शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु, १४ वर्षमा ३७ कलेजो र १,६६६ मिर्गौला प्रत्यारोपण


भक्तपुर- आफ्नै जग्गा र भवनको अभावका बिच मुलुककै दुई तिहाइ प्रत्यारोपण धानिरहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सुरु भएको छ । सेवा ब्युँतिए सँगै काठमाडौँ असनकी ३९ वर्षीया गंगा श्रेष्ठलाई उनका ४७ वर्षीय देवर संजय श्रेष्ठले आधा कलेजो दान दिएर नेपालमै संसारकै सम्भवतः सबैभन्दा न्यूनतम शुल्क (१५ देखि २० लाख रुपैयाँ) मा सफल प्रत्यारोपण गरिएको छ, जसले नेपालीहरू उपचारका लागि विदेशिनुपर्ने बाध्यतालाई बलियो चुनौती दिएको छ ।

केन्द्रका अनुसार गंगा श्रेष्ठको असार १९ गते कलेजो प्रत्यारोपण गरिएको थियो। उनलाई उनकी ४७ वर्षीय देवर संजय श्रेष्ठले आफ्नो कलेजोको आधा भाग दान गरेका हुन। गंगा प्रत्यारोपण भएको ११औँ दिन अर्थात असार २९ गते सकुशल डिस्चार्ज भएकी हुन भने कलेजो दाता संजय श्रेष्ठ प्रत्यारोपणको छैटौँ दिन अर्थात असार २५ गते नै अस्पतालबाट डिस्चार्ज भइ सकेका थिए।

कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. रामबाबु साहका अनुसार कलेजो ग्रहणकर्ता र दाता दुवैको स्वास्थ्य अवस्था सामान्य र सन्तोषजनक रहेको छ। दुवैले आफ्नै देशमा सहज रूपमा कलेजो प्रत्यारोपण सेवा लिन पाएकोमा खुसी व्यक्त गरेका छन।

केन्द्रले नेपालमै संसार कै सबैभन्दा न्यून शुल्क मध्ये पर्ने १५ देखि २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। विदेशमा यही उपचारका लागि धेरै गुणा बढी खर्च लाग्ने भएकाले नेपाल मै यस्तो सेवा उपलब्ध हुनु बिरामीका लागि ठूलो राहत बनेको केन्द्रको भनाइ छ।

केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपण सेवा सुरु गरेर अङ्गदान र प्रत्यारोपण क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।

उनका अनुसार विगत १४ वर्षमा केन्द्रले ९९ प्रतिशतभन्दा बढी सफलताका साथ १,६६६ जनाको मिर्गौला र ३७ जनाको कलेजो प्रत्यारोपण गरि सकेको छ। उपयुक्त जग्गा र आफ्नै भवनको अभाव हुँदाहुँदै पनि केन्द्रले विश्वस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउँदै आएको र देशभर हुने कुल प्रत्यारोपण मध्ये करिब दुई तिहाइ प्रत्यारोपण यही केन्द्रबाट हुने गरेको डा. श्रेष्ठले बताइन।

कलेजो प्रत्यारोपण मा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टोली

डा. राम बाबु साहको नेतृत्वमा भएको यस प्रत्यारोपण कार्यमा अस्पतालका विभिन्न विभागका विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोली सक्रियताका साथ खटिएको थियो।

शल्यक्रिया टोली: डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ र डा. अमित यादव।

एनेस्थेसिया तथा क्रिटिकल केयर: विभागीय प्रमुख डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिव सुन्दर राजचल, डा. सन्देश खाउजु र डा. रिती फुँयाल।

रेडियोलोजी विभाग: विभागीय प्रमुख डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जि एलीन र इन्दु मिमिरे।
मुटुरोग (कार्डियोलोजी) विभाग: विभागीय प्रमुख डा. प्रवेश न्यौपाने र डा. सचिन लामिछाने।

प्याथोलोजी विभाग: विभागीय प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे र ल्याब इन्चार्ज विन्दिरा जोशी।

ग्यास्ट्रोइन्टेरोलोजी विभाग: विभागीय प्रमुख डा. कर्ण राजवंशी र डा. शेखर पौड्याल।

यस्तै, निमित्त नर्सिङ निर्देशक सनिषा कार्कीको नेतृत्वमा २१ जना नर्सिङ स्टाफको टोलीले उपचार र हेरचाहमा सहयोग गरेको थियो। ओटी व्यवस्थापन अमर महर्जनको टोलीले सम्हालेको थियो भने डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिष्ट शोनि शिख्वाल पनि यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न थिए।

उपसचिव राम प्रसाद आचार्य, जय कुमार कटुवाल र शाखा अधिकृत हरिहर पोखरेलले यसको व्यवस्थापकीय जिम्मेवारी पूरा गरेका थिए। प्रत्यारोपणको समन्वय डा. निरु शर्मा, डा. बृजेश यादव, तारा सााध, सरु कोजु र पूजा खड्काले गरेका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!