सबै प्रदेशमा सरकारी मेडिकल कलेज नखोलिए भदौ २९ वाट सत्याग्रह गर्ने डा.केसीको चेतावनी


काठमाडौं– प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा ऐन अनुसार यसै वर्षभित्र सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्ने तथा भौगोलिक र जनसङ्ख्याका आधारमा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने सुनिश्चितता नभएमा भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन ।

डा.केसीले सोमवार विज्ञप्ति जारी गर्दै आफ्नो विभिन्न मागहरू पुरा नभए भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने चेतावनी दिएका हुन । केसीले यस अघि समेत साउन २९ गते वाट सत्याग्रह शुरु गर्ने जनाए पनि पछि एक महिनाको लागि फिर्ता लिएका थिए ।

विज्ञप्तिमा विभिन्न मागहरू राखेर गत साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेको मा सरकारका तर्फबाट विभिन्न प्रतिवद्धताहरू आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेको समेत उनले जनाएका छन ।

डा.केसीले एकीकृत प्रतिष्ठान ऐन ल्याउने, पदाधिकारी नियुक्तिका मापदण्डको कानुनी व्यवस्था गर्ने लगायतका ती प्रतिवद्धताहरू कार्यान्वयन नभएमा तथा सबै खाले स्वास्थ्य जनशक्ति उत्पादनका लागि चिकित्सा शिक्षा ऐन अनुसार यसै वर्षभित्र सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्ने तथा भौगोलिक र जनसङ्ख्याका आधारमा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने सुनिश्चितता नभएमा सत्याग्रह गर्ने जनाएका हुन ।

विज्ञप्तिमा विगत चार वर्षमा चिकित्सा शिक्षा आयोगले चरम राजनीतिक दबाबका बीच, माफियाहरूको घेरा बन्दी र प्रधानमन्त्रीको नाजायज हस्तक्षेपका बाबजुद आफ्नो स्वायत्तता र साख बचाउन सक्नुको मुख्य कारण नै यसका पदाधिकारीहरूको निःस्वार्थ भूमिका रहेको उल्लेख छ । त्यही भूमिकाका कारण मेडिकल माफियाहरूको प्रभावमा परेर अहिलेको सरकारले आयोगका तत्कालीन उपाध्यक्षलाई पुनः नियुक्त नगरेर दण्डित गरेको समेत डा.केसी द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!