बीपी प्रतिष्ठान धरानमा नयाँ विद्यार्थीलाई ‘बायोइथिक्स’ पाठ: ‘शान्तिका लागि बायोइथिक्स’ राष्ट्रिय प्रतियोगिता हुँदै
धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ भर्ना भएका चिकित्सा तथा स्वास्थ्य विज्ञानका विद्यार्थीहरूलाई पेसागत आचरण र नैतिक मूल्य मान्यता सिकाउन ‘बायोइथिक्स’ (जैवनीति) सम्बन्धी अभिमुखीकरण गरिएको छ।
भविष्यका स्वास्थ्यकर्मीहरूलाई चिकित्सा क्षेत्रमा आइपर्ने नीतिगत द्विविधा सुल्झाउन र जिम्मेवार बनाउन आयोजित यो कार्यक्रमसँगै यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘शान्तिका लागि बायोइथिक्स’ मा आधारित रहेर राष्ट्रिय स्तरको सिर्जनात्मक प्रतियोगिता समेत घोषणा गरिएको छ।
प्रतिष्ठानको बायोइथिक्स नेपाल एकाइ र विद्यार्थी संकायको संयुक्त आयोजनामा शुक्रबार भएको कार्यक्रममा एमबीबीएस, बीडीएस, नर्सिङ, एमडी, एमएसलगायत विभिन्न स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रममा हालै भर्ना भएका विद्यार्थीहरूको सहभागिता थियो।
बायोइथिक्स नेपाल एकाइका प्रमुख तथा मानसिक रोग विभागका प्रमुख प्रा. डा. धनरत्न शाक्यको सभापतित्वमा भएको कार्यक्रम को मुख्य सत्रमा प्रा. डा. शाक्यले स्वास्थ्य विज्ञानसँग सम्बन्धित नैतिक तथा नीतिगत प्रश्नहरूबारे प्रकाश पार्दै विद्यार्थी जीवनदेखि नै जैवनीति र यसका सिद्धान्तहरू बुझेर व्यवहारमा उतार्न सके चिकित्सा क्षेत्रमा सफल र जिम्मेवार स्वास्थ्यकर्मी बन्न सकिने बताए।
डा.शाक्यले स्वास्थ्य सेवा, शिक्षण र अनुसन्धानलाई नैतिक तथा जिम्मेवार बनाउन बायोइथिक्स नेपाल एकाइले आफ्नो स्थापना सन २०१४ देखि तथा विश्व बायोइथिक्स दिवसको सुरुआत भएको सन २०१६ देखि विद्यार्थी संकाय सँगको सहकार्यमा हरेक वर्ष यस्ता अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
विद्यार्थी संकायकी सदस्य नीलम दाहालले सञ्चालन गरेकी उक्त कार्यक्रममा बायोइथिक्स नेपाल एकाइका सदस्य डा. अशोक ऐरले चिकित्सा पेसामा हानि न्यूनीकरण, सेवाग्राहीको हित, मानव मूल्य, न्याय तथा व्यावसायिक आचरणसँग सम्बन्धित जैवनीतिका आधारभूत सिद्धान्त बारे जानकारी दिए।
‘शान्तिका लागि बायोइथिक्स’ विषयमा राष्ट्रिय प्रतियोगिता
प्रा. डा. शाक्यले सन् २०२६ को अन्तर्राष्ट्रिय विश्व बायोइथिक्स दिवसको नारा ‘शान्तिका लागि बायोइथिक्स’ (बायोएथिक्स फर पिस) तय भएको जानकारी दिए। यही विषय वस्तुमा नेपाल भरिका स्वास्थ्य विज्ञानका विद्यार्थीहरू बीच कविता, निबन्ध, आर्ट पोस्टर, अनुसन्धान पोस्टर तथा अन्य सिर्जनात्मक प्रतियोगिताहरू जुलाई र अगस्ट महिनामा आयोजना गरिने उनले बताए।
उनका अनुसार प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट सिर्जनाहरूलाई विगतका वर्षहरू झैँ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ। यस्ता गतिविधिले भावी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नीतिगत द्विविधा समाधान गर्न, सही निर्णय लिन तथा नैतिक मूल्य र जैवनीति प्रति अध्ययन, चिन्तन र सिर्जनात्मक अभिव्यक्ति विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस