बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्रम शोषण : ४८ हजार तलब पाउनुपर्ने डाक्टरलाई ३४ हजार मात्रै, जेठ २२ देखि काम रोकिने
धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत हाउस अफिसर (एमबिबिएस गरेका डाक्टर) हरूले सरकारी मापदण्ड अनुसारको तलब, भत्ता र श्रम ऐन अनुसारको साप्ताहिक बिदा माग गर्दै आगामी जेठ २२ गतेदेखि आकस्मिक बाहेकका सम्पूर्ण क्लिनिकल सेवा ठप्प पार्ने चेतावनी दिएका छन। चार महिना अघि बुझाइएको मागपत्र माथि प्रशासनले कुनै सुनुवाइ नगरे पछि हाउस अफिसरहरूले मंगलबार देखि ‘पेन डाउन’ आन्दोलनको अल्टिमेटम सहितको पत्र दर्ता गराएका हुन।
हाउस अफिसरहरूले मंगलबार प्रतिष्ठानका प्रमुखलाई सम्बोधन गर्दै दर्ता गराएका पत्रमा यस अघि पटक पटक माग राख्दा पनि प्रशासनले कुनै ठोस निर्णय नगरेको भन्दै असन्तुष्टि जनाइएको छ।
हाउस अफिसरहरूले पहिलो पटक २०८२ माघ ४ गते प्रतिष्ठानका रजिष्ट्रार मार्फत उपकुलपतिलाई सम्बोधन गर्दै सरकारी प्रावधान अनुसार तलब, सुविधा तथा कार्य घण्टा कार्यान्वयनको माग सहित निवेदन बुझाएका थिए। त्यसयता करिब चार महिना बिति सक्दा पनि माग सम्बोधन नभएको उनीहरूको भनाइ छ।
गत माघ ४ गते बुझाइएको निवेदनमा हाउस अफिसरहरू स्वास्थ्य सेवाको आठौं तह सरहको पदमा पर्ने उल्लेख गर्दै अर्थ मन्त्रालयले निर्धारण गरेको तलबमान अनुसार आधारभूत तलब ४८ हजार ७ सय ३७ रुपैयाँ हुनुपर्ने माग गरिएको थियो। साथै नेपाल सरकारको बजेट वक्तव्य अनुसार अधिकृत तहका कर्मचारीलाई उपलब्ध गराइने ५ हजार रुपैयाँ खर्च भत्ता समेत दिनुपर्ने माग गरिएको थियो।
हाल प्रतिष्ठानले हाउस अफिसरहरूलाई ३४ हजार ५ सय रुपैयाँ आधारभूत तलब र १५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको उनीहरूको दाबी छ ।
त्यस्तै, श्रम ऐन २०७४ अनुसार प्रत्येक कामदारलाई सातामा एक दिन बिदा दिनुपर्ने व्यवस्था भए पनि आकस्मिक सेवा विभागमा कार्यरत हाउस अफिसरहरूले साप्ताहिक बिदा नपाइ रहेको गुनासो गरेका छन।
स्वास्थ्य मन्त्रालयले २०८२ असोज २४ गते जारी गरेको सूचनामा सबै स्वास्थ्य संस्थाले नेपाल सरकारका स्वास्थ्य सेवाका कर्मचारी सरह तलब, भत्ता तथा सुविधा उपलब्ध गराउनु पर्ने र सरकारले तोकेको कार्यघण्टा भन्दा बढी काममा लगाउन नपाइने व्यवस्था गरेको उल्लेख गर्दै हाउस अफिसरहरूले सो व्यवस्था प्रतिष्ठानमा कार्यान्वयन नभएको बताएका छन ।
उनीहरूले रात्री सेवा भत्ता, आवास (क्वार्टर) सुविधा, खाना भत्ता, सट्टा बिदा तथा खाजा ब्रेक लगायत सुविधा समेत पर्याप्त रूपमा उपलब्ध नभएको बताएका छन ।
हाउस अफिसरहरूले राखेका मुख्य मागहरूमा सरकारी मापदण्ड अनुसार आठौं तहको तलबमान लागू गर्ने, ५ हजार रुपैयाँ खर्च भत्ता उपलब्ध गराउने, सातामा एक दिन बिदा सुनिश्चित गर्ने, रात्री सेवा भत्ता, क्वार्टर, खाना भत्ता, सट्टा बिदा तथा खाजा ब्रेक उपलब्ध गराउने र सरकारले तोकेको मापदण्ड अनुसार क्लिनिकल कार्यघण्टा निर्धारण गर्ने रहेका छन।
जेठ १९ गते दर्ता गरिएको पछिल्लो पत्रमा हाउस अफिसरहरूले आफ्ना मागहरू जेठ २१ गते भित्र सम्बोधन नभए जेठ २२ गते देखि ‘पेन डाउन प्रोटेस्ट’ अन्तर्गत क्लिनिकल काम बन्द गर्ने चेतावनी दिएका छन।
उनीहरूले आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी प्रतिष्ठान प्रशासनले वहन गर्नु पर्ने उल्लेख गर्दै मागहरूको यथा शीघ्र सम्बोधन गरी समस्या सौहार्दपूर्ण रूपमा समाधान गर्न आग्रह गरेका छन । पत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हाउस अफिसरहरूको तर्फबाट हस्ताक्षर गरिएको छ।

प्रतिक्रिया दिनुहोस