नेपालः भूकम्प पीडित ६८ हजार बालबालिका लाई मानवीय सहायता आवश्यक


काठमाडौं– गत कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला लाई केन्द्र विन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले नेपालको पश्चिमी भूभाग हल्लायो । यस प्रकोपमा १ सय ५४ जनाको ज्यान गएको थियो भने ३ सय ६६ जना घाइते भएका थिए । मृत्यु हुनेमा आधा संख्या अर्थात ८१ जना बालबालिका थिए ।

भूकम्पले घर, विद्यालय, स्वास्थ्य केन्द्र र खानेपानी प्रणालीमा समेत क्षति पुर्यायो, र बालबालिकाका लागि धेरै महत्वपूर्ण सेवाहरू समेत प्रभावित भए ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले ६८ हजार बालबालिका सहित करिब दुई लाख मानिसलाई अझै पनि आफ्नो जीवन ट्रयाकमा ल्याउन मानवीय सहायता आवश्यक रहेको जनाएको छ । यी मध्ये ठूलो सङ्ख्यामा मानिसहरू जाडो मौसममा अस्थायी टहरामा जीवन बिताइरहेका छन् ।

नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङगा ले भूकम्प गएको तीन महिना बिती सक्दा पनि अत्यधिक जाडोमा दैनिक हजारौं बालबालिकाले कष्ट भोग्दै आएको बताए ।

‘उनीहरू अझै पनि आफ्नो प्रियजन गुमाएकाले आघातमा छन् । आफ्नो सम्पत्ति, घर र विद्यालय लगायत अन्य चीजहरू गुमाएपछि उनीहरूको विकास जोखिममा छ ।’

युनिसेफका प्रतिनिधिले बालबालिकालाई अझै पनि पोषणयुक्त खाना, सफा पानी, शिक्षा र आवास लगायत अन्य वस्तु तथा सेवाको आवश्यकता रहेको बताए ।

‘बालबालिकाको जीवन बचाउने र उनीहरूलाई सामान्यताको अनुभूति दिने उत्तम तरिका भनेको उनीहरूलाई पुनः विद्यालयमा ल्याउनु हो ताकि उनीहरू आफ्ना साथीहरू सँग खेल्न, सिक्न र पुनः यो दुख वाट बाहिर आउन सकोस ।’

भूकम्प गए लगत्तै युनिसेफले नेपाल सरकार र यसका साझेदार संस्थाहरू सँग मिलेर बालबालिका र उनीहरूका परिवारलाई तिरपाल, कम्बल, मेडिकल टेन्ट, सरसफाइका सामग्री र अन्य सामग्री उपलब्ध गराएको थियो ।

भूकम्पका कारण पश्चिम नेपालका ८ सय ९८ विद्यालय भवनमा क्षति पुगेको छ भने १ लाख ३४ हजार बालबालिकाको शिक्षा प्रभावित भएको छ । ती मध्ये करिब १७ हजार बालबालिका अहिले विद्यालय फर्किएका छन्, जसका लागि युनिसेफले आफ्ना साझेदार संस्थाहरू सँग मिलेर २ सय २३ अस्थायी शिक्षा केन्द्रहरू स्थापना गरेको थियो ।

यस बाहेक, क्षतिग्रस्त विद्यालय भवनहरू मर्मत नभए सम्म सङ्क्रमणकालीन केन्द्रहरू पनि स्थापना गरि राखिएको छ, ताकि कडा मौसममा पनि पढाइ जारी राख्न सकियोस् ।

युनिसेफले स्थानीय सरकार र नातेदारहरू सँगको सहकार्यमा ५ सय ६५ क्षति ग्रस्त शौचालयको मर्मत र २ सय ५१ नयाँ अस्थायी शौचालय उपलब्ध गराइएको जनाएको छ ।

यसको समानान्तर रूपमा, दादुरा, रुबेला र टाइफाइड जस्ता घातक रोगहरू विरुद्ध बालबालिकालाई खोप लगाउन नेपाल सरकारको अभियानलाई सहयोग प्रदान गरिएको छ ।

युनिसेफका प्रतिनिधिले बालबालिका र उनीहरूका परिवारलाई सहयोग उपलब्ध गराउन अझै धेरै कदम चाल्न आवश्यक रहेकोमा जोड दिएका छन ।

यसअघि युनिसेफले राहत कार्यलाई अगाडि बढाउन १.५७ करोड डलरको अपिल जारी गरेको थियो, जसमध्ये ७ प्रतिशत रकम को मात्रै प्रबन्ध हुन सकेको छ ।

यसैलाई ध्यानमा राख्दै युनिसेफले बालबालिकालाई जीवन बचाउने सहयोग पुर्‍याउनका लागि थप १.४७ करोड डलर अतिरिक्त रकमको अपिल गरेको छ , जसले बच्चा सम्म जीवन रक्षक र समर्थन पुर्याउन सकियोस् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!