कर्णालीमा पहिलो पटक मृगौला प्रत्यारोपण, आमाले २२ वर्षीय छोरालाई मृगौला दिए


सुर्खेत– पहिलो पटक प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । सुर्खेत अस्पतालमा त शनिवार २२ वर्षीय पुरुषको सफलता पूर्वक मृगौला प्रत्यारोपण गरिएको हो ।

नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ४ निवासी ४३ वर्षीय आमाले आफ्नो छोरा लाई मृगौला दान गरेकी हुन । शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको हो ।

यो सँगै काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु भएको हो । प्रत्यारोपण केन्द्रको सहयोगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल ६ जनाको मृगौला प्रत्यारोपण गरिएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालको तर्फबाट डा. डम्बर खड्का र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट डा. पुकार चन्द्र श्रेष्ठले सुर्खेत प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण गर्नका लागि गत वर्ष चैत्र १० सम्झौता गरी प्रत्यारोपण सेवा शुरु गर्ने समझदारी गरेको थियो ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. श्रेष्ठको नेतृत्वमा सुर्खेतमा शनिवार मृगौला प्रत्यारोपण सम्पन्न भएको छ । केन्द्रका शल्यचिकित्सक डा. रवि किरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रस्मीत श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दिपा लामिछाने रेडियोलोजिस्ट डा. समिर दवाडी समेत उक्त प्रत्यारोपणमा संलग्न थिए ।

यस्तै प्रत्यारोपणमा प्रदेश अस्पताल कर्णाली प्रदेश सुर्खेतको तर्फबाट डा. डम्वर खड्काको नेतृत्वमा शल्य चिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा. पुजन बल्ल  र डा.जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही लगायतका चिकित्सक टोली र ओटी इन्चार्ज प्रभा रावल  तथा ओटी र आइसीयु मा कार्यरत नर्सिङ कर्मचारीहरू साथै प्रयोगशालाका इन्चार्ज भरत देवकोटा लगायतका कर्मचारीहरू संलग्न थिए ।

उक्त प्रत्यारोपण कार्यको संयोजन डा. गौरव पन्थ र प्रशासकीय अधिकृत हरिहर पोखरेलले र प्रदेश अस्पतालको तर्फबाट अस्पताल नर्सिङ प्रमुख सकुन्तला सापकोटा र प्रशासन प्रमुख बिनोद बस्नेतले गरेका थिए । प्रत्यारोपण कार्यमा सघाउनका लागि प्रत्यारोपण केन्द्रको तर्फबाट ट्रान्सप्लान्ट कोर्डिनेटर सरु कोजु, ओटी स्टाफ नर्स विनिता कुटु, सबिया नागा, आइसीयु स्टाफ नर्स सजना कासुला, देवजना श्रेष्ठ र सीतामाया अवाल रहेका थिए ।

प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना रहेको छ । त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको छ ।

शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म १ हजार ११ जनाको मृगौला र ९ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । मृगौला बिरामीको चापलाई ध्यानमा राख्दै देश व्यापी रूपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा सेवा शुरु गर्न प्राविधिक सहयोग सँगै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!