भारतमा इबोला संक्रमणको आशंका, युगान्डाबाट बेङ्गलुरु आएकी महिला आइसोलेसनमा


नयाँ दिल्ली (ब्युरो) – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिकी मुलुकहरूमा इबोला संक्रमणको महामारीलाई लिएर ‘अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको केही दिनमै छिमेकी मुलुक भारतमा एक महिलामा इबोलासँग मिल्दो जुल्दो लक्षण फेला परेको छ। युगान्डाबाट बेङ्गलुरु आइ पुगेकी २८ वर्षीया महिलामा संक्रमणको आशंका गरिए सँगै उनलाई विशेष निगरानीका लागि आइसोलेसनमा राखिएको छ भने उनको नमुना परीक्षणका लागि पुणे पठाइएको छ।

बेङ्गलुरुस्थित केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा आएकी उक्त महिलामा  इबोलासँग मिल्दो जुल्दो लक्षण देखिए पछि उनलाई आइसोलेसनमा राखिएको हो।

ती महिलामा थकान र शरीर दुख्ने जस्ता हल्का लक्षण देखिए पछि सावधानीका रूपमा इन्दिरानगर स्थित एपिडेमिक डिजिज अस्पतालमा भर्ना गरिएको हो। उनको नमुना परीक्षणका लागि पुणे स्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) पठाइएको छ।

कर्नाटक स्वास्थ्य विभागका प्रधान सचिव ऋत्विक रञ्जनम पाण्डेले महिलामा ज्वरो जस्ता स्पष्ट लक्षण भने नदेखिएको बताएका छन। उनका अनुसार विमानस्थल स्वास्थ्य संगठनले प्रारम्भिक रूपमा थकान देखिए पछि परीक्षण गर्ने निर्णय गरेको हो।

स्वास्थ्य अधिकारीहरूका अनुसार युगान्डाबाट बेङ्गलुरु पुगे पछि ती महिला सुरुमा एक होटलमा बसेकी थिइन। पछि शरीर दुख्ने समस्या देखिए पछि उनलाई सरकारी अस्पतालमा सारिएको हो। हाल उनको अवस्था स्थिर रहेको र चिकित्सकीय निगरानीमा राखिएको जनाइएको छ। स्वास्थ्य अधिकारीहरूले पहिलो परीक्षण प्रतिवेदनको प्रतीक्षा भइरहेको बताएका छन। प्रोटोकल अनुसार पुनः परीक्षण पनि गरिनेछ।

अफ्रिकाका केही क्षेत्रमा इबोला संक्रमण बढि रहेको बेला यो घटना सार्वजनिक भएको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मे १७ मा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा बढ्दो इबोला संक्रमणलाई ‘अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको थियो।

यस पछि कर्नाटक स्वास्थ्य विभागले इबोला प्रभावित देशबाट फर्किएका व्यक्तिलाई भारत पुगे पछि २१ दिन सम्म स्वास्थ्य अवस्था माथि निगरानी राख्न र नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै परामर्श जारी गरेको छ।

इबोला किन खतरनाक ?

इबोला एक गम्भीर भाइरल रोग हो, जुन इबोला भाइरसका कारण फैलिन्छ। यो संक्रमण तीव्र रूपमा फैलिन सक्ने र मृत्यु दर पनि उच्च हुने भएकाले विश्व स्वास्थ्य क्षेत्रमा अत्यन्त संवेदनशील रोगका रूपमा हेरिन्छ।

यसका प्रमुख लक्षणमा उच्च ज्वरो, अत्यधिक कमजोरी, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, बान्ता, पखाला, पेट दुख्ने, शरीरमा दाग देखिने तथा आँखा रातो हुने लगायत छन। यो रोग मुख्यतः संक्रमित व्यक्तिको रगत,  र्‍याल, बान्ता लगायत शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कबाट फैलिने चिकित्सकहरूले बताएका छन। अफ्रिकाका केही देशमा समय समयमा यसको प्रकोप देखिने गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!