पेन डाउन स्ट्राइक : सरकारी मापदण्ड अनुसारको तलब सुविधा माग्दै बीपीका डाक्टर आन्दोलनमा


धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका हाउस अफिसर (एमबिबिएस गरेका डाक्टर) हरूले तलब र सेवा सुविधा वृद्धिको माग गर्दै सोमबार राति देखि ‘पेन डाउन’ (कलम बन्द) आन्दोलन सुरु गरेका छन।

विगत चार महिनादेखि राखेका मागबारे प्रतिष्ठान प्रशासनसँग सोमवार भएको वार्ता निष्कर्ष विहीन भएपछि चिकित्सकहरूले आकस्मिक बाहेकका सबै क्लिनिकल सेवा ठप्प पारेका हुन। उनीहरूले मङ्गलबार बिहान १० बजे इमर्जेन्सी भवन अगाडि विरोध कार्यक्रम समेत गर्ने घोषणा गरेका छन।

हाउस अफिसर हरूले अर्को सूचना नभएसम्म को लागि आन्दोलन जारी रहने बताएका छन।आन्दोलनबारे उनीहरूले प्रतिष्ठानका निमित्त कार्यालय प्रमुखलाई लिखित जानकारी समेत गराएका छन।

यस अघि हाउस अफिसरहरूले माग सम्बोधन नभए जेठ २२ गतेदेखि आकस्मिक बाहेकका क्लिनिकल सेवा प्रभावित पार्ने चेतावनी दिएका थिए। प्रशासनसँगको पछिल्लो वार्ताले पनि समाधान नदिए पछि उनीहरूले पूर्व घोषित आन्दोलन कार्यान्वयनमा लगेका हुन ।

हाउस अफिसरहरूले चार महिना अघि नै तलब, भत्ता, कार्य घण्टा तथा सेवा सुविधा सम्बन्धी माग राखिएको भए पनि प्रशासनले कुनै ठोस निर्णय नगरेको बताएका छन। उनीहरूले पहिलो पटक २०८२ माघ ४ गते रजिष्ट्रार मार्फत उपकुलपतिलाई निवेदन बुझाएका थिए।

उनीहरूको माग अनुसार आफूहरू स्वास्थ्य सेवाको आठौं तहसरहको पदमा पर्ने भएकाले अर्थ मन्त्रालयले निर्धारण गरेको ४८ हजार ७ सय ३७ रुपैयाँ आधारभूत तलब लागू हुनुपर्ने र नेपाल सरकारको बजेट व्यवस्था अनुसार ५ हजार रुपैयाँ खर्च भत्ता समेत उपलब्ध गराउनुपर्ने माग छ। हाउस अफिसरहरूको दाबी अनुसार हाल प्रतिष्ठानले ३४ हजार ५ सय रुपैयाँ आधारभूत तलब र १५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ। त्यस्तै, श्रम ऐन २०७४ अनुसार सातामा एक दिन अनिवार्य बिदाको व्यवस्था भए पनि विशेषगरी आकस्मिक सेवा विभागमा कार्यरत हाउस अफिसरहरूले नियमित साप्ताहिक बिदा नपाइरहेको बताएका छन।

स्वास्थ्य मन्त्रालयले २०८२ असोज २४ गते जारी गरेको सूचनामा सबै स्वास्थ्य संस्थाले नेपाल सरकारका स्वास्थ्य सेवाका कर्मचारी सरह तलब, भत्ता तथा सुविधा उपलब्ध गराउनुपर्ने तथा तोकिएको कार्यघण्टा भन्दा बढी काममा लगाउन नपाइने व्यवस्था गरेको उल्लेख गर्दै हाउस अफिसरहरूले प्रतिष्ठानमा सो व्यवस्था कार्यान्वयन नभएको बताएका छन।

पछिल्लो चरणमा उनीहरूले ‘क्राइसिस म्यानेजमेन्ट’ अन्तर्गत सिनेट बैठक अघि नयाँ कन्ट्र्याक्ट तयार गर्नुपर्ने, रात्रिभत्ता, खाजा भत्ता र आवास भत्ता तत्काल लागू गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन।

यसअघि पनि उनीहरूले रात्री सेवा भत्ता, क्वार्टर सुविधा, खाना भत्ता, सट्टा बिदा, खाजा ब्रेक तथा सरकारले तोकेको मापदण्ड अनुसार क्लिनिकल कार्यघण्टा निर्धारण गर्नुपर्ने माग राख्दै आएका थिए।

हाउस अफिसरहरूले आन्दोलनबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी प्रतिष्ठान प्रशासनले लिनुपर्ने उल्लेख गर्दै मागहरूको तत्काल सम्बोधन गर्न आग्रह गरेका छन। प्रतिष्ठान प्रशासनको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!