नेपालमा २३ नयाँ औषधि र समिश्रणलाई अनुमति: क्यान्सरदेखि मधुमेह सम्मका बिरामीलाई राहत
काठमाडौँ – नेपालमा विभिन्न रोगका उपचारमा प्रयोग हुने २३ प्रकारका नयाँ औषधि तथा औषधिजन्य समिश्रणहरूले प्रयोगको अनुमति पाएका छन।
औषधि व्यवस्था विभागको औषधि सल्लाहकार समितिको ५८ औँ बैठकको निर्णय अनुसार यी नयाँ ‘मोलिक्युल’ हरूलाई नेपालमा दर्ता र बिक्री वितरणका लागि बाटो खुला गरिएको हो।
विभागले जारी गरेको सूचना अनुसार, यसरी अनुमति पाउने औषधिहरूमा क्यान्सर, मधुमेह (सुगर), बाथ, छारे रोग र मिर्गौलाको समस्यासँग सम्बन्धित उच्च प्रविधियुक्त औषधिहरू रहेका छन।
यी औषधिहरूले नेपालको स्वास्थ्य उपचार पद्धतिलाई थप आधुनिक र सहज बनाउने अपेक्षा गरिएको छ। विशेष गरी विदेशबाट महँगोमा मगाउनु पर्ने वा नेपालमा सहज उपलब्ध नभएका कतिपय जीवनरक्षक औषधिहरू अब सहजै पाइनेछन।
नयाँ औषधि अनुमोदन भनेको के हो?
साधारण भाषामा भन्नुपर्दा, कुनै पनि नयाँ औषधि वा दुई – तीन वटा औषधि मिसाएर बनाइएको नयाँ ‘कम्बिनेसन’ लाई बजारमा ल्याउनु अघि सरकारले त्यसको प्रभावकारिता र सुरक्षा जाँच गर्छ।
विभागले अनुमति दिनुको अर्थ यी औषधिहरू सम्बन्धित रोगका बिरामीका लागि सुरक्षित र उपयोगी छन् भन्ने प्रमाणित हुनु हो। अब उत्पादक कम्पनीहरूले विभागमा दर्ता प्रक्रिया पूरा गरेपछि यी औषधिहरू डाक्टरको प्रेस्क्रिप्सनका आधारमा बिरामीले प्रयोग गर्न पाउनेछन।
कुन औषधि केका लागि? (अनुमोदित २३ औषधिको विस्तृत सूची)
औषधि व्यवस्था विभागले अनुमोदन गरेका औषधिहरू र तिनले उपचार गर्ने स्वास्थ्य समस्याहरू यस प्रकार छन ।
- थालिडोमाइड (थालिडोमाइड १०० मि.ग्रा. क्याप्सुल): नयाँ पहिचान भएको ‘मल्टिपल माइलोमा’ भनिने एक प्रकारको रगतको क्यान्सर र छालाको कडा रोग (ईएनएल) को उपचारमा।
- लुरासिडोन हाइड्रोक्लोराइड (लुरासिडोन एचसीएल २० मि.ग्रा. ट्याब्लेट): मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या ‘बाइपोलर डिप्रेसन’ को उपचारमा।
- फुल्भेस्ट्रान्ट (फुल्भेस्ट्रान्ट २५० मि.ग्रा./५ मि.लि. पीएफएस): महिनावारी सुकिसकेका महिलाहरूमा हुने विशेष प्रकारको स्तन क्यान्सरको उपचारमा।
- साक्साग्लिप्टिन (साक्साग्लिप्टिन २.५ मि.ग्रा./५ मि.ग्रा. ट्याब्लेटहरू): टाइप–२ मधुमेह (सुगर) भएका बिरामीहरूमा खानपान र कसरतसँगै सुगर नियन्त्रण गर्न।
- टापिनारोफ (टापिनारोफ १% डब्लु /डब्लु क्रीम): १८ वर्षभन्दा माथिका वयस्कहरूमा हुने छालाको रोग ‘प्लाक सोरायसिस’ को उपचारमा।
- जोल्मिट्रिप्टन नेजल स्प्रे: वयस्कहरूमा हुने कडा खालको टाउको दुखाइ (माइग्रेन) को तत्काल उपचारका लागि।
- डाइमिथाइल फ्युमारेट: स्नायु प्रणालीमा असर गर्ने रोग ‘रिल्याप्सिङ-रेमिटिङ मल्टिपल स्क्लेरोसिस’ को उपचारमा।
- भिगावाट्रिन (विगाबाट्रिन पाउडर फर ओरल सोल्युसन): स–साना बालबालिकाहरूमा हुने कम्पन (इन्फ्यान्टाइल स्पाज्म्स) र कडा खालको छारे रोग नियन्त्रण गर्न।
- ब्रिभारासिटाम इन्जेक्सन: ४ वर्षभन्दा माथिका बालबालिका र वयस्कमा हुने छारे रोग (एपिलेप्सी) को उपचारमा।
- भोनोप्राजन (वोनोप्राजान २० मि.ग्रा. ट्याब्लेटहरू): पेटको अल्सर, ग्यास्ट्रिक, रिफ्लक्स र ‘एच. पाइलोरी’ संक्रमण हटाउन।
- बेम्पेडोइक एसिड (बेम्पेडोइक एसिड १८० मि.ग्रा. ट्याब्लेट): वंशाणुगत रूपमा हुने उच्च कोलेस्ट्रोल र मुटु सम्बन्धी जोखिम कम गर्न।
- टालभालोसिन टार्टरेट (टाइल्वालोसिन टार्टारेट ओरल पाउडर): यो औषधि पशु स्वास्थ्य (विशेष गरी सुंगुरमा लाग्ने आन्द्रा र फोक्सोको संक्रमण) का लागि हो।
- भिटामिन ए सफ्ट जेल (भिटामिन ए सफ्ट जिलेटिन क्याप्सुल): शरीरमा भिटामिन ‘ए’ को कमी हुन नदिन र यसको पूर्तिका लागि।
- एर्टापेनेम इन्जेक्सन (एर्टापेनेम फर इन्जेक्सन १ ग्रा.): पेटको संक्रमण, निमोनिया र मधुमेहका बिरामीमा हुने खुट्टाको संक्रमण (डायबेटिक फुट इन्फेक्सनहरू) विरुद्ध लड्ने एन्टिबायोटिक।
- ल्युकोभोरिन (ल्युकोभोरीन ५ मि.ग्रा. ट्याब्लेटहरू): रगतको कमी (एनिमिया) र केही औषधिहरूको विषाक्त प्रभाव कम गर्न ‘एन्टिडोट’ को रूपमा।
- फ्लरबिप्रोफेन (फ्लर्बिप्रोफेन ५० मि.ग्रा./१०० मि.ग्रा. ट्याब्लेटहरू): बाथ रोग, हाडजोर्नीको दुखाइ र हड्डी सुन्निने समस्या कम गर्न।
- डेसिडुस्टाट (डेसिडस्ट्याट ट्याब्लेटहरू): मिर्गौलाको पुरानो रोग (सिकेडी) का कारण हुने रक्तअल्पता (एनिमिया) को उपचारमा।
- डाप्रोडुस्टाट (डाप्रोडस्ट्याट ट्याब्लेटहरू): डायलासिस गराइरहेका मिर्गौला रोगीहरूमा हुने रगतको कमी हटाउन।
- टिरजेपाटाइड (टिर्झेपाटाइड पीएफएस): टाइप–२ मधुमेह नियन्त्रणका साथै तौल व्यवस्थापन (मोटोपन घटाउन) प्रयोग हुने आधुनिक औषधि।
- ल्यान्सोप्राजोल, क्लारिथ्रोमाइसिन र एमक्सिसिलिन समिश्रण: पेट र सानो आन्द्राको अल्सर गराउने ब्याक्टेरिया (एच. पाइलोरी) मार्न प्रयोग गरिने तीनवटा औषधिको प्याक।
- सेमाग्लुटाइड (सेमाग्लुटाइड ०.२५ मि.ग्रा. इन्जेक्सन): टाइप–२ मधुमेह भएका बिरामीमा रगतको सुगर नियन्त्रण गर्न।
- एल–आर्जिनिन, जिंक र फोलिक एसिड (एल आर्जिनिन जिंक र फोलिक एसिड ग्र्यान्युलहरू): मुटुको स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता र गर्भावस्थामा आवश्यक पर्ने पोषण पूरक (सप्लिमेन्ट)।
सूचना: माथि उल्लिखित औषधिहरू चिकित्सकको सल्लाह र निगरानीमा मात्र प्रयोग गर्नुपर्दछ। औषधि व्यवस्था विभागले यी औषधिहरूलाई सुरक्षित र प्रभावकारी मानेर मात्र नेपालमा दर्ताको अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस