इबोलाको घातक ‘बुन्दिबुग्यो’ भाइरस पत्ता लगाउने पहिलो परीक्षण विधिलाई डब्ल्यूएचओको स्वीकृति


काठमाडौँ-कंगो र युगान्डामा इबोला भाइरसको घातक प्रजाति तीव्र रूपमा फैलिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसको प्रारम्भिक पहिचान गर्ने पहिलो मोलिक्युलर डायग्नोस्टिक परीक्षण विधिलाई आफ्नो आपत्कालीन प्रयोग सूची (ईयूएल) मा समावेश गरेको छ।

रगतको नमुनाबाट भाइरसको आनुवंशिक पदार्थ पत्ता लगाउने यो प्रविधिले घातक बन्दै गएको इबोला बुन्दिबुग्यो (बीडीबीभी) प्रकोप नियन्त्रण र सङ्क्रमितको समयमै उपचारमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

डब्ल्यूएचओले यो निर्णय यस्तो समयमा गरेको हो जब बुन्दिबुग्यो भाइरसका कारण फैलिएको इबोला महामारी तीव्र रूपमा विस्तार भइरहेको छ। हालसम्म कंगोमा मात्रै प्रयोगशालाबाट पुष्टि भएका १ हजार ४ सय ६ सङ्क्रमित भेटिएका छन भने ४ सय ३८ जनाको मृत्यु भइसकेको छ।

गत १७ मे २०२६ मा डब्ल्यूएचओका महानिर्देशक  ले उक्त प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेका थिए। त्यसको दुई साता भित्रै डब्ल्यूएचओले बुन्दिबुग्यो भाइरस पहिचान गर्ने इन भिट्रो डायग्नोस्टिक उपकरणका उत्पादकलाई आपत्कालीन प्रयोग सूचीका लागि आवेदन दिन आह्वान गरेको थियो।

डब्ल्यूएचओकी स्वास्थ्य प्रणाली, पहुँच तथा डाटा विषयकी सहायक महानिर्देशक डा. युकीको नाकातानीले सार्वजनिक स्वास्थ्य आपतकालका बेला द्रुतता सँगै प्रयोग गरिने स्वास्थ्य सामग्रीको गुणस्तर, सुरक्षा र प्रभावकारिता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताइन।

उनका अनुसार तीव्र रूपमा फैलिरहेको महामारी नियन्त्रण गर्न गुणस्तरीय परीक्षण उपकरणमा समयमै पहुँच पुग्नु निर्णायक हुन्छ। आपत्कालीन प्रयोग सूचीमार्फत देशहरूले विश्वसनीय परीक्षण साधन छिटो प्राप्त गरी प्रभावकारी प्रतिक्रिया दिन सक्ने उनले उल्लेख गरिन।

डब्ल्यूएचओको आपत्कालीन प्रयोग सूची प्रणालीले स्वास्थ्य सामग्रीको गुणस्तर, सुरक्षा र कार्यक्षमताको उपलब्ध प्रमाणका आधारमा मूल्याङ्कन गर्दै न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको सुनिश्चित गर्छ। विशेष गरी न्यून र मध्यम आय भएका मुलुकहरूको आवश्यकतालाई ध्यानमा राखेर यो संयन्त्र सञ्चालन गरिएको हो।

यस सूचीमा समावेश भएपछि विभिन्न देशका सरकार तथा संयुक्त राष्ट्रसंघीय खरिद निकायलाई महामारीका बेला गुणस्तरीय स्वास्थ्य सामग्री छिटो छनोट र उपलब्ध गराउन सहज हुने डब्ल्यूएचओले जनाएको छ। यसले प्रारम्भिक चरणमै सङ्क्रमितको पहिचान, समयमै उपचार, रोग निगरानी तथा प्रभावकारी प्रकोप नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कंगोमा परीक्षण क्षमता उल्लेखनीय रूपमा विस्तार गरिएको छ। प्रारम्भमा किन्शासा र गोमास्थित सीमित प्रयोगशालामा दैनिक करिब २०० देखि ४०० परीक्षण हुने क्षमता रहेकोमा अहिले प्रभावित प्रान्तहरूका १० वटा प्रयोगशाला मार्फत दैनिक २ हजारभन्दा बढी परीक्षण गर्न सकिने अवस्था पुगेको छ।

यसै बीच, डब्ल्यूएचओ, अफ्रिका सीडीसी, पाथ, फाइन्ड, सीएचएआई र युनिटएडको सहयोगमा विभिन्न परीक्षण उपकरणको कार्यक्षमता छिटो मूल्याङ्कन गर्न संयुक्त प्रमाणीकरण मञ्च स्थापना गरिँदै छ। उक्त मञ्चले प्रयोगशाला आधारित मोलिक्युलर परीक्षण, स्वास्थ्य संस्थाको नजिकै सञ्चालन गर्न सकिने परीक्षण तथा एन्टिजेन द्रुत परीक्षणहरूको प्रभावकारितासम्बन्धी आवश्यक क्लिनिकल प्रमाण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

डब्ल्यूएचओले उत्पादक, अन्तर्राष्ट्रिय साझेदार र सदस्य राष्ट्रसँगको सहकार्यलाई निरन्तरता दिँदै सुरक्षित, प्रभावकारी र गुणस्तरयुक्त जीवनरक्षक स्वास्थ्य सामग्रीको उपलब्धता विस्तार गर्ने जनाएको छ। बुन्दिबुग्यो भाइरस पहिचान सम्बन्धी अन्य आवेदनहरू पनि हाल समीक्षा प्रक्रियामा रहेका छन।

इबोला बुन्दिबुग्यो भाइरस मानिसमा ठूलो प्रकोप निम्त्याउन सक्ने तीन प्रमुख इबोला भाइरस प्रजाति मध्ये एक हो। यो भाइरस जनावरबाट मानिसमा र त्यस पछि सङ्क्रमित व्यक्ति वा मृतकको शारीरिक तरल पदार्थ तथा त्यसबाट दूषित भएका सामग्रीको प्रत्यक्ष सम्पर्कबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। गम्भीर अवस्थामा यसले ज्यान समेत लिन सक्ने भएकाले प्रारम्भिक पहिचान र शीघ्र उपचारलाई अत्यन्त महत्त्वपूर्ण मानिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!