दिसाको एउटै परीक्षणबाट आन्द्रा र पेटको क्यान्सर पत्ता लाग्ने, उपचार खर्च पाँच गुणासम्म घट्ने


काठमाडौँ- आन्द्रा र पेटको क्यान्सरको परीक्षण छुट्टाछुट्टै गर्नु भन्दा एउटै प्याकेजमा सँगै गर्दा बिरामीको ज्यान जोगिने सम्भावना बढ्नुका साथै उपचार खर्च समेत पाँच गुणा सम्म घट्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। अमेरिकन मेडिकल एसोसिएसनको प्रतिष्ठित जर्नल ‘जामा’ मा प्रकाशित २ लाख ४० हजार मानिसमा गरिएको बृहत अध्ययनले पेटको क्यान्सर गराउने ‘एच. पाइलोरी’ जीवाणु र आन्द्राको क्यान्सरको जाँच सँगै लैजाँदा स्वास्थ्य प्रणालीको अर्बौँ खर्च जोगिने तथ्य सार्वजनिक गरेको हो, जुन नेपाल जस्तो उच्च सङ्क्रमण दर भएको देशका लागि निकै सान्दर्भिक देखिन्छ।

अध्ययन अनुसार आन्द्राको क्यान्सर पहिचानका लागि प्रयोग हुने फिकल इम्युनोकेमिकल टेस्ट (एफआईटी) सँगै पेटको क्यान्सरको प्रमुख जोखिम कारक मानिने हेलिकोब्याक्टर पाइलोरी (एच. पाइलोरी) जीवाणुको स्टुल एन्टिजेन परीक्षण थप्दा यो रणनीति एफआईटी मात्र प्रयोग गर्ने विधि भन्दा बढी प्रभावकारी र लागत प्रभावकारी देखिएको हो। जामामा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

यो अध्ययन ताइवानको चाङ्हुवा काउन्टीमा २ लाख ४० हजार व्यक्तिमा गरिएको ठूलो र्‍यान्डमाइज्ड क्लिनिकल ट्रायल  का तथ्याङ्कमा आधारित आर्थिक मूल्याङ्कन हो।

अनुसन्धानकर्ताहरूले मार्कोभ निर्णय विश्लेषणात्मक मोडल प्रयोग गरी ३० वर्षको अवधिमा स्वास्थ्य लाभ, क्यान्सरबाट हुने मृत्यु, जीवनको गुणस्तर र स्वास्थ्य खर्चको आकलन गरेका थिए।

अध्ययनले एच. पाइलोरी परीक्षण र एफआईटी सँगै गर्न निमन्त्रणा गरिएका व्यक्तिहरूमा पेट तथा कोलोरेक्टल क्यान्सरबाट हुने मृत्यु कम हुने, क्वालिटी एड्जस्टेड लाइफ इयर अर्थात जीवनको गुणस्तर अनुसार समायोजित जीवन वर्ष बढ्ने र दीर्घकालीन स्वास्थ्य खर्च घट्ने देखाएको छ।

अनुसन्धान अनुसार संयुक्त परीक्षण रणनीति एफआईटी मात्रको तुलनामा बढी प्रभावकारी र कम खर्चिलो अर्थात् ‘डोमिनेन्ट’ रहेको पाइएको छ। एक लाख सम्भाव्य सिमुलेसन मध्ये ६५.७ प्रतिशत अवस्थामा संयुक्त परीक्षणले प्रत्यक्ष रूपमा खर्च बचत गरेको देखिएको छ भने बाँकी ३४.३ प्रतिशत अवस्थामा पनि यो अत्यधिक लागत प्रभावकारी रहेको पाइएको छ।

अध्ययनका अनुसार यस कार्यक्रमको लाभ लागत अनुपात ५.०८ रहेको छ। अर्थात संयुक्त परीक्षणमा गरिएको प्रत्येक एक डलर बराबरको लगानीबाट करिब पाँच डलर बराबरको प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार क्यान्सरको समयमै पहिचान र उपचारका कारण दीर्घकालीन स्वास्थ्य खर्चमा उल्लेखनीय बचत सम्भव हुन्छ।

अध्ययनको अर्को महत्त्वपूर्ण पक्ष भनेको वास्तविक जीवनको अवस्थालाई समेट्नु हो। स्वास्थ्य परीक्षणका लागि निमन्त्रणा गरिएका सबै व्यक्तिले परीक्षणमा पूर्ण सहभागिता जनाउँदैनन। यस्तो अपूर्ण सहभागिताको अवस्था समेत विश्लेषण गर्दा संयुक्त परीक्षण रणनीति नै बढी प्रभावकारी देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन।

यद्यपि यसको प्रभावकारिता एच. पाइलोरी संक्रमणको व्यापकतामा निर्भर रहने अध्ययनले जनाएको छ। संक्रमणको दर २१.९ प्रतिशत भन्दा कम भएमा यसको लागत प्रभावकारिता उल्लेखनीय रूपमा घट्न सक्ने देखिएको छ। तर संक्रमणको दर मध्यम वा उच्च भएका समुदायमा भने यो रणनीति अत्यन्त लाभदायक हुने अध्ययनको निष्कर्ष छ।

अनुसन्धानकर्ताहरूका अनुसार ताइवानमा यो विधिले खर्च समेत बचत गरेको देखिए पनि अमेरिकी स्वास्थ्य खर्चको आधारमा मूल्याङ्कन गर्दा प्रत्यक्ष खर्च बचत नहुने, तर स्वास्थ्य लाभका हिसाबले भने यो अझै लागत प्रभावकारी रहने देखिएको छ।

दक्षिण एसियाली देशहरूमा एच. पाइलोरी संक्रमणको दर तुलनात्मक रूपमा उच्च रहने भएकाले अध्ययनका निष्कर्ष नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने छ । पेटको क्यान्सरको प्रमुख कारण मानिने एच. पाइलोरी संक्रमणको समयमै पहिचान र उपचार तथा आन्द्राको क्यान्सरको नियमित स्क्रिनिङलाई एउटै कार्यक्रममा समेट्न सके स्वास्थ्य प्रणालीको खर्च घट्नुका साथै नागरिकको आयु र जीवनको गुणस्तरमा समेत सुधार आउन सक्ने अध्ययनले संकेत गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!