एमबिबिएस सिट सङ्ख्या बढाए सत्याग्रहमा उत्रिने डा. गोविन्द केसीको चेतावनी

काठमाडौं– चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारमा लामो समयदेखि सक्रिय रहेका प्रा.डा. गोविन्द केसीले सरकारले यथा स्थितिमा एमबिबिएसको सिट सङ्ख्या बढाउने तयारी गरे जनस्वास्थ्य र चिकित्सा शिक्षा प्रणालीको विरुद्ध हुने भन्दै कडा आपत्ति जनाएका छन् ।
म्यानमारको याङ्गुनबाट प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो निर्णय फिर्ता नलिए नेपाल फर्किए पछि सत्याग्रहमा उत्रिने चेतावनी समेत दिएका छन्।
प्रेस विज्ञप्तिमा डा. केसीले लेखेका छन्, ‘हामी लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार र सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्न सङ्घर्षरत छौ ।
आम नेपाली हरूको अथक प्रयास र दबाबमा चिकित्सा शिक्षा ऐन लागू भयो र चिकित्सा शिक्षा आयोग गठन भयो । तर विभिन्न स्वार्थ परक समूहको गैरकानुनी हस्तक्षेपका कारण ऐनको अस्तित्व नै सङ्कटमा परेको छ ।’
उनले विशेष गरी ‘प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, नेता, न्यायाधीश, माफिया लगायतका तत्त्वहरूको निर्लज्ज हस्तक्षेपले चिकित्सा शिक्षा क्षेत्रलाई ‘अपारदर्शी र व्यापारीकरण’ तर्फ धकेल्न लागेको’ उल्लेख गरेका छन् । उनले थप लेखेका छन्, ‘ठग, फटाहा र खुराफातहरूको लहै लहैमा लागेर नागरिकको ठूलो तप्कालाई आफ्नै घुँडामा बन्चरो हानेको थाहा छैन ।’
म्यानमारको भूकम्प पीडितहरूको सेवा गरेर नेपाल फर्कने क्रममा याङ्गुन आइ पुग्दा आफूलाई रेजिडेन्ट डाक्टरको हडताल र स्वास्थ्य मन्त्रालय ले बनाएको एक समिति को सिट एमबिबिएस सिट सङ्ख्या एक सयबाट बढाएर डेढ सय बनाउने तयारी भइरहेको खबरले गम्भीर रूपमा चिन्तित तुल्याएको उनले बताएका छन् ।
उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘एमबिबिएस सिट हालको सङ्ख्या भन्दा एक सिट पनि नबढाउन, निजी मेडिकल कलेजहरूमा श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा हामी सित भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न सरकार समक्ष जोडदार माग गर्दछु ।’
डाक्टर केसीले चैत ३१ गते जारी गरेका मागहरू अझै पूरा नभएको भन्दै ती मागहरू शीघ्र कार्यान्वयन गर्न आग्रह गरेका छन्’ । उनले चेतावनी दिदैँ भनेका छन्, ‘यदि यी मागहरू तत्काल पूरा भएनन् भने नेपाल फर्किए लगत्तै सत्याग्रह गर्न बाध्य हुनेछु ।’
प्रतिक्रिया दिनुहोस