२ प्रतिशत सम्म अभिलेख गरिएको छ। पारिवारिक विशेषता र परीक्षणका फरक मापदण्डका कारण यसमा पनि एकरूपता पाइएन।
थप प्रमाणको आवश्यकता
अध्ययनले दिसामा अदृश्य रगतको मात्रा जाँचेर क्यान्सरको प्रारम्भिक संकेत खोज्ने ‘फिट’ विधिको विश्वसनीयता माथि ठोस नीति तय गर्न वर्तमान तथ्याङ्क अपर्याप्त रहेको औंल्याएको छ।
प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ, ‘पारिवारिक इतिहास भएका वा पलिपेक्टोमी भइसकेका व्यक्तिहरूको फलोअप र स्क्रिनिङका लागि एकपटक गरिने ‘फिट’ को निदान क्षमता यकिन गर्न हाल उपलब्ध प्रमाणहरू सीमित छन।’
यस निष्कर्षले उच्च जोखिममा रहेका बिरामीहरूको परीक्षण र निगरानीका लागि विद्यमान निर्देशिकाहरू परिमार्जन गर्न तथा भविष्यमा अझ बढी केन्द्रित र बृहत् क्लिनिकल अध्ययनहरू सञ्चालन गर्न आवश्यक रहेको देखाउँछ।

प्रतिक्रिया दिनुहोस