अन्धोपन निवारणमा सहकार्य गर्दै स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघ


काठमाडौं -दुर्गम क्षेत्र सम्म आँखा उपचार सेवा विस्तार गर्ने एवं स्वास्थ्य पर्यटन प्रवर्द्धनमा समेत सहकार्य गरिने उद्देश्य सहित स्वास्थ्य मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच अन्धोपन निवारणमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

शुक्रबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थिति मा सम्पन्न उक्त कार्यक्रममा मन्त्रालयका तर्फबाट स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेल र नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्दले हस्ताक्षर गरे।

समझदारी अनुसार नेत्रज्योति संघद्वारा सञ्चालनमा रहेका कार्यक्रमलाई सहयोग पुर्‍याउने गरी मन्त्रालयले प्रदेश र स्थानीय सरकारहरूसँग समन्वय तथा सहजीकरण गर्नेछ। संघले भने देशका दुर्गम र सेवा नपुगेका क्षेत्रमा आँखा उपचार सेवा विस्तार गरी लक्षित समुदायलाई सहुलियत पूर्ण सेवा उपलब्ध गराउनेछ।

त्यसै गरी, मन्त्रालयले आँखा उपचार सेवालाई स्वास्थ्य पर्यटनको रुपमा प्रवर्द्धन गर्न, सरकारले छात्रवृत्तिमा तयार गरेका आँखा स्वास्थ्य सम्बन्धी जनशक्ति संघ अन्तर्गतका अस्पतालमा परिचालन गर्न र भन्सार छुटलगायत सहजीकरणका कार्यमा सहयोग गर्नेछ।

नेत्रज्योति संघले सञ्चालित आँखा अस्पतालहरू लाई उपचार, अनुसन्धान तथा शैक्षिक केन्द्रका रूपमा विस्तार गरी ‘राष्ट्रिय स्वास्थ्य जनशक्ति रणनीति, २०७७–२०८७’ अनुसार आवश्यक जनशक्ति उत्पादनमा पनि सहयोग पुर्‍याउने जनाएको छ।

नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार, संघले सरकारको राष्ट्रिय स्वास्थ्य नीति, २०७६, राष्ट्रिय स्वास्थ्य क्षेत्र रणनीतिक कार्य योजना, २०७९–२०८७ र आँखा स्वास्थ्य रणनीति, २०७९ अनुसार मन्त्रालयसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने छ।

समझदारी पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा गुणस्तरीय र सुलभ भएको उल्लेख गर्दै यसले स्वास्थ्य पर्यटन को विकासमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

महासचिव चन्दले नेपाल सरकारको सहयोगमा सञ्चालित आँखा उपचार सेवाले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको उल्लेख गर्दै नयाँ समझदारीले अन्धोपन निवारण अभियानलाई थप गति दिने विश्वास व्यक्त गरे।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!