कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै राष्ट्रिय प्रत्यारोपण केन्द्र


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत शुक्रवार पुनः मात्र एक जना भारतीय चिकित्सकको प्राविधिक सहयोगमा कलेजो प्रत्यारोपण गरेको छ । यसरी मात्र एक जना चिकित्सकको सहयोगले पछिल्लो समय नियमित रुपमा गरिएको कलेजो प्रत्यारोपण को संख्या तिन पुगेको हो ।

विश्व मै जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण केन्द्रमा मिर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा हुँदै आएको छ । हाल सम्म १४ वटा कलेजो प्रत्यारोपण गरेको केन्द्रले निकट भविष्य मै विना कुनै सहयोग आफ्नै क्षमताले कलेजो प्रत्यारोपण गर्न को लागि पछिल्लो केही समय देखी विदेशी विज्ञहरूको सहयोग कम गर्दै पछिल्लो तिन वटा प्रत्यारोपणमा मात्र एक जना को सहयोग लिएको हो ।

यहाँ न्यूनतम शुल्क १५ लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गरेको छ । गत शुक्रवार असोज २६ गते भएको कलेजो प्रत्यारोपणमा भारतको लेकसोर अस्पतालका डा. सिल्भा कुमार नागानाथम ले सघाएका थिए । अंगदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य हुँदै गएको छ । काठमाण्डौ जिल्लाका ६२ बर्षिया सासु लाई उनकी ३७ वर्षीया बुहारीले आफ्नो कलेजो दान दिएकी थिइन ।

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०७३ साल मंसिर २२ गते, दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । यस पछि छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरूको सहयोगले निरन्तरता पाउँदै आएको छ । अझ पछिल्लो ३ वटा कलेजो प्रत्यारोपणमा केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा लिइरहेको डा पुकार बताउँछन् ।

कलेजो प्रत्यारोपणका साथै नेपालमा पहिलो पटक मस्तिष्क मृत्युबाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको सुरुवात गरेको यो केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मृगौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!