विश्व डुबाइ रोकथाम दिवस
जलवायु परिवर्तनले बढाउँदैछ डुब्ने जोखिम: वार्षिक ३ लाखको मृत्यु रोक्न डब्ल्यूएचओको नयाँ रणनीति
काठमाडौँ-विश्व भर हरेक वर्ष करिब ३ लाख मानिसले डुबेर अकाल मै ज्यान गुमाउने गरेका छन, जसमा ५ देखि १४ वर्षका बालबालिकाको संख्या सबै भन्दा डराउदो छ। जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण यो जोखिम झनै घातक बन्दै गइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डुबेर हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य सहित सात बुँदे ‘प्रोटेक्ट’ रणनीति सार्वजनिक गरेको छ।
‘वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे’ अर्थात विश्व डुबाइ रोकथाम दिवस (२५ जुलाई) को अवसरमा सार्वजनिक गरिएको उक्त ढाँचाले सन २०३५ सम्म डुबेर हुने मृत्यु ३५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ।
डब्ल्यूएचओका अनुसार विश्व भर हरेक वर्ष करिब ३ लाख मानिस डुबेर ज्यान गुमाउँछन। डुबाइ ५ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको मृत्युको प्रमुख १० कारण मध्ये एक हो। विश्वका ९० प्रतिशतभन्दा बढी डुबेर हुने मृत्यु न्यून तथा मध्यम आय भएका देशहरूमा हुने गरेका छन।
दक्षिण पूर्वी एसिया क्षेत्रमा मात्रै हरेक वर्ष करिब ८३ हजार मानिसको डुबेर मृत्यु हुने गरेको छ। नदी, पोखरी, ताल, इनार, घरमा पानी भण्डारण गरिएका भाँडा, पौडी पोखरी, तटीय क्षेत्र तथा बाढी प्रभावित समुदायमा बस्ने मानिसहरूका लागि यो जोखिम दैनिक चुनौती बनेको डब्ल्यूएचओले जनाएको छ।
डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयकी कार्यवाहक प्रमुख डा. क्याथारिना बोएमेले डुबाइ रोकथाम कुनै एक मन्त्रालय वा निकायको मात्र जिम्मेवारी नभई सरकार, विद्यालय, स्वास्थ्यकर्मी, यातायात क्षेत्र, विपद् व्यवस्थापन निकाय, समुदाय, परिवार र युवाको साझा दायित्व भएको बताएकी छन।
जलवायु परिवर्तनले बढायो जोखिम
डब्ल्यूएचओका अनुसार जलवायु परिवर्तनका कारण बाढी, आँधीबेहरी र अत्यधिक गर्मी (हिटवेभ) का घटना बढ्दै जाँदा डुबाइको जोखिम पनि तीव्र रूपमा बढिरहेको छ। बेलायतमा गरिएको एक अध्ययन अनुसार तापक्रम प्रत्येक १ डिग्री सेल्सियस बढ्दा डुबेर हुने मृत्यु ७.२ प्रतिशतले बढ्ने देखिएको छ। २५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रम भएका दिनमा डुब्ने जोखिम १० डिग्री भन्दा कम तापक्रम भएका दिनको तुलनामा करिब पाँच गुणा बढी हुने अध्ययनले देखाएको छ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससले अधिकांश डुबाइका घटना रोक्न सकिने बताउँदै पानी यातायात सुरक्षित बनाउने, विद्यालयका बालबालिकालाई पौडी सिकाउने र बाढीका लागि पूर्वतयारी गर्ने जस्ता उपायले धेरै जीवन बचाउन सकिने बताएका छन।
उनले भने, ‘हरेक डुबाइ एउटा दुःखद घटना हो र अधिकांश डुबाइ रोक्न सकिन्छ। डुबाइ रोकथाम कुनै एउटा मन्त्रालयको मात्र जिम्मेवारी होइन, यो सबैको साझा दायित्व हो।’
नेपाल:सहित दक्षिण पूर्वी एसियामा सुधार
सन २००० यता विश्व भर डुबेर हुने मृत्युदर ३८ प्रतिशत ले घटेको छ भने दक्षिण पूर्वी एसिया क्षेत्रमा यो दर झन्डै आधाले घटेको छ।
बंगलादेशमा समुदायमा आधारित बाल हेरचाह र जीवन रक्षक पौडी कार्यक्रम, थाइल्यान्डको ‘मेरिट मेकर’ कार्यक्रम, श्रीलंकाको ‘सर्युरु’ मौसम पूर्वसूचना प्रणाली तथा भारतका बहुक्षेत्रीय कार्यक्रमले डुबाइका घटना घटाउन उल्लेखनीय योगदान पुर्याएका छन।
नेपालले पनि बाढी पूर्व तयारी र प्रारम्भिक चेतावनी प्रणालीलाई सुदृढ बनाउँदै डुबाइ रोकथाम सम्बन्धी राष्ट्रिय रणनीति तयार गर्ने प्रक्रिया अघि बढाएको डब्ल्यूएचओले जनाएको छ। माल्दिभ्स सहित अन्य सदस्य राष्ट्रहरूले पनि पानी वरपरको सुरक्षा सुनिश्चित गर्न रणनीति र कार्ययोजना विकास गरि रहेका छन।
‘प्रोटेक्ट’का सात रणनीति
- डब्ल्यूएचओले सार्वजनिक गरेको ‘प्रोटेक्ट’ प्राविधिक प्याकेजमा डुबेर हुने मृत्यु रोक्न सात प्रमुख रणनीति समावेश छन।
- पानीसँग सुरक्षित सम्पर्कका लागि भौतिक पूर्वाधार विकास
- उद्धार तथा पुनर्जीवन (रेस्क्यु र सीपीआर) क्षमता सुदृढीकरण
- पानी आसपास हुने काममा व्यावसायिक सुरक्षा सुनिश्चित गर्ने
- जल यातायातका लागि सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने
- आधारभूत पौडी र जल सुरक्षा शिक्षा विस्तार गर्ने
- सुरक्षित बाल हेरचाह प्रणाली विकास गर्ने
- बाढी तथा अन्य विपद्का लागि पूर्वतयारी र पूर्वसूचना प्रणाली सुदृढ गर्ने
यस वर्षको विश्व डुबाइ रोकथाम दिवसको नारा ‘युनाइट टु टर्न द टाइड’ अर्थात ‘डुबाइ रोकथामका लागि सबै मिलेर अघि बढौँ’ राखिएको छ। डब्ल्यूएचओले सरकार, विद्यालय, स्वास्थ्य संस्था, यातायात क्षेत्र, विपद् व्यवस्थापन निकाय, समुदाय र परिवार बीच समन्वित प्रयास मार्फत डुबेर हुने अधिकांश अकाल मृत्युलाई रोक्न सकिने भन्दै प्रमाणमा आधारित नीति र कार्यक्रममा लगानी बढाउन सदस्य राष्ट्रहरूलाई आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस