असुरक्षित खानाको डरलाग्दो रूप: वर्षमा ८६ करोड ६० लाख बिरामी, १५ लाखको मृत्यु, रासायनिक जोखिम सबैभन्दा घातक


काठमाडौँ – विश्वभर असुरक्षित खानाका कारण हरेक वर्ष करिब ८६ करोड ६० लाख मानिस बिरामी पर्ने र १५ लाखको मृत्यु हुने गरेको डरलाग्दो तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जेनेभामा जारी गरेको नयाँ प्रतिवेदन अनुसार यो समस्याबाट सबै भन्दा बढी ५ वर्षमुनिका बालबालिका प्रभावित छन । कुल मृतक सङ्ख्या मध्ये ७३ प्रतिशतको ज्यान खाना मार्फत शरीरमा पुग्ने सिसा र आर्सेनिक जस्ता घातक रासायनिक पदार्थका कारण जाने गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा असुरक्षित खानाबाट हुने रोगको जोखिम अन्य उमेर समूहको तुलनामा झण्डै तीन गुणा बढी छ। विश्व जनसंख्याको करिब ९ प्रतिशत मात्र रहेका यी बालबालिकामा खाद्यजन्य रोगका झण्डै एक तिहाइ घटना देखिने गरेको डब्लुएचओले जनाएको छ।

विशेष गरी झाडापखाला सम्बन्धी रोगले बालबालिकामा ज्यानै जाने जोखिम बढाउने प्रतिवेदनमा उल्लेख छ। साथै, खाना मार्फत शरीरमा पुग्ने मिथाइल मरकरी र सिसा (लेड) जस्ता रासायनिक पदार्थले बालबालिकाको मस्तिष्क विकासमा असर पार्ने र दीर्घकालीन स्नायविक तथा विकास सम्बन्धी समस्या निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

डब्लुएचओका अनुसार सन २०२१ मा खाद्यजन्य रोगको अधिकांश भार जैविक जोखिमबाट आएको थियो। खाद्य पदार्थ मार्फत सर्ने ब्याक्टेरिया, भाइरस र परजीवीका कारण करिब ८६ करोड मानिस प्रभावित भएका थिए। तर मृत्युका दृष्टिले रासायनिक जोखिम बढी घातक देखिएको छ।

प्रतिवेदन अनुसार दूषित खानासँग सम्बन्धित मृत्युको ७३ प्रतिशत हिस्सा रासायनिक जोखिमसँग जोडिएको थियो। ती मध्ये ४२ प्रतिशत मृत्यु अजैविक आर्सेनिक र ३१ प्रतिशत सिसाको सम्पर्क सँग सम्बन्धित थिए। यी रसायनले मुटुरोग र क्यान्सरको जोखिम बढाउने डब्लुएचओको निष्कर्ष छ।

डब्लुएचओले सन् २००० यता खाद्यजन्य रोगको कुल भार केही घटेको भए पनि क्षेत्रीय असमानता अझै गम्भीर रहेको जनाएकोछ। अफ्रिका र दक्षिण पूर्वी एसियामा सबै भन्दा बढी भार देखिएको छ। यी दुई क्षेत्रले मात्रै विश्वका करिब तीन चौथाइ खाद्यजन्य बिरामी र ६० प्रतिशत मृत्यु ओगटेका छन।

प्रतिवेदनले स्वास्थ्य प्रभाव सँगै आर्थिक क्षतिको पक्ष पनि औंल्याएको छ। सन २०२१ मा खाद्यजन्य रोगका कारण बिरामी भएर काम गर्न नसक्दा करिब ३१० अर्ब अमेरिकी डलर बराबरको उत्पादकत्व गुमेको अनुमान गरिएको छ। देश अनुसार जीवनयापन लागतलाई समायोजन गर्दा यो क्षति ६४७ अर्ब डलर सम्म पुग्ने उल्लेख छ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेसस ले खाद्य सुरक्षा कुनै अमूर्त विषय नभई ‘हरेक भोजन, हरेक परिवार र हरेक दिनसँग जोडिएको सार्वजनिक स्वास्थ्यको विषय’ भएको बताएका छन । उनका अनुसार नयाँ तथ्यांकले पहिलो पटक देशगत रूपमा जोखिमको स्पष्ट तस्वीर दिएको छ, जसले सरकारलाई प्राथमिकताका आधारमा हस्तक्षेप गर्न सहयोग पुर्‍याउनेछ।

डब्लुएचओले १९४ देशका सन २००० देखि २०२१ सम्मका तथ्यांक विश्लेषण गर्दै ४२ प्रकारका प्रमुख खाद्य जोखिमको अध्ययन गरेको जनाएको छ। यसमा ब्याक्टेरिया, भाइरस, परजीवी सँगै धातुजन्य रासायनिक जोखिम, रोटाभाइरस र चागास रोग गराउने ट्रिपानोसोमा क्रुजी समेत समेटिएको छ।

प्रतिवेदनले जलवायु परिवर्तन, खाद्य प्रणालीमा असमानता तथा प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) ले खाद्यजन्य रोगलाई थप जटिल बनाइरहेको जनाएको छ। डब्लुएचओले स्रोत मै प्रदूषण रोक्ने, सुरक्षित कृषि अभ्यास अपनाउने, उद्योगमा कडा नियमन गर्ने, पानी तथा सरसफाइ सुधार्ने र ‘वन हेल्थ’ दृष्टिकोण मार्फत मानव, जनावर, वनस्पति र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा हेर्न सरकारहरूलाई आग्रह गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!