अङ्ग दान सम्बन्धी जन चेतना बढाउन ‘पुनर्जन्म’, वृत्तचित्र सार्वजनिक

कलाकार किरण केसी, श्वेता खड्का, निरुता सिंह, यमन श्रेष्ठ लगायतका कलाकारहरूले अङ्गदान गरे


काठमाडौं– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अङ्ग दान सम्बन्धी जन चेतना बढाउन ‘पुनर्जन्म’, नामक वृत्तचित्र शनिवार एक समारोहका बीच सार्वजनिक गर्यो ।

आफू मरे पछि खरानी भएर जाने अङ्ग दान गरी आठ जनाको ज्यान बचाउन सकिने सन्देश दिने उक्त वृत्तचित्र स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत को प्रमुख आतिथ्यता मा काठमाण्डौको कुमारी हलमा सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले अङ्ग प्रत्यारोपण केन्द्रले प्रदान गरेको सेवाको प्रशंसा गर्दै त्यहाँ आवश्यक पर्ने बजेट तथा भौतिक पूर्वाधार उपलब्ध गराउन आफू सक्दो सहयोग गर्ने बताए ।

मुलुक मै पहिलो पटक केन्द्रले सबै भन्दा जटिल मानिने कलेजो प्रत्यारोपण जस्तो शल्यक्रिया र मस्तिष्क मृत्युबाट प्राप्त अङ्ग हरू प्रत्यारोपण गरेको जनाउदै कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले केन्द्र कै सहयोगमा पोखरा र सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भै सकेको बताए ।

विभिन्न कारणले मुलुकमा वर्षेनी ३ हजार जनाको मिर्गौला फेल, १ हजार जनाको कलेजो फेल सँगै उल्लेख्य सङ्ख्यामा मुटु, फोक्सो तथा अन्य अङ्ग हरु फेल हुने हुँदा ती व्यक्तिहरूलाई अङ्ग प्रत्यारोपण बाट बचाउन सकिन्छ । अङ्ग प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने कार्यक्रम सहित शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो ११ वर्षमा करिब ११ सय मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ सम्पन्न गरेको छ ।

स्वास्थ्य सचिव देव कुमारी गुरागाँईले राष्ट्रिय प्रत्यारोपण केन्द्र एक दशकमै प्रत्यारोपण र स्वास्थ्य क्षेत्रमा फड्को मारेको भएता पनि हाल सम्म आफ्नै भवन नहुदाँ अत्यधिक चाप अनुरूप सेवा प्रवाह गर्न असहज भएको बताइन । सरकारले केन्द्रलाई उच्च प्राथमिकतामा राखी विशिष्टीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तार गर्ने र सोको लागि जग्गा तथा भवनको व्यवस्थापनमा आवश्यक सहयोग गर्न पहल भई रहेको समेत उनले औँल्याइन ।

उक्त कार्यक्रममा कलाकार किरण केसी, श्वेता खड्का, निरुता सिंह, यमन श्रेष्ठ लगायतका कलाकारहरूले अङ्गदान गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!