स्वास्थ्य मन्त्रालयकाे बजेट

स्वास्थ्यमा कुल बजेटको मात्र ४.६३ प्रतिशत, ८६ अर्ब २४ करोडले एक वर्ष धान्नु पर्ने


काठमाडौं– अर्थ मन्त्री वर्षमान पुनले मंगल बार संघीय संसदको संयुक्त बैठक मा आर्थिक वर्ष २०८१/८२ को स्वास्थ्य मन्त्रालय लगायत स्वास्थ्य क्षेत्रको लागि ८६ अर्ब २४ करोड को बजेट प्रस्तुत गरेका छन् ।

स्वास्थ्यको बजेट यस पटक समेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मान्यता (कुल बजेटको न्यूनतम १० प्रतिशत हुनु पर्ने) भन्दा आधा पनि पुग्न सकेको छैन । यस पटक कुल बजेटको ४.६३ प्रतिशत मात्र स्वास्थ्य को भागमा परेको हो ।

अर्थ मन्त्री द्वारा संसदमा प्रस्तुत स्वास्थ्य मन्त्रालयको बजेट

१. आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्व सुलभ र गुण स्तरीय बनाइनेछ । स्वास्थ्य संस्थामा अत्यावश्यक उपकरण, औषधि र दक्ष जनशक्तिको आपूर्ति सुनिश्चित गरिनेछ ।

२. आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिनेछ । निर्माण सम्पन्न भएका पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालको विधि तय गरी सञ्चालन गरिनेछ । निर्माणाधीन अस्पतालको निर्माण कार्य सम्पन्न गरिनेछ । यसका लागि रु. १५ अर्ब ४१ करोड विनियोजन गरेको छु ।

३. विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाइमर्स, पार्किन्सस, स्पाईनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमिया रोगमा उपचार सहुलियतको लागि प्रति बिरामी व्यक्ति रु. एक लाख बराबरको रकम प्रदान गर्न रु. ३ अर्ब विनियोजन गरेको छु ।

४. आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप र प्रजनन स्वास्थ्य सम्बन्धी सामाग्री निःशुल्क उपलब्ध गराउन रु.१ अर्ब ४३ करोड विनियोजन गरेको छु । आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमको लागि रु. ३ अर्ब ६ करोड विनियोजन गरेको छु ।

५. संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । क्यान्सर, मेरुदण्ड र पक्षाघात रोगको उपचार, मृगौला प्रत्यारोपण र डाइलाइसिस सेवा लिइरहेका बिरामीलाई औषधि उपचार खर्च बापत दिदै आएको प्रतिव्यक्ति प्रति महिना रु. पाँच हजार सम्बन्धित व्यक्तिको खातामा नै जम्मा हुने व्यवस्था मिलाएको छु । यसका लागि रु. २ अर्ब विनियोजन गरेको छु ।

६. परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिको अवस्था पहिचान गर्न भ्रूण तथा नवजात शिशु परीक्षण सेवा सञ्चालन गरिनेछ । अटिज्म, बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको विकास अवस्था र बाल मानसिक समस्याको पहिचान, निदान, उपचार तथा पुनः स्थापनामा संलग्न हुने जनशक्तिको क्षमता अभिवृद्धि गरिनेछ ।

७. वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिनेछ । कीर्तिपुरको बर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ । भेरी अस्पताललाईसिकलसेलएनिमिया उपचार केन्द्रको रूपमा विकास गरिनेछ। नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्थासँगकोसमन्वयमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।

८. आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरण सम्बन्धी सेवा विस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गरिनेछ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिनेछ।

९. कर्णाली, पोखरा, पाटन, राप्ती र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेलधुरा र गजेन्द्र नारायण सिंह अस्पतालको क्षमता विकास गरी ५०० शैयामा स्तरोन्नति गरिनेछ। रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट छुट्ट्याएको छु।

१०. सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गा लाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको पूर्वाधार विकास तथा उपकरणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

११. तीन सय शैया वा सोभन्दा बढी क्षमताका संघीय अस्पतालमा एमबिबिएस र सय शैया वा सोभन्दा बढी क्षमताका सरकारी अस्पतालमा नर्सिङ्ग सम्बन्धी शैक्षिक कार्यक्रम क्रमशः सञ्चालन गर्दै लगिनेछ । आगामी आर्थिक वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

१२ आयुर्वेद, प्राकृतिक चिकित्सा, योग, होमियोप्याथी, युनानी, अक्युपङ्चर, सोवारिग्पा लगायतका अन्य वैकल्पिक उपचार पद्धतिको विस्तार गरिनेछ। नागरिक आरोग्य कार्यक्रमलाई समुदाय स्तर सम्म विस्तार गरिनेछ। काठमाडौंको बूढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म केन्द्र भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। सिंहदरबार वैद्यखानाको पुर्न संरचना गरी क्षमता विस्तार गरिनेछ। आधारभूत आयुर्वेद औषधि उत्पादनलाई प्रवर्द्धन गरिनेछ। सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढ बनाइनेछ। वैकल्पिक उपचार पद्धतिका लागि रु. २४ करोड विनियोजन गरेको छु।

१३ काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु।

१४. स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ। स्वास्थ्य सँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमा बीचको दोहोरो पना हटाइनेछ। स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरेको छु।

१५. विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयन गरिनेछ। जनसाखि्यक लाभलाई राष्ट्रको समृद्धि र विकासमा उपयोग गरिनेछ।

१६.स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ रु. ८६ अर्ब २४ करोड विनियोजन गरेको छु।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!