एक महिनामा २८ जनाको प्रत्यारोपण, ११ वर्षमा ११२७ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भाद्र महिनामा २८ जनाको प्रत्यारोपण सम्पन्न भएको छ । सत प्रतिशत सफलताका साथ २७ जनाको मिर्गौला र १ जनाको कलेजो प्रत्यारोपण भाद्रमा सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले बताए । स्थापनाको ११ वर्षमा प्रत्यारोपण केन्द्रमा १ हजार १ सय २७ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको हो ।

केन्द्रले नेपालमै पहिलो पटक डा पुकारको नेतृत्वमा २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण र २०७४ वैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपण गरी हाल सम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १० जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

यस्तै आपसी साटासाट (पेयर एक्सचेन्ज) बाट अहिले सम्म ४६ जोडीको मिर्गौला प्रत्यारोपण समेत गरि सकेको छ । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत र स्वास्थ्य सचिव द्वय डा. रोशन पोखरेल एवं देव कुमारी गुरागाँई को सक्रियतामा प्रत्यारोपण केन्द्रले आफ्नो सेवा विस्तारमा थप गति लिदै गएको औँल्याउँदै डा पुकारले यो सफलता प्राप्त गर्नमा केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको अथक प्रयास रहेको बताए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रत्यारोपण केन्द्रको आफ्नै भवन नभएको अवस्था रहे गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश को सुर्खेत प्रादेशिक अस्पतालमा समेत प्रत्यारोपण केन्द्रको सहयोगमा प्रत्यारोपण सेवा सुरु भइ सकेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!