एमबिबिएस डाक्टरको तलब ५४ हजार, कार्यालय सहयोगीको ४० हजार: किन रोकिँदैन चिकित्सक पलायन?


अतुल मिश्र (चितवन) – सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले एउटा सम्मेलनमा डाक्टरहरूको न्यूनतम तलबबारे अपेक्षित व्यवस्था नआएको बताएका छन।

शनिबार चितवनमा सुरु भएको नेपाल चिकित्सक संघको दुई दिने पाँचौँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन तथा ३०औँ अखिल नेपाल चिकित्सक सम्मेलन अन्तर्गत आयोजित ‘स्वास्थ्य शिखर सम्मेलन घोषणापत्र समीक्षा’ कार्यक्रममा बोल्दै उनले भने, – ‘मेडिकल अफिसरको न्यूनतम तलब एक लाख रुपैयाँ पुग्ने व्यवस्था हुन्छ भन्ने अपेक्षा गरेको थिएँ, तर त्यसमा तुसारापात भयो।’

कार्यक्रममा बागमती प्रदेश सरकारकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रका मुद्दा अन्य मन्त्रालयहरूमा प्रभावकारी रूपमा उठाउन कठिन हुने गरेको बताइन। उनका अनुसार पछिल्लो समय बागमती प्रदेशका १०औँ तहका चार जना चिकित्सकले सरकारी सेवा छाडेर विदेश गइसकेका छन।

‘अन्तर मन्त्रालय समन्वयमै स्वास्थ्यका विषय बुझाउन कठिन भइरहेको छ। चिकित्सक पलायन रोक्न ‘ब्रेन ड्रेन’ नियन्त्रण सम्बन्धी केन्द्रीय तहको स्पष्ट नीति आवश्यक छ,’ उनले भनिन।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्यलाई खर्च नभई लगानीका रूपमा बुझाउन नसके सम्म बजेट वृद्धि हुन नसक्ने धारणा राखे। ‘स्वास्थ्य क्षेत्र लगानी हो भन्ने विषय नीति निर्मातालाई विश्वास दिलाउन सकेनौँ भने बजेट बढाउन गाह्रो हुन्छ,’ उनले भने।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले राज्यले स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी गर्न कन्जुस्याइँ गरिरहेको टिप्पणी गरे। ‘स्वास्थ्य क्षेत्र लगानीको क्षेत्र हो। तर यसमा लगानी गर्ने विषयमा पुराना र नयाँ राजनीतिक शक्तिको दृष्टिकोण उस्तै देखिन्छ,’ उनले भने।

सम्मेलन कै क्रममा चिकित्सकहरूको जीवनशैली, कार्यबोझ र पारिवारिक जीवनमा परेको प्रभावबारे पनि चर्चा भयो। दिवा भोजका क्रममा एक चिकित्सकले सहकर्मीसँग आफ्नो पीडा सुनाउँदै भनिरहेका थिए, ‘मेरो छोरा कहिले प्लस टु पास भयो, मलाई थाहै भएन। बिहान घरबाट निस्कँदा ऊ उठिसकेको हुन्थ्यो र म राति फर्किँदा ऊ सुतिसकेको हुन्थ्यो। सरकारी तलबले मात्र घरव्यवहार चलाउन नसकिने भएकाले अतिरिक्त काम गर्नुपर्‍यो। अत्यधिक कार्यबोझ र ‘बर्नआउट’ का बीच परिवारलाई समय दिन र राम्रो जीवन बाँच्न समेत कठिन भयो।’

नेपाल चिकित्सक संघका अर्का पूर्वअध्यक्ष डा. लोचन कार्कीले चिकित्सकहरूको पारिश्रमिकबारे विगतमा सरकारलाई सिफारिस गरिएको स्मरण गराए। उनले नेपाल हेल्थ प्रेससँग भने, ‘म चिकित्सक संघको अध्यक्ष हुँदा डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको हामी समेत सम्मिलित समितिले एमबिबिएस उत्तीर्ण चिकित्सकको न्यूनतम तलब एक लाख रुपैयाँ हुनुपर्ने र शैक्षिक योग्यता तथा विशेषज्ञताको आधारमा क्रमशः साढे चारदेखि पाँच लाख रुपैयाँसम्म पुग्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको थियो।’

हाल सरकारी सेवामा कार्यरत एमबिबिएस चिकित्सकले मासिक करिब ५४ हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका छन। निजी क्षेत्रमा भने कतिपय चिकित्सकले २५ हजार रुपैयाँसम्मको तलबमा काम गर्नुपरेको चिकित्सकहरू बताउँछन।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अन्जनी झाले चिकित्सक पेसा नेपालमा सबै भन्दा बढी उपेक्षित र जोखिमपूर्ण बनेको दाबी गरे। ‘एउटा कार्यालय सहयोगीको तलब करिब ४० हजार रुपैयाँ छ भने चिकित्सकको तलब पनि त्यसकै हाराहारीमा सीमित छ। यस्तो अवस्थामा राज्य संयन्त्र संवेदनशील नभए चिकित्सकलाई देशमै टिकाइराख्न अत्यन्त कठिन छ। कार्यबोझ, ‘बर्नआउट’ र मानसिक तनावबाट उनीहरूलाई कसैले जोगाउन सक्दैन,’ उनले भने।

सम्मेलनमा सहभागी एक एमबिबिएस गरेका चिकित्सकले पनि लामो अध्ययन, कठिन प्रशिक्षण र ठूलो आर्थिक लगानी पछि अपेक्षित सम्मान तथा पारिश्रमिक नपाउँदा युवा चिकित्सकहरू निराश बन्दै गएको बताए।

‘चिकित्साशास्त्रको कठिन अध्ययन र ठूलो लगानी पछि पनि हामीले निराशा बाहेक धेरै कुरा पाएका छैनौँ। सरकारले दिने तलबले आधारभूत खर्च धान्न गाह्रो छ। निजी क्षेत्रमा २५ देखि ५० हजार रुपैयाँसम्मको तलबमा काम गरिरहेका साथीहरूको अवस्था सहजै अनुमान गर्न सकिन्छ,’ उनले भने।

चिकित्सकहरूका अनुसार योग्यता र विशेषज्ञता अनुसारको पारिश्रमिक नपाउँदा धेरै युवा चिकित्सक एमबिबिएस अध्ययन पूरा गरे लगत्तै राम्रो अवसरको खोजीमा विदेश जाने तयारीमा जुट्ने गरेका छन। पछिल्ला वर्षहरूमा चिकित्सक पलायनको दर उल्लेखनीय रूपमा बढ्दै गएको उनीहरू बताउँछन।

‘अत्यन्त न्यून तलब, अत्यधिक कार्यबोझ र अनिश्चित भविष्यका बीच नेपालमा चिकित्सकसँग सबैले अत्यन्त उच्च स्तरको कार्यक्षमता सहित मुस्कान सहितको सेवा पाउन खोज्छन,’ डा. झा भन्छन्, ‘तर उनीहरूको समस्या र अवस्थाबारे राज्य, सरकार, नेताहरू सँगै समाजका प्रभावशाली व्यक्तित्वहरू कोही बुझ्न खोज्दैनन  र कार्यस्थलमा उच्चतम क्षमता सहित डाक्टरहरूले अधिकतम कार्य गरून भन्ने वातावरण निर्माण गर्दैनन।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!