एकपटक स्तन क्यान्सर जितेका महिलामा दोस्रो स्तन क्यान्सरको जोखिम कति? डा. सिद्धार्थ यादव सम्मिलित टोलीको ‘नेचर’ मा ठूलो खुलासा


काठमाडौँ – स्तन क्यान्सर निको भएका महिलाहरूमा पुनः अर्को स्तनमा पनि क्यान्सर (कन्ट्राल्याटरल ब्रेस्ट क्यान्सर) हुन सक्ने वंशाणुगत जोखिमबारे चिकित्सा क्षेत्रकै प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर’ मा एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अनुसन्धान प्रकाशित भएको छ। नेचरमा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

अमेरिकास्थित मेयो क्लिनिकका नेपाली चिकित्सक डा. सिद्धार्थ यादव सम्मिलित टोलीले झन्डै ४९ हजार स्तन क्यान्सर विजेता महिलाहरूको तथ्यांक विश्लेषण गर्दै शरीरका निश्चित जीनहरूमा आउने खराबीका कारण दोस्रो स्तन क्यान्सरको जोखिम तीन गुणा सम्म बढ्ने तथ्य सार्वजनिक गरेको हो।

यस अनुसन्धानमा डा. सिद्धार्थ यादवका साथै आइज्याक एलेन, न्यान्सी ह्विस, निकोलस जे. बोडिकर, क्यारोलिन ड्रुकर, इर्मा भान डे विक, डायना एम. इक्लेस, क्लेयर टर्नबुल, पल फ्यारो, एन्टोनिस सी. एन्टोनियु, डगलस एफ. इस्टन, फर्गस जे. काउच, मारजान्का के. स्मिट र मार्क टिस्कोविट्स लगायतका विज्ञहरू सहभागी छन। टोलीले ‘ब्रिजेज’ परियोजना र ‘क्यारियर्स’ कन्सोर्टियमका दुई ठूला अध्ययनहरूबाट प्राप्त झन्डै ४९ हजार स्तन क्यान्सर विजेता महिलाहरूको तथ्यांकलाई विश्लेषण गरी यो निष्कर्ष निकालेको हो।

मुख्य जीन र १० वर्षे जोखिमको अवस्था

अनुसन्धानका अनुसार शरीरमा क्यान्सर रोक्ने भूमिका खेल्ने निश्चित जीनहरू बीआरसीए१, बीआरसीए२, पालबी२, चेक२ र एटीएममा खराबी (पाथोजेनिक भेरियन्ट) भएका महिलाहरूमा दोस्रो स्तनमा क्यान्सर हुने दर उच्च पाइएको छ।

पहिलो पटक स्तन क्यान्सर पत्ता लागेको १० वर्ष भित्र अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना (१० वर्षे सञ्चित जोखिम) निम्न बमोजिम देखिएको छ । यस अन्तर्गत बीआरसीए२ जीन: १०.२ प्रतिशत जोखिम, बीआरसीए१ जीन: १०.१ प्रतिशत जोखिम र एटीएम जीन: ४.५ प्रतिशत जोखिम रहेको छ।

यस्तै, चेक२ जीनमा खराबी भएकाहरूमा ८.० प्रतिशत र पालबी२ जीनमा खराबी भएका महिलाहरूमा ७.१ प्रतिशत दोस्रो स्तन क्यान्सरको जोखिम रहने अध्ययनले देखाएको छ।

हर्मोन रिसेप्टर र क्यान्सरको सम्बन्ध

अनुसन्धान टोलीले पहिलो क्यान्सर इस्ट्रोजन हर्मोन रिसेप्टर पोजेटिभ (ईआर – पोजेटिभ) वा नेगेटिभ (ईआर – नेगेटिभ) के थियो भन्ने आधारमा पनि जोखिमको वर्गीकरण गरेको छ।

मुख्य निष्कर्ष: पहिलो स्तन क्यान्सर ‘ईआर-नेगेटिभ’ भएका र शरीरमा पालबी२ जीनको खराबी रहेका महिलाहरूमा दोस्रो स्तन क्यान्सरको जोखिम दोब्बर वा सो भन्दा बढी (११.४ प्रतिशत) पाइएको छ। तर, पहिलो क्यान्सर ‘ईआर–पोजेटिभ’ भएका पालबी२ बाहकहरूमा भने दोस्रो क्यान्सरको जोखिम उल्लेखनीय रूपमा बढेको पाइएन।

त्यस्तै, बीआरसीए१ र बीआरसीए२ जीनमा खराबी भएका महिलाहरूमा पहिलो क्यान्सरको प्रकृति जस्तो सुकै भए पनि दोस्रो स्तनमा क्यान्सर हुने जोखिम अन्य सामान्य महिलाको तुलनामा झन्डै तीन गुणा बढी देखिएको छ।

उपचार र परामर्शमा सहयोग पुग्ने 

यो अनुसन्धानले स्तन क्यान्सर जिति सकेका महिलाहरूको उपचार र आगामी रणनीति तय गर्न चिकित्सकहरूलाई ठूलो सहयोग पुर्‍याउने विश्वास गरिएको छ। विशेष गरी जीनमा खराबी भएका महिलाहरूले दोस्रो स्तनमा आउन सक्ने क्यान्सरको जोखिम न्यूनीकरणका लागि ‘प्रोफाइल्याक्टिक मास्टेक्टोमी’ (जोखिम घटाउन स्तन हटाउने शल्यक्रिया) गर्ने वा नगर्ने भन्ने व्यक्तिगत निर्णय लिन यो तथ्यांक सहयोगी बन्नेछ।

अनुसन्धानकर्ताहरूका अनुसार यसअघिका अध्ययनहरूले देखाएको भन्दा यो अनुसन्धानमा जोखिमको दर केही कम देखिएको छ। पहिलेका अध्ययनहरू पारिवारिक रूपमै क्यान्सरको उच्च जोखिम भएका समूहमा मात्र केन्द्रित हुने गरेकाले त्यहाँ जोखिम बढी देखिएको हुनसक्ने डा. यादव सहितको टोलीको निष्कर्ष छ।

यो विस्तृत अध्ययनले स्तन क्यान्सर निको भएका महिलाहरूको उमेर र विधा अनुसार अझ परिष्कृत र व्यक्तिगत उपचार सेवा दिन मार्ग प्रशस्त गरेको छ।

को हुन् डा. सिद्धार्थ यादव?

यो प्रतिष्ठित अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने डा. सिद्धार्थ यादव अमेरिका स्थित मेयो क्लिनिकका सिनियर एसोसिएट मेडिकल अंकोलजिष्ट हुन। रोचेस्टर, मिनेसोटाको मेयो क्लिनिकमा ओन्कोलोजीका सहायक प्राध्यापक र महिला क्यान्सर कार्यक्रमका वरिष्ठ सल्लाहकारका रूपमा कार्यरत डा. यादवको अनुसन्धान मुख्यतया स्तन क्यान्सरको जोखिम बढाउने जीन पहिचान गर्नमा केन्द्रित छ।

क्यान्सरको आनुवंशिक जोखिमको क्षेत्रमा ९० भन्दा बढी लेख प्रकाशित गरिसकेका उनी वंशानुगत स्तन क्यान्सरमा अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी राष्ट्रिय दिशानिर्देश प्यानलका सदस्य समेत हुन। डा. यादवले आफ्नो विशिष्ट अनुसन्धान कार्यका लागि ‘क्यारियर एन्हान्समेन्ट प्रोग्राम अवार्ड’ का अतिरिक्त मेयो ब्रदर्स डिस्टिङ्ग्युइस्ड फेलोशिप अवार्ड, मेयो क्लिनिकबाट विलियम एचजे समर स्किल अवार्ड र अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजीबाट यंग इन्भेस्टिगेटर अवार्ड लगायत थुप्रै पुरस्कारहरू प्राप्त गरिसकेका छन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!