शिक्षण अस्पताल मा मुलुक कै पहिलो संस्थागत विष सूचना केन्द्र

विष सूचना केन्द्र विषाक्तता को रोकथाम, प्रारम्भिक निदान, उपचार र जोखिम व्यवस्थापन बारे जानकारी प्रदान गर्ने एक विशेष इकाई हो ।


काठमाडौं– त्रिवि शिक्षण अस्पताल, महाराजगंज को क्लिनिकल फर्माकोलोजी विभागले विष सूचना केन्द्र (पोइजन इन्फरमेसन सेन्टर) सञ्चालनमा ल्याएको छ ।

अस्पतालका चिकित्सकहरूको दाबी अनुसार यो नै विष सेवन पछि उपचारका विषयमा जानकारी दिन संस्थागत रूपमा स्थापना गरिएको नेपाल को पहिलो संस्थागत विष सूचना केन्द्र रहेको हो ।

विष सेवन गरेकाहरूको उपचारलाई प्रभावकारी बनाएर उनीहरूको मृत्युदर कम गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो । केन्द्रले विष बारे विज्ञहरू मार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्छ । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले बिहीवार विष सूचना केन्द्र को उद्घाटन गरेका हुन ।

मुलुकमा बर्सेनि ६ हजार ९ सय ३३ जनाले आत्म हत्या गर्ने गरेको औँल्याउदै शिक्षण अस्पतालका डा. राकेश घिमिरेले त्यस मध्ये २० प्रतिशत सम्म विष सेवन गरेर हुने गरेको बताए ।

विष सेवन पछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रूपमा त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएका सूचना केन्द्र नै मुलुकको पहिलो सेन्टर भएको दाबी अस्पताल कै डा. रामु खरेलले गरे ।

शिक्षण अस्पतालमा रहेको विष सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने जनाउँदै डा.घिमिरे ले विष सेवन पछिको उपचारका विषयमा कुनै जानकारी लिनु परेमा ०१–४५०२०११ मा फोन गर्न सकिने बताए ।

के हो विष सूचना केन्द्र ?

विष सूचना केन्द्र विषाक्तता को रोकथाम, प्रारम्भिक निदान, उपचार र जोखिम व्यवस्थापन बारे जानकारी प्रदान गर्ने एक विशेष इकाई हो । धेरैजसो विकसित र धेरै विकासोन्मुख देशहरूले विष सूचना सेवा, बिरामी व्यवस्थापन सुविधा र विश्लेषणात्मक प्रयोगशालाको साथ विष नियन्त्रण केन्द्रहरू स्थापना गर्ने गरेका छन् । विष केन्द्रहरूको संरचना र कार्य संसार भरि भिन्न भिन्न भए पनि न्यूनतम रूपमा विष केन्द्र भनेको यो बारे को विभिन्न आवश्यक सूचना सेवा दिने थलो समेत हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!