कलेजो प्रत्यारोपण मा आत्मनिर्भरता तर्फ राष्ट्रिय प्रत्यारोपण केन्द्र/एक सातामा दुई जना गरी हाल सम्म १३ जनाको कलेजो प्रत्यारोपण


भक्तपुर – शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ले पछिल्लो समय कलेजो प्रत्यारोपणमा विदेशी विशेषज्ञहरूको सहयोगमा कमी गर्दै यस पटक मात्र एक जना विदेशी विशेषज्ञको संलग्नतामा एक साता मा दुई जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

कलेजो प्रत्यारोपण शल्यक्रिया प्रकृयामा आत्म निर्भरता तर्फ गइ रहेको केन्द्रले यो वर्ष हाल सम्म ३ जना गरी अहिले सम्म नेपालमा सबैभन्दा बढी १३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

आगामी दिनहरूमा विदेशी विशेषज्ञ चिकित्सकहरू आवश्यक नपर्ने केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठले बताए ।

डा. पुकार कै सक्रियता र नेतृत्वमा केन्द्रले मिर्गौला सँगै कलेजो प्रत्यारोपण समेत शुरु गरेको हो । पहिलो पटक २०७२ साल मंसिर २२ गते बाट डा.श्रेष्ठ कै नेतृत्वमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । केन्द्रले यस अगाडि हुने प्रत्यारोपणमा भारत, कोरिया लगायतका मुलुकबाट विशेषज्ञ टोली को सहयोगमा कलेजो प्रत्यारोपण गर्ने गरे पनि यस पटक एक जना मात्र विज्ञ चिकित्सकको सहयोगमा आफ्नै जनशक्ति बाट दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो ।

गत बिहीवार सल्यानका ५२ वर्षीय कृष्ण बहादुर केसीको कलेजो प्रत्यारोपण गरिएको हो । उनका छोरा २३ वर्षीया किरण केसीले कलेजो दान गरेका थिए । यस्तै गत शनिवार भएको कलेजो प्रत्यारोपणमा ५७ वर्षीया कुमार राईलाई उनकी २१ वर्षीया छोरी प्रतिक्षा राईले कलेजो दान गरेकी थिइन । प्रत्यारोपित र अंगदाता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रका कार्यकारी निर्देशक निर्देशक डा श्रेष्ठले बताए ।

यो साता गरिएको यी दुई वटा कलेजो प्रत्यारोपणमा सघाउन भारत बाट कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा सिल्भा कुमार नागनाथन आएका थिए । केन्द्रमा मात्र १५ लाख सेवा शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार ले कलेजो प्रत्यारोपण सफल पार्न सहयोग गरेका स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री मोहन बहादुर बस्ने, सचिव डा रोशन पोखरेल र देव कुमारी गुरागाँई, मेडिकल काउन्सिल, अन्य संघ संस्था र केन्द्रका कर्मचारीको सहयोग महत्वपूर्ण रहेको जनाउँदै सबैलाई धन्यवाद समेत दिएका दिएका छन् ।

डा.पुकारले सबैको साथ र सहयोगले कलेजो प्रत्यारोपणमा क्रमशः आत्म निर्भरता तर्फ उन्मुख भएको र छिट्टै स्वतन्त्र रूपमा नै प्रत्यारोपण गरिने समेत जनाए ।

हाल सम्म ११०० जनाको सफल मिर्गौला प्रत्यारोपण 

राष्ट्रिय प्रत्यारोपण केन्द ले स्थापनाको ११ वर्ष को समयमा ११०० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रले २०७४ वैशाख २८ गतेबाट पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भए पछि अहिले सम्म पाँच जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला र कलेजो प्राप्त गरी १३ जना सफल प्रत्यारोपण गरेको छ ।

डा.पुकार नेतृत्वको कलेजो प्रत्यारोपण टोली

डा.पुकारको नेतृत्वमा यसै साता दुइ जनामा गरिएको कलेजो प्रत्यारोपण टोलीमा शल्यचिकित्सक डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा राम बाबु साह, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल संलग्न थिए ।

त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकी, डा. समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए भने नर्सिङ्ग तर्फ पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्की लगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाउका थिए । प्रत्यारोपण गर्ने बिरामीको चेक जाँच तथा तयारी कार्य केन्द्रका प्रत्यारोपण कोअर्डिनेरहरु, तारा साँध, शनिषा कार्की, सरु कोजुले गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!