तीन चिनियाँ डाक्टर को दर्ता निलम्बित, तीन नेपाली डाक्टरसँग स्पष्टीकरण :बालुवाटारको मारिया हस्पिटल अवैध प्रमाणित


काठमाडौं –  नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन अनुमति बिना र क्लिनिकल मापदण्ड अनुरूप नरही सेवा सञ्चालन गरेको आरोप लागेको काठमाडौंको बालुवाटार स्थित मारिया हस्पिटल (मारिया हेल्थ सेन्टर प्रालि ) विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। साथै उक्त संस्थामा कार्यरत तीन जना चिनियाँ चिकित्सकको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरिएको छ भने तीन नेपाली डाक्टरसँग स्पष्टीकरण सोधिएको छ । काउन्सिलले नेपाली चिकित्सकको नाउँ सार्वजनिक गरेको छैन।

काउन्सिलले बिहीबार जारी गरेको सूचना अनुसार विशेष सूचनाका आधारमा गठित अनुगमन टोलीले जेठ १ गते मारिया हस्पिटलको स्थलगत निरीक्षण गरेको थियो।

स्रोतको अनुसार अनुगमन टोली अस्पताल पुग्दा संस्था दर्ता नभएको र मापदण्ड नपुगेको अवस्थामा समेत चिनियाँ चिकित्सकहरू एप्रोन लगाएर, ओपिडी कक्षमा वसी नेपाली विरामीहरूको परीक्षण गरिरहेको, प्रेस्क्रिप्सन लेखिरहेको र ‘पेसेन्ट रेकर्ड बुक’ तथा ‘प्रोसिजर चार्ट’ भरिरहेको पाइएको थियो।

यस्तै अस्पतालमा दुईजना नेपाली चिकित्सक कार्यरत अवस्थामै भेटिएका थिए भने एकजना नेपाली चिकित्सक अनुगमनको समय उपस्थित थिएनन । तर यी तीनै जनाको नाउँ अस्पतालको बोर्डमा उल्लेख गरिएको थियो।

अनुगमन टोलीलाई उक्त अस्पताल को नाममा मिति २०८२/०३/०२ मा ‘मारिया हेल्थ सेन्टर’ का रूपमा कम्पनी दर्ता प्रमाणपत्र र मिति २०८२/०६/२१ मा मुख्य व्यक्ति नारायण तिमिल्सिनाको नाममा ‘मारिया हेल्थ सेन्टर प्रालि’ को व्यवसाय दर्ता प्रमाणपत्र फेला परेको हो ।  तर अस्पतालका रूपमा स्वास्थ्य सेवा दिने कुनै वैध इजाजत नभएको समेत पुष्टि भएको थियो।

अनुगमनका क्रममा अस्पतालसँग नियमनकारी निकाय वा स्थानीय तहबाट अस्पताल सञ्चालन अनुमति पत्र नरहेको पाइएको काउन्सिलले जनाएको छ। साथै काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले समेत उक्त संस्था आवश्यक क्लिनिकल मापदण्ड पूरा नगरी प्रचलित कानुन विपरीत सञ्चालन भइ रहेको पुष्टि गरेको काउन्सिलका निमित्त रजिस्टार डा. दिपेन्द्र पाण्डेले नेपालहेल्थप्रेस लाई बताए । यस आधारमा जेठ १८ गते बसेको काउन्सिलको पूर्ण बैठकले स्थलगत अनुगमन तथा छानबिन प्रतिवेदनको सिफारिस अनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

काउन्सिलले अनुमति नभएको संस्थामा आबद्ध भएर चिकित्सा अभ्यासमा संलग्न रहेको भन्दै चिनियाँ नागरिक चिकित्सक डा. उ सिएनलिन, डा. चेन सिएलिन र डा. लिउ जिकिनको विदेशी नागरिक चिकित्सक अस्थायी दर्ता प्रमाणपत्र तत्कालका लागि निलम्बन गरेको छ। उक्त तीन जना चिकित्सक मध्ये दुई जना नाक कान घाँटी विशेषज्ञ र एकजना युरो सर्जन छन।

त्यसै गरी उक्त संस्थासँग आबद्ध रहेका तथा आफ्नो नाम र अनुमति नम्बर संस्थाको बोर्डमा राखी प्रचार प्रसारमा संलग्न नेपाली चिकित्सकहरूलाई व्यावसायिक आचार संहिता उल्लंघन गरेको विषयमा तीन दिन भित्र काउन्सिल समक्ष उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। सँगै सिडिओ प्रहरी र नगरपालिकाले अस्पताललाई सिलबन्दी गर्न समेत भनिएको डा. पाण्डेले बताए ।

काउन्सिलले अनुमति बिना सञ्चालन भइ रहेको संस्थालाई तत्काल सिलबन्दी गर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ। साथै संस्थाका सञ्चालक तथा सम्बन्धित पक्ष माथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसरलाई समेत अनुरोध गरिएको जनाएको छ।

विदेशी चिकित्सकहरूले भिसा सर्त विपरीत अवैध संस्थामा काम गरेको भन्दै उनीहरूको कार्य सहमति रद्द, गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजी सहित आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन सहित अनुरोध गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले अनुमति बिना सञ्चालन भइरहेका स्वास्थ्य संस्था तथा दर्ता बिनै बिरामी जाँच गर्ने विदेशी वा स्वदेशी चिकित्सक बारे प्रमाण सहित जानकारी भए तत्काल काउन्सिल वा स्थानीय प्रशासनलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। उजुरीकर्ताको गोपनीयता सुरक्षित रहने डा. पाण्डे बताजनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधि गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता काउन्सिलले दोहोर्याएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!