डा. गोविन्द केसी : म्यानमार भूकम्प पीडितका लागि आफ्नै खर्चमा १६ दिनको निःशुल्क सेवा


माण्डले (म्यानमार) – सन् २०२५ मार्च २८ मा म्यानमारमा गएको ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि नेपाली हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसीले माण्डले सहरका घाइतेहरू लाई आफ्नै खर्चमा १६ दिन सम्म निःशुल्क उपचार सेवा दिएका छन्।

भूकम्पले सागाइन, माण्डले प्रदेश र राजधानी नेपितोमा ठूलो क्षति पुर्‍याएको छ। सैनिक सरकार का अनुसार मृतकको संख्या करिब ४ हजार पुगेको छ भने गैर सरकारी स्रोतहरू मृतक र बेपत्ता हुनेहरूको संख्या करिब ६ हजार रहेको उल्लेख गर्छन्।

‘म्यानमारको लोकतान्त्रिक आवाज’ संस्थाका अनुसार घाइतेहरूको संख्या ११ हजार नाघिसकेको छ । सुरक्षित स्थानतर्फ पलायन भएकाहरू र ढिला गरी उपचारका लागि आएका पीडितहरू समेट्दा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।

प्रभावित सहरहरूमा माण्डले सबैभन्दा बढी क्षतिग्रस्त बनेको थियो। डा. केसीले माण्डले अर्थोपेडिक अस्पताल र माण्डले जनरल अस्पतालमा सर्जरी, आकस्मिक सेवा, ओपिडी सेवा र वार्ड राउन्डका साथै स्नातक तथा स्नातकोत्तर तहका मेडिकल विद्यार्थीहरूलाई तालिम प्रदान गर्दै सेवा पुर्‍याए ।

यो डा. केसीको म्यानमार प्रतिको दोस्रो सेवा यात्रा हो । यसअघि सन् २००८ मा ‘साइक्लोन नरगिस’ को बेला पनि उनले म्यानमार पुगेर राहत तथा स्वास्थ्य सेवा दिएका थिए।

यस पटक सेवा पुर्‍याउन आधिकारिक स्वीकृति पाउन कठिनाइ भए पनि नेपाली राजदूतावास र स्थानीय वर्मेली चिकित्सकहरूको पहलमा औपचारिक अनुमति बिना नै उपचार सेवा सञ्चालन गरिएको थियो।

सेवा अवधिमा भाषा एक प्रमुख चुनौती बनेको थियो। तर वर्मेली चिकित्सक तथा मेडिकल विद्यार्थीहरू को अनुवाद सहयोगले उपचार सहज भएको डा. केसीले बताए । डा. केसीले यस पटक पनि सम्पूर्ण यात्रा तथा सेवा खर्च आफ्नै लगानीमा वहन गरेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!