जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे कलेजकै प्राङ्गणबाट समातिए: प्रभु बैंकको कर्जा दुरुपयोग प्रकरण
काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली (शेल) कम्पनी र कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंकको करोडौँ कर्जा दुरुपयोग गरेको गम्भीर आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ। राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष समेत रहेका पाण्डेलाई उच्च अदालत पाटनको अनुमति पछि धनुषाबाट पक्राउ गरी बैंकिङ कसूर अन्तर्गत अनुसन्धान सुरु गरिएको छ।
सीआईबीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार महोत्तरीको बर्दिवास नगरपालिका–६ मा दर्ता रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि नामक कम्पनी मार्फत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितोको अस्वाभाविक रूपमा उच्च मूल्याङ्कन गरी कर्जा लिएको आरोप अनुसन्धानमा देखिएको छ।
विज्ञप्ति अनुसार प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा तोकिएको प्रयोजन भन्दा अन्यत्र प्रयोग गरिएको तथा पटक पटक कर्जा दुरुपयोग गरिएको आरोपमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।
सीआईबीका अनुसार पाण्डे राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष हुनुका साथै उक्त कम्पनीका एकल सञ्चालक पनि हुन ।
उच्च अदालत पाटन, ललितपुरबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति प्राप्त भएपछि उनलाई बिहीबार (२०८३ जेठ २० गते) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैया स्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ। सीआईबीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस