थाकेका डाक्टर, जोखिममा बिरामी: २४ घण्टे ड्युटीपछि अनिवार्य विश्राम दिन अस्पतालहरूलाई कडा निर्देशन
काठमाडौं – शिक्षण अस्पतालहरूले नियम विपरीत लगातार २४ देखि ३६ घण्टासम्म ड्युटीमा खटाउँदा रेजिडेन्ट चिकित्सकहरूमा डिप्रेसन र आत्महत्याको सोच (सुइसाइडल थट्स) सम्मको गम्भीर मानसिक समस्या देखिएको पाइएको छ। नेपाल मेडिकल काउन्सिलले यसरी डाक्टरहरूलाई पर्याप्त विश्राम विना अत्यधिक कार्य बोझ दिँदा बिरामीको सुरक्षा समेत उच्च जोखिममा परेको भन्दै देशभरका शिक्षण अस्पताल र प्रतिष्ठानहरूलाई तत्काल ड्युटी रोस्टर परिमार्जन गर्न कडा निर्देशन दिएको छ।
काउन्सिलले विभिन्न शिक्षण अस्पतालमा स्नातकोत्तर (एमडी, एमएस र एमडीएस) तहमा अध्ययनरत रेजिडेन्ट चिकित्सकलाई नियम विपरीत अत्यधिक ड्युटीमा खटाइएको भन्दै जेठ ११ गते जारी गरेको विज्ञप्तिमा २४ देखि ३६ घण्टा सम्म लगातार ड्युटी गराउँदा चिकित्सकहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर परेको र त्यसले बिरामीको सुरक्षामा समेत जोखिम बढाएको उल्लेख गरेको छ।
काउन्सिलका अनुसार विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालमा कार्यरत रेजिडेन्ट चिकित्सकहरूबाट अत्यधिक कार्यबोझ बारे गुनासा तथा उजुरी प्राप्त भइरहेका छन। पर्याप्त विश्राम विना लामो समय सम्म काम गर्नुपर्दा चिकित्सकहरूमा शारीरिक थकान, मानसिक तनाव, डिप्रेसन तथा आत्महत्या सम्बन्धी सोच सम्मका समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले नेपाल सरकारको ‘रेगुलेसन्स फर पोस्टग्राजुएट मेडिकल एजुकेशन (एमडी/एमएस प्रोग्राम्स)– २०१७’ को व्यवस्था स्मरण गराउँदै रेजिडेन्ट चिकित्सकलाई नियमित ड्युटी बाहेक सामान्यतया हप्तामा बढीमा दुई पटक मात्र २४ घण्टे ड्युटीमा राख्न सकिने जनाएको छ। तर कतिपय संस्थामा लगातार २४ देखि ३६ घण्टा सम्म ड्युटी गराइएको पाइएको भन्दै यसलाई नियम विपरीत अभ्यासका रूपमा औंल्याइएको छ।
विज्ञप्तिमा पर्याप्त विश्राम बिना लामो समय काम गर्दा चिकित्सकहरूको निर्णय क्षमता प्रभावित हुने र उपचार प्रक्रियामा अन्जान मै गम्भीर त्रुटि हुन सक्ने जोखिम बढ्ने उल्लेख गरिएको छ। यसले प्रत्यक्ष रूपमा बिरामीको सुरक्षामा असर पार्न सक्ने काउन्सिलको भनाइ छ।
त्यस्तै, ‘एनएमसी कोड अफ एथिक्स एन्ड प्रोफेशनल कन्डक्ट–२०१७’ अनुसार प्रत्येक चिकित्सक शारीरिक तथा मानसिक रूपमा उपचार सेवा दिन सक्षम हुनुपर्ने व्यवस्था रहेको पनि काउन्सिलले स्मरण गराएको छ। बिरामीलाई सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा दिन चिकित्सक स्वयंको स्वास्थ्य अवस्था उपयुक्त हुनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले सबै विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पताललाई रेजिडेन्ट चिकित्सकको ड्युटी रोस्टर प्रचलित नियम अनुसार परिमार्जन गर्न निर्देशन दिएको छ। लगातार २४ घण्टाको आकस्मिक ड्युटी पछि अनिवार्य विश्रामको व्यवस्था गर्न तथा चिकित्सकहरूको मानसिक स्वास्थ्य र कार्यस्थलको वातावरण सहज बनाउन आवश्यक परामर्श तथा सहयोग संयन्त्र सुदृढ गर्न आग्रह गरिएको छ।
निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा चिकित्सक हरूको कार्य क्षमता उच्च राख्दै बिरामीलाई सुरक्षित र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सबै सरोकारवाला निकायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस