काठमाडौं क्यान्सर सेन्टरमा नेपालकै पहिलो कार-टी सेल थेरापी, बोन म्यारो ट्रान्सप्लान्ट सेवा पनि सुरु हुँदै
काठमाडौं- भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलो पटक कार-टी सेल थेरापी सेवा सुरु गर्ने तयारी गरेको छ। सेन्टरले बोन म्यारो ट्रान्सप्लान्ट सेवा पनि सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ। अस्पतालले यी सेवासँगै अत्याधुनिक क्यान्सर उपचार प्रविधि र अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य विस्तार गरेको जानकारी दिएको हो।
शनिबार आयोजित पत्रकार सम्मेलनमा सेन्टरले विश्वका करिब ३५ देशमा मात्र उपलब्ध कार-टी सेल थेरापी नेपालमा सुरु गर्न आवश्यक पूर्वाधार तयार भइसकेको जनाएको छ। विशेषगरी रक्तजन्य क्यान्सर, विशेषतः ल्युकेमिया र लिम्फोमाको उपचारमा प्रभावकारी मानिने यो सेवाका लागि भारत र जर्मनीका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार बोन म्यारो ट्रान्सप्लान्ट सेवा सञ्चालनमा आएपछि रक्तसम्बन्धी जटिल रोग तथा क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्ने अवस्था उल्लेखनीय रूपमा घट्नेछ। यसबाट बिरामी र उनीहरूका परिवारमा पर्ने आर्थिक तथा मानसिक भार पनि कम हुने अपेक्षा गरिएको छ।
सेन्टरले अत्याधुनिक स्टेरियोट्याक्टिक लिनियर एक्सेलेटर (लिन्याक) उपकरण पनि सञ्चालनमा ल्याएको जनाएको छ। यो प्रविधिबाट मस्तिष्कका केही प्रकारका ट्युमरमा शल्यक्रिया नगरी उच्च सटीकताका साथ रेडियोथेरापी उपचार गर्न सकिन्छ ।
अस्पतालका अनुसार बोन म्यारो ट्रान्सप्लान्टका लागि आवश्यक टोटल बडी इरेडिएसन (टीबीआई), छालाको टी-सेल लिम्फोमा उपचार तथा इन्टरस्टिसियल ब्राकीथेरापी सेवा हाल नेपालमा काठमाडौं क्यान्सर सेन्टरमा मात्र उपलब्ध छ। यस प्रविधिबाट ओठ, मुख, फोक्सो, कलेजो तथा पुनः देखिएका स्त्रीरोग सम्बन्धी केही जटिल क्यान्सरको शल्यक्रिया विना उपचार गर्न सकिने अस्पतालले जनाएको छ।
क्यान्सर बिरामीको जीवनस्तर सुधार, प्रभावकारी दुखाइ व्यवस्थापन तथा सहायक उपचारलाई सुदृढ बनाउन सेन्टरले बेलायतको किङ्स कलेज र जापानका विश्वविद्यालयहरूसँगको सहकार्यमा पेन तथा प्यालिएटिभ केयर रिसर्च प्रोग्राम पनि सञ्चालनमा ल्याएको जनाएको छ।
वि.सं. २०७३ मा नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञ चिकित्सकहरूको पहलमा स्थापना भएको काठमाडौं क्यान्सर सेन्टरले नेपाली क्यान्सर बिरामीलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यका साथ सेवा दिँदै आएको छ। अस्पतालमा प्रत्येक जटिल क्यान्सर बिरामीको उपचार योजना रेडियसन अन्कोलोजी, मेडिकल अन्कोलोजी, सर्जिकल अन्कोलोजी, रेडियोलोजी र प्याथोलोजीका विशेषज्ञ सम्मिलित ट्युमर बोर्ड ले तय गर्ने व्यवस्था रहेको छ।
हाल सेन्टरमा रेडियोथेरापी, केमोथेरापी, लक्षित उपचार, इम्युनोथेरापी, विभिन्न प्रकारका क्यान्सर शल्यक्रिया, मोलिकुलर डायग्नोस्टिक्स, सिटी स्क्यान, आईसीयू, प्यालिएटिभ केयर तथा क्यान्सर पुनःस्थापना सेवा समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस