जनस्वास्थ्य माथि खेलबाड: धामीझाँक्री देखि स्वास्थ्यकर्मी मात्र होइन सामान्य व्यक्ति सम्मले ‘डाक्टर’ लेखेर उपचार गर्दै, काउन्सिलको १५ दिने अल्टिमेटम
अतुल मिश्र (काठमाडौं) – मुलुकको राजनीतिक अस्थिरता र कमजोर नियमनको फाइदा उठाउँदै मानिसको जीवन र मृत्युसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा नक्कली डाक्टरहरूको बिगबिगी डरलाग्दो रूपमा बढेको छ। पहिले दुर्गम र सीमावर्ती क्षेत्रमा मात्र सुनिने यो समस्या अहिले राजधानी काठमाडौंका नाम चलेका संस्था र सामाजिक सञ्जाल सम्मै फैलिएको छ। धामीझाँक्री देखि सामान्य स्वास्थ्यकर्मी मात्र नभए आम व्यक्तिले समेत अनधिकृत रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरेर बिरामीको ज्यानमाथि खेलबाड गरिरहेको खुलासा सँगै नेपाल मेडिकल काउन्सिलले शून्य सहनशीलताको नीति सहित १५ दिने अल्टिमेटम जारी गरेको छ।
वर्षौंदेखि जारी राजनीतिक अस्थिरता, कमजोर सुशासन, भ्रष्टाचार र कानुन कार्यान्वयनमा देखिएको ढिलासुस्तीको असर स्वास्थ्य क्षेत्रमा गम्भीर रूपमा देखिन थालेको हो। मानिसको जीवन र मृत्युसँग प्रत्यक्ष जोडिएको चिकित्सा सेवामा समेत नक्कली डाक्टरहरूको सक्रियता बढ्दै जानुलाई विज्ञहरूले राज्य संयन्त्र कमजोर बन्दै गएको खतरनाक संकेतका रूपमा व्याख्या गरेका छन।
पहिले दुर्गम, सीमावर्ती र ग्रामीण क्षेत्रमा सीमित मानिने नक्कली डाक्टरको समस्या अहिले राजधानी काठमाडौं सम्म फैलिएको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समेत अनुगमन कमजोर हुनु, राजनीतिक पहुँचका आधारमा संरक्षण पाउने प्रवृत्ति बढ्नु र नियामक निकायमाथि प्रभाव पार्ने अभ्यासले यस्ता गतिविधिलाई थप प्रोत्साहन दिएको टिप्पणी हुन थालेको छ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार मुलुकमा लामो समयदेखि जारी राजनीतिक अस्थिरताले प्रशासनिक संयन्त्र कमजोर बनाएको छ। नियुक्ति, सरुवा, अनुगमन र कारबाहीमा क्षमताभन्दा पनि राजनीतिक तथा आर्थिक पहुँच प्रभावकारी बन्न थालेपछि स्वास्थ्य जस्तो प्राविधिक क्षेत्रमा समेत विकृति मौलाएको उनीहरूको भनाइ छ।
विशेष गरी निजी स्वास्थ्य संस्था, क्लिनिक र परामर्श केन्द्रहरूको प्रभावकारी अनुगमन नहुँदा अयोग्य व्यक्तिहरूले ‘डाक्टर’ उपाधि प्रयोग गर्दै खुलेआम बिरामी जाँच्ने, औषधि लेख्ने र उपचार गर्ने अवस्था बनेको छ। कतिपय अवस्थामा आर्थिक चलखेल र पहुँचका आधारमा यस्ता गतिविधि वर्षौंसम्म रोक्न नसकिएको आरोप पनि लाग्ने गरेको छ।
एक दशकअघि नेपाल प्रहरीले ‘अपरेशन क्व्याक’ अन्तर्गत फर्जी प्रमाणपत्र प्रयोग गरेका ३६ जना नक्कली चिकित्सकलाई पक्राउ गरेको थियो। त्यसपछि यो अभियान कुनै कारणले मत्थर हुँदै गयो भने राज्यका जिम्मेवार निकायहरूले यसतर्फ खासै ध्यान दिएको देखिएन। अझ छिमेकी मुलुक भारतमा त यो समस्या झनै भयावह छ। भारतीय मेडिकल एशोसिएशनको अनुमानअनुसार त्यहाँ करिब १० लाख नक्कली डाक्टरहरू (क्व्याक) एलोप्याथिक चिकित्सा अभ्यास गरिरहेका छन।नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष डा.बद्री रिजाल मुलुकमा नक्कली चिकित्सकको यकिन तथ्याङ्क नभएपनि सम्बन्धित निकायहरू ले अनुगमनलाई प्रभावकारी बनाएर यसलाई पूर्णरूपमा समाप्त गर्नुपर्ने बताउँछ। नक्कली चिकित्सकलाई दिने स्वास्थ्य उपचारले गर्दा वास्तविक चिकित्सक मारमा परिरहेक छन् भने यसले चिकित्सा प्रक्रिया प्रति जनविश्वासमा समेत कमी ल्याउने उनी बताउँछ ।
हालै नेपाल मेडिकल काउन्सिलले ‘स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट’ मा कार्यरत चेतना पौड्याल नक्कली डाक्टर भएको खुलासा गरेको छ। काउन्सिलका अनुसार उनीसँग नेचुरोप्याथीसम्बन्धी योग्यता भए पनि एलोप्याथिक चिकित्सा अभ्यास गर्ने अनुमति छैन। तर, उनले आफ्नो नामअघि ‘डा.’ लेख्दै बिरामी जाँच, उपचार, एलोप्याथिक प्राक्टिस र परामर्श दिने गरेको पाइएको छ। काउन्सिलले पौड्यालले बिरामीको अवस्था राम्रोसँग मूल्यांकन नगरी एकै पटक धेरै परीक्षण गराउन सिफारिस गर्ने, अनावश्यक डर देखाएर परीक्षण गराउने तथा सर्वसाधारणलाई भ्रममा पार्ने गतिविधि गरेको जनाएको छ ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार पछिल्लो समय नक्कली डाक्टरसम्बन्धी उजुरी उल्लेख्य रूपमा बढेका छन्। उनका अनुसार मुलुकमा अहेव, हेल्थ असिस्टेन्ट, फिजियोथेरापिस्ट देखि धामीझाँक्रीसम्मले समेत आफूलाई ‘डाक्टर’ भन्दै चिकित्सा अभ्यास गरिरहेका उदाहरण फेला परेका छन।
‘यतिसम्म कि स्वास्थ्यकर्मी नै नभएका व्यक्तिले समेत डाक्टर लेखेर क्लिनिक सञ्चालन गरेको उजुरी आएको छ,’ डा. पाण्डेले भने, ‘अब काउन्सिल नक्कली डाक्टरविरुद्ध शून्य सहनशीलता अपनाउँदै कडाइका साथ लागेको छ।’
काउन्सिलका अनुसार चिकित्सक भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत चिकित्साशास्त्रमा स्नातक वा सोभन्दा माथिल्लो उपाधि प्राप्त गरी सोसम्बन्धी व्यवसायमा लागेको व्यक्ति बुझिन्छ।
पछिल्लो समय विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमा गैरचिकित्सक स्वास्थ्यकर्मी एवं अन्य असम्बन्धित व्यक्तिहरूले समेत आफ्नो नामको अगाडि अनधिकृत रूपमा डाक्टर उपाधि प्रयोग गरिरहेका छन्। उनीहरूले चिकित्सा अभ्यास गर्ने, औषधिको प्रेस्क्रिप्सन लेख्ने, परामर्श दिने तथा सर्वसाधारणमा गम्भीर भ्रम सिर्जना गरी जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरिरहेको पाइएकाले काउन्सिलले कानुनी प्रक्रिया सुरु गरेको डा. पाण्डे बताउँछन।
नेपालको कानुनअनुसार नेपाल मेडिकल काउन्सिल वा नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलमा दर्ता भएका व्यक्तिले मात्र ‘डाक्टर’ उपाधि प्रयोग गरेर बिरामीको उपचार गर्न पाउँछन्। गैरकानुनी रूपमा उक्त उपाधि प्रयोग गरेमा तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
जनस्वास्थ्यमा गम्भीर असर
सामुदायिक चिकित्सा अभियन्ता डा. हुलास अग्रवालका अनुसार नक्कली डाक्टरको सक्रियताले जनस्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ। गलत उपचार, रोग पहिचानमा ढिलाइ, अनावश्यक परीक्षण, औषधिको दुरुपयोग र आर्थिक शोषणका कारण बिरामीको अवस्था थप जटिल बन्ने जोखिम हुन्छ। कतिपय अवस्थामा यसले ज्यानै जाने अवस्था समेत निम्त्याउन सक्छ।
सामाजिक सञ्जाल मार्फत आफूलाई विशेषज्ञ चिकित्सकका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले समस्या झनै बढाएको छ। फेसबुक, टिकटक र युट्युबजस्ता माध्यम प्रयोग गरेर गैरचिकित्सक व्यक्तिहरूले उपचार सल्लाह दिने, औषधि सिफारिस गर्ने र क्लिनिकको प्रचार गर्ने काम बढ्दै गएको डा. पाण्डे बताउँछन।
विज्ञहरूका अनुसार नियमन कमजोर हुँदा योग्य चिकित्सक र स्वास्थ्य संस्थामाथिको जनविश्वास समेत गुम्ने खतरा छ। साथै स्वास्थ्य क्षेत्रलाई सेवाभन्दा व्यापारमा रूपान्तरण गर्ने प्रवृत्तिले पनि यस्ता विकृतिलाई बल पुर्याएको टिप्पणी भइरहेको छ।
कडाइ गर्ने तयारी
नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गर्ने व्यक्ति तथा संस्था विरुद्ध शून्य सहनशीलताको नीति लिएको जनाएको छ।
काउन्सिलका अनुसार अवैध रूपमा डाक्टर उपाधि प्रयोग गरिरहेका व्यक्तिले आगामी १५ दिनभित्र प्रेस्क्रिप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट त्यस्ता विवरण हटाउनुपर्नेछ। अटेर गरे कानुनी कारबाही अघि बढाउने चेतावनी दिइएको छ।
‘गैरकानुनी रूपमा डाक्टर उपाधि प्रयोग गरी बिरामी जाँच्ने, परामर्श दिने वा उपचारमा संलग्न भएको पाइए मेडिकल काउन्सिल ऐनअनुसार मुद्दा चलाउन सम्बन्धित निकायमा सिफारिस गर्छौँ,’ डा. पाण्डेले भने, ‘ज्यानसँग जोडिएको विषय, चिकित्सा प्रक्रिया र स्वास्थ्य उपचारको क्षेत्रमा पनि राज्य उपस्थित छ भन्ने आम नेपालीलाई अनुभूति हुने गरी काउन्सिल अगाडि बढेको छ।’

प्रतिक्रिया दिनुहोस