डब्लूएचओ : कोभिड ‘विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त’ भएको घोषणा


काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओले तीन वर्षअघि कोभिड लाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

डब्लूएचओले सन २०२० को जनवरी ३० तारीख मा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि स्वास्थ्य संकट काल घोषणा गरेको थियो ।

‘ठूलो आशाका साथ म कोभिडको विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गर्दछु,’ डब्लूएचओ का महानिर्देशक डा. टेड्रोसले भनेका छन् ।

‘हिजो, आपतकालीन कमिटीको १५औं बैठक बस्यो र त्यसले मलाई विश्वव्यापी चासोको सार्वजनिक स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्न सिफारिस गरेको थियो । मैले त्यो सुझावलाई स्वीकार गरेँ ।  म कोभिड को विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्दछु,’ डा टेड्रोसले भने । ‘परिस्थितिमा परिवर्तन भए संकटकालीन अवस्था पुन:स्थापित हुन्छ,’ उनले अगाडी थपे ।

यो घोषणा कोभिड महामारी समाप्ति तर्फको महत्त्वपूर्ण पाइलाका रूपमा लिइएको छ । तर धेरै देशहरूले कोभिडको संकट समाप्त भएको घोषणा यसअघि नै गरिसकेका छन् । कोभिड बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्लूएचओको तथ्यांकले जनाएको छ । तर मृत्यु भएको व्यक्तिहरूको संख्या दुई करोड हुनसक्ने जन स्वास्थ्यविद्हरूले जनाएका छन् ।

कोरोनाले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!