दाँतको आरसीटी गर्ने सोचमा हुनुहुन्छ? डराउनु पर्दैन, नयाँ अध्ययनले देखायो ९३% बिरामी पूर्ण रूपमा दुखाइमुक्त
काठमाडौँ- दाँतको जरादेखि उपचार गरिने ‘रूट केनाल ट्रिटमेन्ट’ (आरसीटी) लाई आम सर्वसाधारणले निकै पीडादायी प्रक्रियाका रूपमा बुझ्ने गरेका छन, जसका कारण धेरै बिरामी अस्पताल जानै डराउँछन । तर, नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी) को जर्नलमा प्रकाशित हालैको एक नेपाली अध्ययनले यो बुझाइलाई पूर्ण रूपमा बदलिदिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४०० जना बिरामी माझ गरिएको अनुसन्धानले आधुनिक विधिबाट आरसीटी गर्दा उपचारकै क्रममा दुखाइ ह्वात्तै घट्ने र उपचार सकिए पछि ९३ प्रतिशत भन्दा बढी बिरामी पूर्ण रूपमा दुखाइ मुक्त हुने तथ्य प्रमाणित गरेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को दन्त चिकित्सा विभागमा गरिएको उक्त प्रस्पेक्टिभ अब्जर्भेसनल (सम्भावित अवलोकन) अध्ययनले आरसीटीलाई लिएर जनमानसमा रहेको अत्यधिक पीडादायी प्रक्रियाको भ्रमलाई समेत चिरेको छ। यो अध्ययन अनुसन्धानकर्ताहरू डा. रुपम त्रिपाठी, डा. सिर्जना दाहाल, डा. निशा आचार्य, डा. मनिषा नेपाल, डा. नितिन खण्डुरी र डा. समिता लामिछाने मिलेर गरेका हुन।
उपचार पछि ९३ प्रतिशतभन्दा बढी बिरामी पूर्ण रूपमा दुखाइमुक्त
६ महिना (डिसेम्बर २०२४ देखि जुन २०२५) सम्म सञ्चालित उक्त अनुसन्धानमा १८ वर्ष वा सो भन्दा बढी उमेरका ४०० जना बिरामीलाई समावेश गरिएको थियो। सहभागीहरूको औसत उमेर ३७.४२ वर्ष थियो भने त्यसमा ४६.५ प्रतिशत पुरुष र ५३.५ प्रतिशत महिला थिए। दाँतको पल्प गल्ने (नेक्रोटिक पल्प) वा अत्यधिक सुन्निने (इर्रिभर्सिब्ली इन्फ्लेम्ड पल्प) समस्या भएका बिरामीहरूमा मानक उपचार विधि अपनाएर अनुसन्धान गरिएको थियो।
बिरामीको दुखाइ मापनका लागि ‘भिजुअल एनालग स्केल’ (भीएएस) र ‘वङ-बेकर फेसेज पेन रेटिङ स्केल’ (फेसियल रेटिङ स्केल) जस्ता स्थापित वैज्ञानिक सूचकहरू प्रयोग गरिएको थियो। अध्ययनको नतिजा निम्न अनुसार रहेको छ ।
- उपचार अगाडि: ९६.३ प्रतिशत बिरामीमा दाँतको कडा दुखाइ विद्यमान थियो, जसको औसत भीएएस स्कोर १० मा ५.८० (मध्यक ६) रेकर्ड गरिएको थियो।
- उपचारका क्रममा: उपचार प्रक्रिया सुरु भई दाँतको भित्री सफाइ (बायोमेकानिकल प्रिपरेसन) सकिएको २४ घण्टापछि दुखाइको औसत स्कोर घटेर २.०१ मा झरेको थियो। यस चरणमा ४९ प्रतिशत बिरामीमा मात्र सामान्य दुखाइ बाँकी रहेको पाइएको थियो।
- उपचार सम्पन्न भएपछि: दाँतको जरा स्थायी रूपमा भर्ने प्रक्रिया (ओब्चुरेसन) सकिएको २४ घण्टा पछि बिरामीहरूको दुखाइ पूर्ण रूपमा समाप्त भई औसत स्कोर शून्य (०.२०) मा सीमित हुन पुग्यो। यस अन्तिम चरणमा केवल ६.५ प्रतिशत बिरामीमा मात्र सामान्य असजिलोपन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
अनुसन्धान कर्ताहरूका अनुसार उपचारका क्रममा दाँतको जरालाई गरिने उचित सफाइ, सिँचाइ (इरिगेसन) र आधुनिक फिलिङ सामग्रीको प्रयोगका कारण दुखाइ समाधान गर्न आरसीटी पूर्ण रूपमा प्रभावकारी देखिएको हो।दुखाइको अभिव्यक्तिमा लैंगिक भिन्नता
अध्ययनले पुरुष र महिलामा दुखाइको वास्तविक तीव्रता (भीएएस स्कोर) मा कुनै पनि साङ्ख्यिकीय भिन्नता देखाएको छैन। यद्यपि, उपचारका दौरान अनुहारको भाव (फेसियल रेटिङ स्केल) मार्फत दुखाइ प्रकट गर्ने मामलामा भने पुरुष र महिलाबीच उल्लेखनीय भिन्नता (पी = ०.०१४) पाइएको छ।
उपचारको समयमा महिलाहरूले पुरुषको तुलनामा अनुहारको हाउभाउ मार्फत बढी असजिलोपन व्यक्त गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार यो भिन्नता महिलामा दुखाइको वास्तविक अनुभूति बढी भएर भन्दा पनि जैविक तथा सामाजिक अनुकूलन (सोसल कन्डिसनिङ) का कारण आफ्नो असजिलोपनलाई अनुहारको भावमार्फत बढी प्रस्ट रूपमा अभिव्यक्त गर्ने शैलीका कारण हुन सक्छ।
बिरामी काउन्सिलिङ र जनचेतनामा जोड
दाँतको दुखाइ र दन्त चिकित्सासँग जोडिएको डरकै कारण धेरै बिरामीहरू समयमै उपचार गराउनबाट विमुख हुने गरेका छन । यो अध्ययनले सही समयमा गरिने आरसीटी उपचारले दुखाइ बढाउने नभई त्यसलाई जरै देखि निको पार्ने तथ्यलाई वैज्ञानिक रूपमा प्रमाणित गरेको छ।
उपचार सुरु गर्नुपूर्व नै चिकित्सकहरूले बिरामीलाई उपचारको प्रक्रिया र त्यस पछि हुन सक्ने सामान्य असजिलोपन बारे पूर्व जानकारी (इन्फोर्म्ड काउन्सिलिङ) गराउनु आवश्यक रहेको अध्ययनको निष्कर्ष छ। यसो गर्दा चिकित्सकप्रति बिरामीको विश्वास बढ्ने र भविष्यमा दन्त उपचार प्रति सकारात्मक दृष्टिकोण विकास हुने शोधकर्ता टोलीको दाबी छ।

प्रतिक्रिया दिनुहोस