मधेशका मुख्यमन्त्री द्वारा मापदण्ड विपरीत सञ्चालित अस्पतालहरू बन्द गर्न कडा निर्देशन

रौतहट – मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
रौतहटको गरुडा र शिवनगर क्षेत्रमा गरिएको छड्के अनुगमनका क्रममा यी अस्पतालहरू मा आवश्यक मापदण्ड पूरा नगरिएको पुष्टि भए पछि मुख्यमन्त्री सिंहले तत्काल कारबाही को आदेश दिएका हुन्।
मुख्यमन्त्रीको सचिवालयका अनुसार गरुडामा सञ्चालित अनामीका, रोमा, सरस्वती, सन सिटी अस्पताल तथा शिवनगर स्थित आनन्द हस्पिटल एण्ड एक्युपञ्चर सेन्टर लगायतका अस्पतालहरू गैरकानुनी रूपमा सञ्चालन भइरहेको पाइए पछि बन्द गर्न निर्देशन दिइएको हो।
स्वास्थ्य सेवा मापदण्ड पूरा नगर्ने, योग्य तथा दक्ष चिकित्सकको अभाव, अव्यवस्थित प्रयोगशाला, औषधि व्यवस्थापनमा लापरबाही लगायतका कारणले जनस्वास्थ्य मा गम्भीर असर पार्ने अवस्था सिर्जना भएकाले कडा कदम चालिएको मुख्यमन्त्री सिंहले बताएका छन्।
प्रदेश सरकारले यसअघि पनि विभिन्न जिल्ला मा सञ्चालनमा रहेका अवैध स्वास्थ्य संस्थाहरूमा कारबाही गर्दै आएको र आगामी दिनमा स्वास्थ्य सेवा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कडा अनुगमन गरिने समेत उनले स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस