‘बाह्रौँ ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन शुरु, अनमी कञ्चनमाला श्रेष्ठ लाई ‘निक साईमन्स अवार्ड प्रदान’


काठमाडौं– राजधानीमा बुधबार देखि ‘१२ औँ ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन’, शुरु भएको छ । तिन दिने उक्त सम्मेलनमा ग्रामीण क्षेत्रमा कार्यरत प्यारा मेडिक्स, नर्स, डाक्टर लगायतका स्वास्थ्य कर्मीको सहभागिता छ ।

स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा शुरु भएको ग्रामीण स्वास्थ्य कर्मी सम्मेलनमा नुवाकोटको राउतवेसी स्वास्थ्य चौकीमा विगत ११ वर्ष देखि कार्यरत वरिष्ठ अनमी कञ्चनमाला श्रेष्ठ लाई यो वर्षको ‘निक साईमन्स अवार्ड प्रदान गरिएको छ ।

उक्त पुरस्कारको लागि ४४ जनाको आवेदन परेको मा अन्तिममा पाँच जना छनौट गरिएको थियो ।प्रतिस्पर्धा मा रहेका अरु चार जनालाई पनि आयोजकले सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा सराङ डाँडा हेल्थपोष्ट पाँचथरका सीअहेव बाघ बहादुर रोकाया, डाँडापराजुल हेल्थ पोष्ट दैलेखकी सीअहेब डम्मर कुमारी शाही, बोहरागाँउ हेल्थपोष्ट बागुलङका सीअहेब कसिन्द्र शाही र कम्हरिया हेल्थपोष्टका रुपन्देहीका जनस्वास्थ्य निरीक्षक प्रदिप कुमार पण्डित रहेका छन् ।

ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरू लाई सम्मान र उनीहरूले भोगी रहेका समस्यालाई समाधान गर्ने उद्देश्यले यो सम्मेलन विगत १६ वर्ष देखी निक साइमन्स इन्स्टिच्युटले आयोजना गर्दै आएको हो ।

निक साइमन्स इन्स्टिच्युट का कार्यकारी निर्देशक डा.अर्चना अमात्यका अनुसार सम्मेलनको उद्देश्य ग्रामीण क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई हौसला प्रदान गर्ने रहेको छ । यस्तै ग्रामीण क्षेत्रका स्वास्थ्य कर्मीहरूलाई निरन्तर चिकित्सा शिक्षा (सिएमइ) दिनुको साथै सरकारी पद्धति को विषयमा विचार विमर्शको लागि फोरम प्रदान गर्न समेत वर्षेनी सम्मेलन आयोजना गरिन्छ ।

निक साइमन्स इन्स्टिच्युट का बोर्ड अध्यक्ष एवं पूर्व मन्त्री विद्याधर मल्लिकले इन्स्टिच्युट मधेश देखी पहाड सम्म ग्रामीण स्वास्थ्य उत्थानको को क्षेत्रमा निरन्तर कार्यरत रहेको बताए ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालको स्वास्थ्य क्षेत्रमा निक साइमन्स इन्स्टिच्युटको योगदान धेरै महत्त्वपूर्ण रहेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक संगीता मिश्रले निक साइमन्स इन्स्टिच्युटले विगत १८ वर्षमा गरेको योगदान नेपालको स्वास्थ्य क्षेत्रको लागि अत्यन्त महत्वपूर्ण रहेको जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस