बिरामी उपचारमा पोषणको भूमिकालाई संस्थागत बनाउन ‘नेस्पेन’ गठन


काठमाडौँ – बिरामीको उपचारमा पोषणको महत्त्वलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले ‘नेप्लिज सोसाइटी फर प्यारेन्टेरल एण्ड इन्टरनल न्युट्रिसन’ (नेस्पेन) गठन गरिएको छ।

वरिष्ठ शल्य चिकित्सक डा. सुनिलकुमार शर्माको अध्यक्षतामा गठन गरिएको नेस्पेनको औपचारिक उद्घाटन प्रा.डा. महेश खकुरेलले गरेका हुन्।

डा.खकुरेलले बिरामीको उपचारमा औषधि सँगै सन्तुलित पोषण पनि अत्यावश्यक रहेको उल्लेख गर्दै पोषणको क्षेत्र हाल सम्म उपेक्षित रहेकोमा चिन्ता व्यक्त गरे। ‘अहिले उपचारको प्रवृत्ति औषधिमुखी देखिए पनि पोषण बिना उपचार अपूरो हुन्छ,’ प्रा.डा. खकुरेलले भने, ‘यस्तो अवस्थामा नेस्पेनले जागरण र सुधारमा सकारात्मक भूमिका खेल्ने विश्वास लिएको छु।’

त्यस्तै, डा. शर्माले पनि बिरामीको स्वास्थ्य सुधारमा पोषणको योगदानलाई अझ बलियो बनाउन नेस्पेनले वैज्ञानिक र व्यावहारिक पहल गर्ने जानकारी दिए। उनले भने, ‘अब हामी देश भरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी ज्ञान र तालिम दिन तयारीमा छौं।’

नेस्पेनका महासचिव तथा सघन उपचार विशेषज्ञ डा. किशोर खनालका अनुसार सोसाइटीले अन्तर्राष्ट्रिय स्तरका मापदण्डको आधारमा पोषण सम्बन्धी नीति, अभ्यास र तालिम सामग्री विकास गर्दै स्वास्थ्यकर्मीलाई दक्ष बनाउने छ।

नेस्पेनको कार्य समितिमा अध्यक्ष डा. सुनिलकुमार शर्मा, उपाध्यक्ष डा. हेमराज पनेरु, महासचिव डा. किशोर खनाल, कोषाध्यक्ष डा. पुण्य खरबुजा रहेका छन्। सदस्यहरूमा डा. प्रनिल राई, डा. राहुल पाठक, डा. क्षेतेन योन्जन तामाङ, डा. सविन कोइराला र डा. शुभकल्याण श्रेष्ठ छन्। डा. रोमियो कंसाकार र डा. सुभाष आचार्य सल्लाहकारको रूपमा सहभागी भएका छन्।

नेस्पेन मार्फत अब बिरामीको उपचारमा पोषणलाई प्राथमिकता दिँदै अनुसन्धान, शिक्षा र अभ्यासमा एकरूपता ल्याउने प्रयास गरिनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!