जापानद्वारा सूर्योदय नगरपालिका, इलामलाई झन्डै १ करोड को प्रसूति तथा बालबालिका क्लिनिक हस्तान्तरण


काठमाडौ–जापान सरकारको सहयोगमा निर्मित प्रसूति तथा बालबालिका क्लिनिक इलाम जिल्लाको सूर्योदय नगरपालिकालाई एक समारोह बीच हस्तान्तरण गरिएको छ ।

उक्त समारोहमा नेपालका लागि जापानका राजदूत किकुटा युताकाको समेत उपस्थिति थियो । राजदूत किकुटाले परियोजनामा संलग्न सबैको प्रयासको प्रशंसा गर्दै  बधाई समेत दिएका थिए ।

जापान सरकारको ग्रास रुट हृयुमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) को लागि अनुदान सहायता अन्तर्गत, प्रसूति तथा बालबालिका क्लिनिक निर्माण गर्ने परियोजनालाई अमेरिकी डलर ८४,२७७ ( करिब ९२ लाख रुपियाँ ) सहयोग गरिएको थियो ।

राजदूत किकुटाले यस परियोजनाले स्थानीय तहमा पर्याप्त स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए । उनले यो सहयोगले स्थानीय स्वास्थ्य सेवामा मात्र नभई समुदायको विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

फिक्कल र यसका छिमेकी क्षेत्रका जनताका लागि सूर्योदय नगरपालिकामा नयाँ प्रसूति तथा बाल चिकित्सा क्लिनिक निर्माण गरी स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने लक्ष्य यस आयोजनाको रहेको जनाइएको छ ।

यस क्षेत्रमा क्लिनिक नहुदाँ मानिसले दुई घण्टा पैदल हिँडेर नजिकैको स्वास्थ्य केन्द्र पुग्नु परेको गम्भीर समस्या समाधानका लागि सूर्योदय नगरपालिकाले जापान सरकारको सहयोगमा जीजीपीका लागि आवेदन दिएपछि नगरपालिकाको व्यवस्थापन अन्तर्गत गत  मार्च महिना देखि क्लिनिक सञ्चालनमा आएको छ ।

जीजीपी समुदायको सामाजिक–आर्थिक विकासको लागि तल्लो तहका मानिसहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने परियोजनाहरू कार्यान्वयन गर्न स्थापना गरिएको थियो । सन् १९९१ देखि नेपालमा २०० भन्दा बढी जीजीपी परियोजनाहरू कार्यान्वयन भइ सकेका छन् ।

यस परियोजनाले त्यहाँका बासिन्दाहरूलाई अझ राम्रो स्वास्थ्य सेवा प्रदान गर्न र जापानका जनता बीचको मित्रतालाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने दूतावासको विश्वास छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!