अफि*मजन्य पदार्थको लत र ओभरडोज रोकथामका लागि डब्ल्यूएचओ द्वारा नयाँ निर्देशिका जारी
काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ओपिओइड (अफिमजन्य पदार्थ) को लतको उपचार र यसको ओभरडोजबाट हुने मृत्यु न्यूनीकरणका लागि आफ्नो निर्देशिकामा महत्वपूर्ण परिमार्जन गरेको छ। लागु औषधको बढ्दो प्रयोग र त्यसबाट हुने मृत्युदरलाई कम गर्न डब्ल्यूएचओले नयाँ सिफारिसहरू सार्वजनिक गरेको हो।
ओपिओइड एक प्रकारको औषधिको समूह हो, जुन मुख्य रूपमा दुखाइ कम गर्न प्रयोग गरिन्छ। यी औषधिहरू प्राकृतिक रूपमा ‘अफिम’ (ओपियम) को बोटबाट बनाइन्छन वा प्रयोगशालामा रासायनिक रूपमा तयार गरिन्छ।
यस भित्र केही जीवन बचाउने औषधिहरू र केही अवैध लागुऔषधहरू दुवै पर्छन । डब्ल्यूएचओ का अनुसार सन २०२३ मा विश्व भर करिब ३१ करोड ६० लाख मानिसले लागुऔषध सेवन गरेका थिए, जसमा ६ करोड १० लाख मानिसले गैर चिकित्सकीय प्रयोजनका लागि ओपिओइड प्रयोग गरेको पाइएको छ।
लागुऔषध सेवनका कारण विश्व भर हुने वार्षिक ६ लाख मृत्यु मध्ये करिब ४ लाख ५० हजार ओपिओइड प्रयोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ।
हाल विश्व भर ६ करोड ४० लाख मानिसमा लागु औषध प्रयोग सम्बन्धी समस्या भए पनि १० प्रतिशत भन्दा कमले मात्र उपचारको अवसर पाइरहेका छन। यो रिक्ततालाई पूर्ति गर्न डब्ल्यूएचओले आफ्ना उपचार पद्धतिहरूलाई थप प्रभावकारी र समय सापेक्ष बनाएको हो।
विश्व स्वास्थ्य सङ्गठनले ओपिओइडको लतमा परेका वा ओभरडोजको जोखिममा रहेका व्यक्तिहरूका लागि सुलभ, नैतिक र गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नु अपरिहार्य रहेको उल्लेख गरेको छ। यी परिमार्जित सिफारिसहरू समेटिएको पूर्ण निर्देशिका सन २०२६ को अन्त्य वा २०२७ को सुरु सम्ममा औपचारिक रूपमा प्रकाशित हुने डब्ल्यूएचओले जनाएको छ।
निर्देशिकाका मुख्य विशेषताहरू
- नयाँ औषधि सिफारिस: ओपिओइडको लत छुटाउन प्रयोग गरिने ‘ओपिओइड एगोनिस्ट मेन्टेनेन्स ट्रिटमेन्ट’ (क्युएएमटि) का लागि यस अघि नै सिफारिस गरिएका मेथाडोन र ओरल बुप्रोनोरफिनका साथै अब नयाँ ‘लङ एक्टिङ इन्जेक्टेबल बुप्रोनोरफिन’ लाई पनि उपचार पद्धतिमा समावेश गरिएको छ।
- समुदायमा आधारित व्यवस्थापन: अस्पतालको पहुँच भन्दा बाहिर रहेकाहरूका लागि समुदाय स्तरमै ओभरडोज व्यवस्थापन गर्ने गरी नयाँ रणनीतिहरू अघि सारिएका छन।
- प्रमाणमा आधारित उपचार: नयाँ निर्देशिकाहरू लागत, प्रभावकारिता, सामाजिक न्याय र बिरामीको गोपनीयता जस्ता पक्षहरूलाई गहन अध्ययन गरी तयार गरिएको छ।

प्रतिक्रिया दिनुहोस